18 जनवरी, 2010 14:05 GMT सम्मका समाचारहरु
सुशील शर्मा
बीबीसी नेपाली सेवा
भारतीय बिदेशमन्त्री एसएम कृष्णाको हिजो आइतबार सकिएको नेपाल भ्रमणले भारत लक्षित आन्दोलन गरिरहेका नेपालका माओवादीहरुको भारतसंग सोझै वार्ता गर्ने चाहना पूरा गरिदिएको छ।
तर भारतसंग चिसिएको सम्बन्ध न्यानो बनाउने उनीहरुको चाहना भने पूरा हुने छाँटकाट देखिएको छैन।
बरु आफ्नो छुट्टै निजी सेना समेत भएको नेपालको सबभन्दा ठूलो दल र नेपालको राजनीतिमा सबभन्दा धेरै चासो र प्रभाव राख्ने देश बीचको सम्बन्धमा अरु बरफ जम्ने खतरा बढेको कतिपय विष्लेशकहरुको धारणा छ।
‘उग्रवाद’
सत्ताबाट बाहिरिनुपरेको आठ महिनापछि पहिलोपटक भारतसंग भएको राजनीतिक संपर्क अन्तर्गत बिदेशमन्त्री एसएम कृष्णासंगको एक घण्टा लामो भेट सकारात्मक भएपनि ‘आइस ब्रेक’ नभएको त माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफैंले स्वीकार गरेका थिए।
त्यसको भोलीपल्ट बिदेशमन्त्री नेपालमै रहँदा खोटाङको एउटा सभामा माओवादी अध्यक्षले भारत बिरुध्द आगो ओकल्नुले स्थिति सहज नभएको स्पष्ट पा-यो।
प्रचण्डको आक्रोशको कारण अनुमान गर्न भारतीय बिदेश मन्त्रालयको अघिल्लो दिनको विज्ञप्ति पर्याप्त थियो।
आफ्ना मन्त्रीलाई उधृत गरिएको उक्त विज्ञप्तिमा माओवादीको भारत लक्षित राष्ट्रिय स्वाधीनताको आन्दोलनप्रति भारत क्रुध्द भएको लुकाइएको थिएन।
हुन त बिदेश मन्त्री कृष्णाले स्वदेश फर्किने बेला आफ्नो असन्तुष्टी सार्वजनिक गर्दा कूटनीतिक शैली र शब्द पछ्याएका थिए।
तर उनको भ्रमणको अन्त्यमा जारी गरिएको संयुक्त विज्ञप्तिमा भारत र नेपालले आफ्नो साझा खतराका रुपमा परंपरागत रुपमा उल्लेख गर्ने गरेको आतंकवादका साथै उग्रवादलाई पनि सामेल गरिनुलाई माओवादीप्रति भारतको सोचाइका रुपमा हेरिएको छ।
प्रजातान्त्रिक प्रक्रियामा प्रतिबध्दताको अभाव, भारत लक्षित चर्का भाषण र सडक आन्दोलनको प्रसंग कोट्याउँदै भारतले नेपालका माओवादीलाई उग्रवादीका रुपमा हेर्न थालेको जानकारहरुको भनाई छ।
प्रभाव
संयुक्त विज्ञप्तिमा आतंकवाद र उग्रवाद दुबै अन्त्य गर्न निकटमा रहेर काम गर्न नेपाल र भारत सहमत भएको जनाइनुले माओवादीलाई भारतले हेर्ने आँखा अरु कर्के हुने हो कि भन्ने धेरैले अनुमान गरेका छन्।
यसको नेपालको भावी राजनीतिक घटनाक्रममा नाटकीय प्रभाव पार्न सक्छ।
तर प्रचण्डले भारतसंगको सन्दर्भमा आफुहरु अरु दलहरु भन्दा फरक धातुले बनेको दावी गरेका छन्।
उनको दलले प्रभावशाली दक्षिणी छिमेकीलाई नै गलाउने हो वा आफैं उसको कर्के आँखाबाट गल्ने हो भन्ने कुराले धेरै हदसम्म नेपालको भावी राजनीतिको दिशा निर्देश गर्न सक्छ।