BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
13 नोभेम्बर, 2009 14:01 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
‘आक्रामक’ आन्दोलन गर्ने माओवादीको चेतावनी
 
माओवादीको सिंहदरबार घेराउ
सिंहदरबार घेराउसंगै प्रतिपक्षी माओवादीको दोस्रो चरणको आन्दोलन सकिएको छ
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिक सर्वोच्चता कायम गरियोस् भन्ने आफ्नो दलको माग पुरा गर्न आठ दिनको म्याद दिएका छन्।

आउँदो मंसिर ५ गते सम्म पनि माग पुरा नगरिए तेश्रो चरणको “आक्रामक” आन्दोलन शुरु गरिने उनले चेतावनी दिए।

माओवादीको दोश्रो चरणको आन्दोलनको समापन गर्न आयोजित आमसभामा उनले उक्त कुरा बताएका हुन्।

दावी

नेपालको केन्द्रीय प्रशासनिक केन्द्र सिंहदरबारमा गरिएको दोश्रो दिनको घेराउ सकिएपछि शुक्रबार निकालिएको माओवादी कार्यकर्ताहरुको जुलुस भृकुटी मण्डपमा आमसभामा परिणत भएको थियो।

आमसभालाई संबोधन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आन्दोलन “सबैलाई चकित पार्नेगरी शान्तिपूर्ण र सफल” भएको दावी गरे।

उनले आफ्नो मागको सुनुवाइ नगरिएसम्म आन्दोलन जारी रहने बताए।

प्रचण्डले भने, “नागरिक सर्वोच्चताको हत्या गर्ने राष्ट्रपतिको कदम मंसिर ५ गते सम्म पनि नसच्चिए, आन्दोलन सिंहदरबार वरिपरि सीमित नरही देश भरि फैलिने छ।“

प्रधान सेनापतिलाई हटाउने माओवादी नेतृत्वको तत्कालीन सरकारको निर्णयलाई उल्टाउने राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै माओवादीले यसबाट नागरिक सर्वोच्चताको हनन भएको बताउंदै आएको छ।

तर सरकार र सरकारमा सामेल भएका दलहरु राष्ट्रपतिबाट गल्ती भएको ठान्दैनन्।

उनीहरु राष्ट्रपतिको कदमबाट नागरिक सर्वोच्चताको हनन भएको कुरा ठाडै अस्वीकार गर्छन्।

दुबै पक्ष आआफ्ना अडानमा कायम रहँदा जारी माओवादी घेराउको दोश्रो दिन शुक्रबार पनि सिंहदरबारभित्र रहेका मन्त्रालय र सरकारी कार्यालयहरुमा कामकाज लगभग ठप्प भएको थियो।

बिहानैदेखि शुरु भएको घेराउमा काठमाण्डू र अरु विभिन्न जिल्लाहरुबाट आएका माओवादी कार्यकर्ता र समर्थकहरु सहभागी भएका थिए।

अघिल्लो दिनको तुलनामा प्रदर्शनकारीहरुको संख्या कम थियो।

उनीहरुले सिंहदरबार वरिपरिका आठवटा नाकाहरुमा जम्मा भएर मानिस र सवारी आवागमन अवरुध्द पारेका थिए।

सबै नाकाहरुमा ठूलो संख्यामा प्रहरीहरु तैनाथ गरिएका थिए।

आफ्नो पूर्वघोषित निर्णय अनुसारनै प्रदर्शनकारीहरु सरकारले निषेधित घोषणा गरेको क्षेत्र बाहिर धर्नामा बसेका थिए।

सरकारले पनि निषेधित क्षेत्र नतोडिएसम्म बल प्रयोग नगर्ने आफ्नो घोषणा अनुसार संयम अपनाएको थियो।

हँसिया हथौडा अंकित पार्टीको झण्डा एवं नागरिक सर्वोच्चताको माग गरिएका ब्यानर बोकेका कतिपय प्रदर्शनकारीहरु चर्का नाराबाजी गरिरहेका देखिन्थे। अरु कतिपय चाहिं नाचगान गरेर विरोधको आवाजमा साथ दिइरहेका थिए।

सिंहदरबार बाहिर चर्का नाराबाजी र नाचगानले वातवरण तातिरहेका बेला भित्र भने घेराउको पहिलो दिन जस्तै वातावरण शान्त थियो।

तर अघिल्लो दिनको तुलनामा धेरै मन्त्री, सचिव र कर्मचारीहरु सिंहदरबारस्थित आफ्ना कार्यालयहरु पुगेका थिए।

निकास

विश्लेषकहरु भन्छन्, माओवादी प्रदर्शन उनीहरुले भनेझै शान्तिपूर्ण हुनु तर सिंहदरबार घेराउमा माओवादीले दावी गरेभन्दा धेरै कम सहभागिता हुनुलाई सरकारले सन्तोषका साथ हेर्नेछ।

तर आन्दोलन चर्काउने र फैलाउने माओवादीको चेतावनीले सरकारको चिन्ता बढाउनेछ।

विश्लेषकहरुका अनुसार सहमति मार्फत निकासका लागि कोशिश गर्न आउँदो एक साताको समय त छ। तर यो अवधिमा त्यस्तो कोशिशको नतीजा निस्कने आधार देखिएका छैनन्।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>