|
आइतबार बजेट पारित हुने सभामुखको आशा
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अबको एक सातापछि कर्मचारीको तलब समेत ठप्प हुनसक्ने सरकारले चेतावनी दिएको बेला सभामुख सुवास नेम्वाङ्गले आउने आइतबार बस्ने संसदको
बैठकले बजेट पारित गर्ने आशा गरेका छन्।
माओवादीले घोषणा गरेको दोस्रो चरणको आन्दोलन शुक्रबार सकिने र त्यसलगत्तै सहमति बन्ने विश्वास सभामुखको छ। त्यसैकारण साविकमा दिउँसो तीन बजे बोलाइने गरेको संसदको बैठक आइतबार साढे एघार बजे बोलाएको उनले बताए। “शुक्रबारको आन्दोलनपछि एउटा नयाँ वातावरण बन्ने विश्वास लिएको छु। कमसेकम बजेट पारित गरेर देशलाई ठप्प हुनबाट जोगाउने आशा भएकैले आइतबार साढे एघार बजे संसदको बैठक बोलाएको हुँ,” नेम्वाङ्गले जनाए। सहमति प्रयास आइतबार बिहानसम्ममा कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेर संसद सुचारु रुपले चलाउन ठोस सहमति निकाल्न सकिने उनले बताए। सहमति नबनेमा अध्यादेशबाट वा प्रतिपक्षीलाई पेलेर बजेट पारित गर्ने कुरा भने उनले अस्वीकार गरेका छन्। प्रतिपक्षीको होहल्लाबीच समेत बजेट पारित गर्ने एकथरी चर्चाप्रति लक्षित गर्दै उनले सहमतिभन्दा बेगर केही गर्न नहुने बताए। सभामुख नेम्वाङ्गले अध्यादेशबाट बजेट ल्याउने कुरा पनि अस्वीकार गरेका छन्। “संसद चलिरहेको बेला संसद बाहिर बजेट पारित गर्ने कुरा पुरै अनुचित हो। त्यस्तो कुरा सोच्नुपनि हुँदैन,” उनको भनाइ थियो। ६ महिनादेखि अवरुद्ध बनेको संसदले बजेट पास नगर्दा मंसिरदेखि दशौं हजार कर्मचारीहरुको तलब भत्ता रोकिने चेतावनी अर्थमन्त्री सुरेन्द्र पाण्डेले यस अघिनै दिएका छन्। सरकार र प्रतिपक्षी माओवादी बीचको राजनीतिक द्वन्द्वको शिकार बनेको बजेट अड्किएको कारण इतिहासमै पहिलोचोटि देशको प्रशासनिक अंग बेखर्ची हुन पुग्दा त्यसको परिणाम के हुने हो भन्नेमा धेरैतिर अन्योल कायम छ। |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||