Skip to main contentAccess keys helpA-Z index
BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
10 मार्च, 2010 13:30 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
राष्ट्रसंघीय उपमहासचिव पास्को नेपाल भ्रमणमा
 
नेपाल, कोइराला, प्रचण्ड
लीन पास्कोले आउने वित्तिकै प्रधानमन्त्री नेपाल लगायत, प्रचण्ड र कोइरालालाई भेटेका थिए
संयुक्त राष्ट्रसंघका उपमहासचिव बी. लीन पास्कोले नेपालको तीन दिने भ्रमण शुरु गरेका छन्।

नेपालको शान्ति प्रक्रियामा सघाउन खटाइएको राष्ट्रसंघीय नियोग (अन्मिन) संग नेपाल सरकारको सम्बन्ध चिसिएका बेला उनी काठमाण्डू आएका छन्।

शान्ति प्रक्रिया पूरा भइनसकेका बेला आएका पास्कोको यो भ्रमण अन्मिनको पटक, पटक बढाइएको म्याद सकिन दुई महिनामात्र बाँकी रहँदा भएको छ।

जटिल

काठमाण्डू आइपुगे लगत्तै पत्रकारहरुसंग छोटो कुरा गर्दै उनले भने, “अहिले शान्ति प्रक्रिया अत्यन्त जटिल मोडमा छ र यो प्रक्रियामा राष्ट्रसंघले सघाउँदै आएको छ।"

उनले नेपाल बसाईका बेला शान्ति प्रक्रियाका बिभिन्न सरोकारवालाहरुसंग कुराकानी गर्ने बताए।

आफ्नो त्यो भनाई अनुरुप पास्को बुधबारदेखिनै उच्चस्तरीय भेटघाटमा व्यस्त भए।

उनले अन्मिनको पछिल्लो भूमिकाप्रति रुष्ट एमालेका वरिष्ठ नेता एवं प्रधानमन्त्री माधवकुमार नेपाल र अन्मिनको प्रशंसक रहेका मुख्य विपक्षी दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासित छुट्टाछुट्टै भेट गरे।

राजनीतिक मामलासम्बन्धी उप महासचिव पास्कोले बिहिबार माओवादीको कडा आलोचक रहेकी रक्षामन्त्री बिद्या भण्डारीसंग भेट्नेछन्।

सोही दिन उनले राष्ट्रसंघीय निगरानीमा माओवादी सेना राखिएको एउटा मुख्य शिविर चितवनको शक्तिखोरको भ्रमण गर्नेछन्।

उनले आशंकित राजनीतिक अन्यौलमा धेरैको ध्यानको केन्द्रमा रहेको नेपाली सेनाका प्रधान सेनापति छत्रमानसिंह गुरुङसंग जंगी अड्डा काठमाण्डूमा भेट्नेछन्।

अर्थ

तीन वर्ष देखि जारी शान्ति प्रक्रियासंग प्रत्यक्ष र अप्रत्यक्षरुपमा सम्बन्धित नेपालका सरोकारवालाहरुसंग भेट गर्नुअघि उपमहासचिव पास्कोले शान्ति प्रक्रियाको जग हालेको १२ बुँदे संझौतामा सघाएको छिमेकी भारतका अधिकारीहरुसंग मंगलवार दिल्लीमा महत्वपूर्ण छलफल गरेका थिए।

भारत पनि अन्मिनको भूमिकाप्रति सन्तुष्ट नभएको कतिपयको अनुमान छ भने अर्को महत्वपूर्ण छिमेकी चीन पनि अन्मिनप्रति धेरै सकारात्मक नभएको जानकारहरुको भनाई छ।

अन्मिनका बारे दुई छिमेकी देशहरुले देखाएका भनिएको आशंका नयाँ संविधानबारेको अनिश्चय र माओवादी लडाकुको भविष्यका बारे अन्यौलका बीच नेपालको शान्ति प्रक्रिया धरापमा परेको ठानिएका बेला उच्च राष्ट्रसंघीय अधिकारीको भ्रमणले धेरै अर्थ राख्नेछ।

त्यो अर्थको संकेत चाहीं संभवत: पास्कोले शुक्रबार यहाँबाट फर्किने बेला पत्रकारहरुसंग मुख खोलेपछि मात्र थाहा लाग्नेछ।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>