08 मार्च, 2010 13:11 GMT सम्मका समाचारहरु
जनजीवनका बिभिन्न फेटमा सफलता हासिल गर्ने पुरुषहरुलाई समाजमा धेरैले चिन्छन्।
उनीहरुको नाम हुन्छ, मानसम्मान पनि प्रशस्तै हुन्छ।
संचार माध्यमहरु संधै उनीहरुको पछि, पछि दौडी रहेका हुन्छन्।
तर उनीहरुको पाइला, पाइलामा साथ दिएर, उनीहरुको घर-परिवार, खानपिन र स्वास्थ्यको हेरबिचार गरेर उनीहरुलाई एउटा ब्यक्तिबाट ब्यक्तित्वको उचाईमा पु-याउन दिनरात दशकौंसम्म परिश्रम गर्ने उनीहरुका अर्धाङगिनीलाई कमैले चिन्छन्।
अन्तर्राष्टीय नारी दिवसको अवसरमा प्रस्तोता सुमन खरेलले यो श्रृङखलामा केही सफल पुरुषका जीवनसंगीनीहरुलाई चिनाउने र उनीहरुको योगदानलाई प्रकाशमा ल्याउने प्रयास गरेका छन्।
नेपाली समाजमा धेरै हदसम्म अदृश्य र मौन रहेका तिनै पात्रहरुप्रतिको सम्मान हो, कार्यक्रम श्रृङखला "अपरिचित पात्र"।
यशोदा श्रेष्ठ / मीरा आचार्य
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले धेरै बिषयमा एक आपसमा मिल्न नसक्ने मानिसहरु लाई एउटा दरिलो उदाहरण प्रस्तुत गरेका छन्।
उनीहरुले ३० बर्षदेखि संगै मिलेर हांस्यब्यंग्यको माध्यमबाट राजनैतिक चेतना र सामाजिक परिवर्तन ल्याउन प्रयास गरी रहेका छन्।
उनीहरुको यो प्रयासमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा यशोदा श्रेष्ठ र मीरा आचार्यले बर्षौंदेखि सहयोग पु-याइ राखेका छन्।
मह जोडी पनि आफ्नो उन्नतीमा आफ्नो अर्धाङगिनीको भूमिकाको उच्च मूल्याङकन गर्दछन्।
कमला गुरुङ
क्षत्रमान सिंह गुरुङ जनजाती समूहबाट नेपालका प्रधान सेनापति बन्ने प्रथम ब्यक्ति हुन्।
कस्तो हुन्छ एउटी सैनिक श्रीमतीको जीवन ?
कति कठिन थियो यो जीवन यात्रा ?
श्रीमती कमला गुरुङको बिचारमा अन्य क्षेत्रमा काम गर्ने कर्मचारीकी पत्नी र एक सैनिककी पत्नीले जीवनमा सामना गर्नु पर्ने समस्याहरु अलि बेग्लै हुन्छन्।
चित्रकार शशी बिक्रम शाहलाई घोडाका अनेक चित्रहरु बनाउन मन पर्छ।
देशको बर्तमान अवस्थालाई प्रतिबिम्बित गर्ने चित्रहरु पनि उनले कोरेका छन्।
उनकी श्रीमती किरण शाह तिनै चित्रहरुमा रमाउंछिन्।
पतिको जस्तो आफ्नो त्यति सामाजिक पहिचान नभएकोमा उनलाई कुनै दुखेसो छैन।
चित्रकार शाहलाई साथ दिनमैं उनी आनन्दको अनुभव गर्छिन्।
सुभद्रा मानन्धर
खेलाडीहरुको चर्चा गर्दा धावक बैकुण्ठ मानन्धरको नामलाई बिर्सन सकिन्न।
उनले नेपालको तर्फबाट चार पटक ओलम्पिकमा भाग लिएका छन् र पटक पटक दक्षिण एशियाली खेलकुदमा दौडेर देशलाई स्वर्ण पदकहरु दिलाएका छन्।
तर उनको स्वास्थ्य पहिले जस्तो नरहेकोमा उनकी श्रीमती सुभद्रा मानन्धरलाई आजभोली अलि चिन्ता लाग्छ।
एउटा खेलाडीको श्रीमती भएर जीवन निर्वाह गर्न कत्तिको गाह्रो हुन्छ ?
बिना गुरुङ
नयां राष्ट्रिय गीतका संगीतकार अम्बर गुरुङले आफ्ना अनेक कालजयी गीत संगीतबाट नेपाली सांगीतिक आकाशलाई भरेका छन्।
५३ बर्ष जति अघि दार्जिलिङमा १३,१४ बर्षको कलिलो उमेरमैं माया बसेर अम्बर गुरुङसंग बिवाह बन्धनमा बांधिए पछि केही मानिसले बिना गुरुङलाई भन्ने गर्थे – गाइनेसित बिहे गरेर अब जीवनभरी दुख पाउने भयौ।
पांच दशक भन्दा बढी समय संगै बिताउंदा श्रीमती बिना गुरुङले के पाइन् र के गुमाइन्?
पहिले मानिसहरुले गाइने भनेर होच्याउन खोज्ने तिनै अम्बर गुरुङको अनुहार हेर्दा आज उनलाई कस्तो लाग्छ?
ओममाया पुन
म्यागासेसे पुरस्कार बिजेता समाजसेवी महावीर पुन नेपालका दुर्गम गाउंहरुमा वायरलेस नेटवर्क र टेलीमेडिसन सेवा पु-याउन ब्यस्त छन्।
उनकी श्रीमती ओममाया पुन पोखरामा दुई वटी छोरीको हेरचाहमा ब्यस्त छिन्।
श्रीमतीको सहयोग बिना महिनौं दुर्गम पहाडी जिल्लाहरुमा दौडधूप गर्न महावीर पुनलाई संभव हुन्थ्यो?
अनि अन्य कुन हिसाबले ओममाया पुनले महावीर पुनलाई सघाइ रहेकी छिन्?
आफ्नो सफलतामा श्रीमतीको भूमिकालाई महावीर पुन कसरी मूल्यांकन गर्छन्?
महाकाली घिमिरे
६१ बर्ष अघि लम्जुङको एउटा बिद्यालयका शिक्षक, कवि माधव घिमिरेको दोस्रो श्रीमतीको रुपमा महाकाली घिमिरेको बैवाहीक जीवन आरम्भ हुन्छ।
बिवाह हुंदा उनको उमेर १३ बर्ष थियो।
राष्ट्रकवि माधव घिमिरे आफ्ना साहित्यीक सृजना र जीवनको सफलतामा आफ्नी श्रीमतीको योगदानलाई कसरी मूल्याङकन गर्छन्?
अनि यतिका बर्ष कविलाई साथ दिने महाकाली घिमिरेलाई ती दिनहरु संझदा कस्तो लाग्छ?