10 मार्च, 2010 14:44 GMT सम्मका समाचारहरु
नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला खतरामुक्त रहेको उनको उपचारमा लामो समयदेखि संलग्न एकजना डाक्टरले बताएका छन्।
डा. अर्जुन कार्कीका अनुसार लामो समयदेखि "क्रोनिक ब्रोन्काइटिस"बाट पीडित कोइरालालाई "इन्फेक्शन" भएको छैन र अरु रोग थपिएको पनि होइन।
उनको फोक्सोले उनको शरिरलाई आवश्यक अक्सीजन पुर्याउन नसक्ने भएकाले अक्सीजन दिँइदै आएको डा. कार्कीको भनाइ छ।
जीर्ण
कोइरालाको फोक्सो जीर्ण छ। पहिले एकदम धेरै चुरोट खाने बानी भएका कोइरालाको फोक्सोमा हावा पुर्याउने पाइप सुन्निएको छ, जुन धुमपान गर्ने सबैलाई हुने डाक्टरहरू बताउँछन्।
कोइरालाको स्वास्थ्य उपचारमा दुइ वर्षभन्दा बढि समयदेखि संलग्न छातीरोग विशेषज्ञ डा. कार्कीले धेरै वर्षदेखि कोइराला एकप्रकारको ब्रोन्काइटिस, सीओपीडीबाट आक्रान्त भएकोले त्यसका लागि उनलाई अक्सीजन दिइरहनु पर्ने बताए।
डा. कार्कीका अनुसार सीओपीडी हुने सबैको स्वास्थ्य वर्षैपिच्छे विस्तारै कमजोर हुँदै जानु स्वाभाविक हो।
जटिलता
झण्डै ९० वर्ष पुग्न लागेकाले पनि जटिलता थपिएको डा. कार्कीले बताए।
कोइरालालाई दिइने गरेको अक्सीजनको मात्रा क्रमिकरुपमा बढ्दै गएपनि उनी बोलचाल गरिरहेका छन्।
सीओपीडी हुनेलाई कहिले चाप्ने र कहिले सञ्चो हुने नियमित प्रक्रिया भएको डा. कार्कीले बताए।
धेरै मानिसहरुको संसर्गले उनलाई इन्फेक्शन हुन सक्ने भन्दै डाक्टरहरुले उनको भेटघाटलाई नियन्त्रित बनाउन सुझाव दिँदै आएका छन्।
गत पुषको अन्तिम साता उच्चस्तरीय संयन्त्र गठन भएपछि उनको राजनीतिक सक्रियता बढेको थियो।
संयन्त्रका पछिल्ला बैठक उनको निवासमा नभै होटलहरुमा भएकाले र तिनमा उनको उपस्थिति नरहेकाले धेरैले उनको स्वास्थ्यस्थिति खस्केको अनुमान लगाउँदै आएका छन्।
तर डा. कार्की कोइरालाको स्वास्थ्यबारे बाहिर आइरहेका समाचारहरुलाई अतिरञ्जित भन्छन्।