http://www.nepali.com

09 मार्च, 2010 13:42 GMT सम्मका समाचारहरु

विवाहमा दुईको हत्या: तराईमा सुरक्षा चिन्ता बढ्दो

सिराहा जिल्लामा सोमवार राती एउटा वैवाहिक समारोहमा गोली चल्दा दुईजना मारिएका छन्।

उनीहरु दुवैजना अज्ञात बन्दुकधारीको गोली लागेर मारिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

मारिनेहरु सिराहा जिल्लाको मिर्चैया गाउँ विकास समितिका २२ वर्षिय दिलिप साह र १२ वर्षिय विजय माली छन्।

यो घटना तराइमा खस्कदो सुरक्षा स्थितिप्रति चिन्ता बढिरहेको बेला भएको छ।

श्रृँखलाबद्ध हत्या

पूर्वमा सप्तरीदेखि पश्चिममा पर्सासम्मका तराइका आठ जिल्लामा गत अढाई महिनामा ४० जनाको हत्या भएको मानव अधिकारकर्मीहरुले बताएका छन्।

ती मध्ये बारा जिल्लामा सबैभन्दा बढी नौजना मारिएका छन्।

मारिनेहरुमा एकिकृत माओवादी कार्यकर्ता, उद्योगी, व्यवसायी, सर्वसधारण र तराइका विद्रोही संगठनका कार्यकर्ताहरु छन्।

सुरक्षाकर्मीहरुको सशस्त्र कारवाहीका पाँचवटा घटना भएको उल्लेख गर्दै मानव अधिकारवादी समूह इन्सेकका प्रतिनिधि रोशन अर्यालले गैर-राज्य पक्षबाट हिँसाको घटनामा बृद्धि भएको बताए।

अपराधीहरुलाई कानूनी दायरामा ल्याउन नसक्दा दण्डहिनता बढेको उनको कथन छ।

दाबी

हिँसाका केही घटनाहरु भएपनि सुरक्षा अवस्थामा सुधार आएको अधिकारीहरुको दाबी छ।

अञ्चल प्रहरी कार्यालय नारायणीका प्रहरी बरिष्ठ उपरीक्षक केशव अधिकारीले भने, “केही छिटपुट घटनाहरु भएपनि बन्दुकधारीहरुलाई नियन्त्रणमा लिएकाले हत्याको घटनामा कमी आएको छ।”

तर शान्ति-सुरक्षालाई सुदृढ बनाउने सरकारी दाबीप्रति सर्वसधारण विश्वस्त हुन नसकेको अर्का मानवअधिकारकर्मी प्राध्यापक विजय दत्तले बताए।

सरकारले सुरक्षाको आश्वासन दिएपनि त्यो भरपर्दो नभएको भन्दै तराइबाट खासगरि उद्योगी व्यवसायीहरु पलायन हुने क्रम बढदो छ।