|
गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य गम्भीर तर स्थिर
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अकस्मात अस्पताल भर्ना गरिएका भूतपूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्यस्थिति गम्भीर
रहेको उपचारमा संलग्न डाक्टरहरुले जनाएका छन्।
तर, उनको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको उनीहरुको भनाई छ। आफू उपाचारको निम्ति विदेश जानु अघि कोइरालाले मुलुकको राजनीतिक संकटबारे छलफल गर्न आफ्नो निवासमा कांग्रेसका बरिष्ठ नेताहरुलाई डाकेका थिए। तर मंगलवार विहान उनलाई अकस्मात शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरियो। उनको पछिल्लो स्वास्थ्य स्थितिबारे उपचारमा संलग्न एकजना डा.अर्जुन कार्कीले भने, “बुढो पाको शरीर, त्यसमा पनि अक्सिजनको कमी भएकाले अलिकति चिन्तित त हुनै पर्यो। स्थिति गम्भीर छ तर स्थिर।” डाक्टरहरुको भाषामा स्वास्थ्य जस्ताको त्यस्तै रहनु अर्थात न विग्रिएको न सप्रिएको स्थितिलाई स्थिर भनिन्छ। पुरानो रोग दम, खोकी र अक्सिजन कम हुने उनको पुरानै रोग हो। त्यो पटक पटक बल्झिरहन्छ। त्यसैले उपचारको निम्ति बुधवार सिंगापुर लग्ने तयारी थियो। तर अनपेक्षित रुपले स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गर्नु परेको बताउँदै डा.कार्की भन्छन्, “अक्सिजन कमी भएपछि त्यो पुर्ति गर्न र कमी हुनुको कारण पत्ता लगाउन अस्पताल भर्ना गरेका हौँ।” फोक्सोमा संक्रमण भई अक्सिजनको कम भएको प्रारम्भीक आशंका डाक्टरहरुको छ। कारण पत्ता लगाउन गरिएको परिक्षणको रिपोर्ट बुधवार आउने उनीहरुले जनाएका छन्। अनौठो विशेषता उमेर झण्डै ९० वर्षको हाराहारी, तैपनि राजनीतिक कृयाशिलता यथावत। त्यो कोइरालाको एउटा मुख्य र अनौठो विशेषता हो। त्यसैले पछिल्लो पटक करिव दुई सातादेखि थलिएकै बेला उनी कांग्रेस महासमिति बैठकको उदघाट्न गर्न पुगे। त्यसैबीचमा उनी आफूलाई घरमा भेट्न पुगेका एमाले र माओवादीका बरिष्ठ नेताहरुसंग नयाँ ढंगको सहमति खोज्ने निष्कर्ष निकालेको वार्तामा समेत सरिक भए। उनको पछिल्लो क्रियाशीलतालाई आधार बनाएर धेरैले एमाले अध्यक्ष झलनाथ खनाल भारतबाट फर्केपछि हुने शीर्ष बैठक निर्णायक बन्ने आँकलन गरे। काठमाण्डूस्थित बीबीसीका एकजना सम्वाददाता भन्छन्, “तर खनाल फर्किन नपाउँदै कोइराला अस्पताल भर्ना भएकाले राजनीतिक संकटको ओखती खोज्ने नेताहरुको अभियानमा पनि ठेस लाग्ने हो की भन्ने आशंका उत्पन्न भएको छ।” |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||