BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
माओवादीद्वारा काठमाण्डू नाकाबन्दी
 
माओवादी कार्यकर्ता
उपत्यका छिर्ने सबै सडक नाकाहरुमा हजारौं माओवादी कार्यकर्ताहरु बाटो छेकेर बसेका थिए
मुख्य प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले गरेको काठमाण्डू उपत्यकाको नाकाबन्दीले गर्दा मंगलबार राजधानीसंग देशका अरु भागको सडक यातायात ठप्प भयो।

उपत्यका छिर्ने काठमाण्डूको थानकोट, भक्तपुरको साँगा र ललितपुरको दक्षिणकाली लगायत सबै नाकाहरुमा बिहानैदेखि माओवादी कार्यकर्ताहरुले सवारी साधनहरु वारपार गर्न दिएनन्।

राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतको तीब्र दवावपछि माओवादीले मंगलबारका लागि निर्धारित त्रिभुवन विमानस्थल नाकाबन्दी गरेन।

अलपत्र

नागरिक सर्वोच्चताको माग गर्दै एक हप्ताअघि शुरु गरिएको आन्दोलनको दोश्रो चरण अन्तर्गत उक्त नाकाबन्दी गरिएको थियो।

यातायात ठप्प भएकाले काठमाण्डू आउने र काठमाण्डूबाट बाहिर जाने हजारौं मानिसहरु अलपत्र परेका थिए।

सामान ढुवानी गर्ने गाडीहरु पनि भित्रिन नपाएकाले दिनहूँ राजधानीमा आपुर्ति हुने सामानहरु आउन सकेनन्।

यसबाट व्यापार व्यवसायमा असर परेको बताइएपनि दैनिक उपभोगका सामानहरुको अभाव भने भएन।

उपत्यका छिर्ने सबै सडक नाकाहरुमा हजारौं माओवादी कार्यकर्ताहरु बाटो छेकेर बसेका थिए।

उनीहरु दलको झण्डा बोकेर नाराबाजी गर्दै बाटो रोकेर बसेका थिए।

ती मध्ये केही आफ्नो दलले उठाएको राजनीतिक नाराको समर्थनमा नाचगानमा मस्त देखिन्थे।

काठमाण्डू छिर्ने मुख्य नाका थानकोटमा प्रदर्शन गरिरहेकी एकजना माओवादी कार्यकर्ताले भनिन्, “हामीले यो सब देश र जनताका लागि लागि गरेका हौ। यसरी विरोध गर्नु हाम्रो बाध्यता हो।”

तर नाकाबन्दीका कारण अलपत्र परेका मानिसहरु दु:खी देखिन्थे।

आफ्नो मोटरसाइकल छेउ लगाएर बसेका एक युवकले भने, “म मेरो विरामी दिदिलाई भेट्न पोखराबाट आएको यहाँ फसियो।”

माओवादी नाकाबन्दीले कतिपयको मनमा सशस्त्र द्वन्द्वका ताका गरिएको उपत्यका नाकाबन्दीको जस्तो डरलाग्दो स्थितिको आशंका जन्माएको थियो।

सुरक्षा सतर्कता अपनाउँदै सरकारले माओवादीले धर्ना दिएका नाकाहरुमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको थियो।

तर हिंसा र झडपका कुनै ठूला घटना भएको समाचार छैन।

‘कार्यकर्ता केन्द्रीत’

प्रधान सेनापति हटाउने माओवादी नेतृत्वको तत्कालीन सरकारले गरेको निर्णयलाई राष्ट्रपति रामवरण यादवले उल्टाइदिएपछि ६ महिनाअघि सडकमा उत्रेको माओवादीले राष्ट्रपतिको उक्त कदमबाट नागरिक सर्वोच्चताको हनन् भएको भन्दै सदन र सडकमा आन्दोलन गरिरहेको छ।

त्यसबेला देखिनै संसद अवरुद्ध गरिरहेको माओवादी अहिले आफ्नो सडक आन्दोलनको दोश्रो चरणमा छ।

तर आन्दोलनमा जनताको सहभागिता कम भएको र यो कार्यकर्ताहरुमा मात्र सीमित भएको आलोचकहरुको भनाई छ।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>