|
हिमाल छिटो पग्लेकोमा आरोहीहरु चिन्तित
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
आप्पा शेर्पाले विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा हालसम्म १९ पटक चढिसकेका छन्।
तर गत वर्ष १९औं पटक ८८५० मीटर अग्लो उक्त हिमाल चढ्दा उनले अनौठो दृश्य देखे। करीब ८००० मीटर माथि रहेको साउथ कोल भनिने ठाउँमा उनले हिउँ संगसंगै पानी पनि देखे। “पहिले कहिल्यै नदेखेको त्यस्तो दृश्य देख्दा मलाई अचम्म लाग्यो,” उनले भने। हिउँ पग्लियो जलवायु परिवर्तनका कारण अन्टार्टिका महादेशको हिउँ पग्लिएको तथा माल्दिभ्स् जस्ता टापु देशहरु डुब्न लागेको कुरा त धेरै चर्चामा आएको छ। तर तापक्रममा आउन थालेको वृद्धिले हाम्रै देशका हिमालहरु पग्लने क्रम समेत बढेको बारे धेरैलाई थाहा छैन। त्यसैले होला आफु चढ्ने हिमाल वरिपरिको वातावरणमा आउन थालेको परिवर्तनलाई नजिकबाट नियालेका आरोहीहरुले हिमालहरु तीव्र गतिमा पग्लन थालेको भन्दै मानिसहरुलाई झक्झकाउन कम्मर कसेका छन्। सगरमाथा एकपटक चढिसकेकी तथा अन्य हिमालहरुसमेत आरोहण गरेकी शैली बस्नेतका अनुसार वर्षैपिच्छे हिमालको रुप परिवर्तन हुन थालेको छ। “हिमाल चढ्ने काम त विस्तारै पहाड चढ्ने जस्तो भइसक्यो। हिउँ नभई चट्टानमात्र भएका कारण,” उनले भनिन्। हिमताल जलवायु परिवर्तनको कारण हिमाल छिटो पग्लिएको असरको एउटा प्रष्ट उदाहरणको रुपमा आरोही तथा वातावरणविद्हरुले सगरमाथा क्षेत्रमा रहेको इम्जा हिमताललाई लिने गरेका छन्। सन १९६० सम्म अस्तित्वमै नरहेको सो ताल हाल सवा दुई किलोमीटर लामो ९०० मीटर चौडा तथा ९२ मीटर गहिरो छ। ५००० मीटर माथिको उचाइमा रहेको यो ताल फुट्ने खतरा समेत रहेको धेरैले औंल्याएका छन्। अर्का सगरमाथा आरोही तथा हिमाल सफाई अभियानकर्ता दावा स्टिभन शेर्पा भन्छन् तीव्र गतिमा हिउँ पग्लिएपछि आगामी केही दशकमा यो पूरै क्षेत्र सुख्खा बन्ने डर बढेको छ। तापक्रम विज्ञहरु भन्छन् नेपालमा प्रत्येक वर्ष औसत ०.०६ डिग्रि सेल्सियसले तापक्रम बढेको छ। त्यसैकारण अचेल जमेको हिउँसंग भेट्न दिनपरदिन बढी उकालो उक्लिन परेको आरोही शैली बस्नेत बताउँछिन्। “लाङटाङ क्षेत्रमा तीसौं वर्षदेखि हिउँमा खेल्ने प्रशिक्षण दिने गरीन्छ। तर हरेक वर्ष विद्यार्थीहरुलाई हिउँसंग खेल्न झन झन माथि चढ्नु परेको छ। किनकि तलतिर हिउँ जम्न छोडेर चट्टानमात्रै बाँकि हुनथालेको छ,” बस्नेतको भनाइ थियो। हिमाली क्षेत्रमा तत्काल ध्यान नपुर्याउने हो भने हिमाल मुन्तिरका गाउँहरुमात्र नभई यस वरिपरिका दक्षिण एशिया तथा चीनका मानिसहरुसमेत अप्ठेरोमा पर्ने अधिकारीहरु स्वयं बताउँछन्। वन तथा भूसंरक्षण मन्त्री दिपक बोहोरा भन्छन्, “हिमाल पग्लनु निकै चिन्ताको विषय बनेको छ। यसले नेपाल, भारत र चीनका जनतालाई टड्कारो असर पर्ने देखिन्छ।” तेस्रो ध्रुव उत्तरी र दक्षिणी ध्रुव- आर्कटिक र अन्टार्टिका जस्तै तेस्रो ध्रुव भनिने हिमालय क्षेत्रमा तापक्रम बढेकै कारण हिउँ पग्लिएर समुद्रि सतह बढ्न थालेको वैज्ञानिकहरुले बताएका छन्। दक्षिण एशियामै पनि माल्दीभ्स् जस्ता टापु देशहरु पूरै डुब्ने खतरा रहेको उनीहरुले बताएका छन्। “हिमाल पग्लिएमा केवल हिमाली क्षेत्रका बासिन्दालाई मात्र असर गर्ला भनेर सोच्नु भूल हुनेछ,” शेर्पाले भने। हिमाली क्षेत्रमा परेको समस्याबारे संसारको ध्यान खिंच्न आगामी डिसेम्बर महिनामा हुने अन्तर्राष्ट्रिय जलवायु सम्मेलन ताका सरकारले आरोहीहरुलाई डेनमार्कको कोपेनहेगनमा भेला गर्ने निर्णय गरेको छ। त्यो भन्दा अगाडिनै सगरमाथाको आधार शिविरमा क्याबीनेट बैठक बस्नेपनि कुरा छ। तर विश्लेषकहरु भन्छन् विकसित र ठूला मुलुकहरुले तापक्रम बढाउन योगदान पुग्ने खालका काम नरोकेसम्म हिमाल पग्लिने खतरा टर्ने छैन। |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||