|
भावी प्रधानमन्त्रीको विषयमा नेपाली कांग्रेसभित्र विवाद
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
गहिरिंदो राजनीतिक गतिरोधका माझ सहमतिको खोजी र बजेटको तयारीलाई संगसंगै अघि बढाउने नीति नेपाली कांग्रेसले लिएको देखिएको छ।
तीन बुँदे सहमतिका आधारमा बन्ने भनिएको नयाँ संयुक्त राष्ट्रिय सरकारको नेतृत्व नेपाली कांग्रेसले नै गर्न पाउनु पर्ने भन्ने धारणा सो दलका केही नेताहरुबाट सार्वजनिक भइरहेकोमा केन्द्रीय समितिले त्यस्तो कुनै निर्णय गरि नसकेको महामन्त्री बिमलेन्द्र निधिले बीबीसीलाई बताए। “त्यो विषयमा हामीले अन्य दलहरुसँग छलफल गर्ने नीतिगत निर्णय गरेका छौं।” सहमतिय सरकारको नेतृत्व नेपाली कांग्रेसका शेर बहादुर देउवा वा रामचन्द्र पौडेल कसले गर्ने भन्ने आन्तरिक विवाद अहिले सो दलभित्र चर्किएको छ। ‘विधिसम्मत’ कतिपय नेताले रामचन्द्र पौडेललाई नै भावी प्रधानमन्त्रीको उम्मेदवारको रुपमा उभ्याउने निर्णय गरिएको स्थानीय सञ्चारमाध्यमहरुलाई बताएका छन्। तर आइतबार एउटा सार्वजनिक कार्यक्रममा बोलेका कार्यवाहाक सभापति सुशील कोइरालाले जस्तै महामन्त्री निधीले सो विषयमा केन्द्रीय समितिले कुनै निर्णय नगरेको बताए। “त्यो विषयमा समय आएपछि विधिसम्मत ढंगले किनारा लगाइने छ,” निधिले भने। प्रमुखदलहरु भित्र भावी प्रधानमन्त्रीका लागि दौडधुप जारी रहेकै बेला आइतबार नेपाली कांग्रेसका शीर्ष नेताहरुले प्रधानमन्त्री माधवकुमार नेपालसँग भेटघाट गरेका थिए। अन्योल सो अवसरमा महामन्त्री निधि, कार्यवाहक सभापति सुशील कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम र नयाँ बजेटको तयारीमा लाग्न सुझाव दिएको महामन्त्री निधिले पुष्टी गरे। “सरकारको काम नै हो नीति तथा कार्यक्रम र बजेट ल्याउने, त्यसमा हाम्रो समर्थन रहन्छ।” जानकारहरुका अनुसार नयाँ सरकार गठनबारेको जारी अन्यौल नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय पछि पनि कम हुने कुनै सम्भावना देखिएको छैन। |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||