|
हिउँदमा लोडशेडिङको अवधी बढ्ने
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
लोडशेडिङको अध्यारोमा जीवन गुजारागर्न बाध्य नेपाली उपभोक्ताहरुका लागि यसपालीको हिउँद पनि सुखद हुने लक्षण देखिएको छैन।
माग अनुसार बिजुली आपूर्ती गर्न नसक्ने भएपछि नेपाल विद्युत प्राधिकरण मंसिरको पहिलो सातापछि लोडशेडिङको अवधी थप बढाउने तयारीमा लागेको छ तर प्राधिकरणको भनाइ छ यसपालीको हिउँदको लोडशेडिङ पोहरको जस्तो भयावह नहुन सक्छ। नेपालमा अहिले ७ सय ५० मेगावाट जति बिजुलीको माग छ। तर तानतुन गरेर जम्मा ६०० मेगावाट बिजुली मात्र आपूर्ती हुन सकेकोले उपभोक्ताहरुले आजभोली हप्तामा १२ घण्टा लोडसेडिङको मार खेपिरहेका छन्। अब छिप्पिंदो जाडो संगै लोडशेडिङको अंध्यारो थप लम्बिने पक्कापक्की भएको छ। घट्दो उत्पादन कारण स्पष्ट छ, आउने दिनहरुमा हिउँ पग्लिएर बग्ने नदीहरुमा क्रमश: पानी घट्न थाल्नेछ र घरघरमा हिटरहरु बल्न थाल्नेछन्। बिजुलीको माग बढिरहेका बेला उत्पादन चाँही क्रमश: घट्ने हुनाले हालको सातामा १२ घण्टा लोडशेडिङ गरिने तालिका बदलिने प्राधिकरणका अधिकारीहरुले बताए। प्राधिकरणको भारप्रेषण केन्द्रका प्रमुख शेरसिंह भाटका अनुसार मंसिरको पहिलो सातापछि लोडसेडिङ अवधी बढेर सातामा २० घण्टा पुग्न सक्छ। तर पोहर भत्किएका बिजुली प्रसारण संरचना मर्मत भएर भारतबाट थप बिजुली ल्याउने तयारी जोडतोडका साथ चलिरहेकाले यसपालाको हिउँद पोहरको जस्तो कष्टकर नहुन सक्छ। भारप्रेषण केन्द्रका प्रमुख शेरसिंह भाटले भने, “भारतबाट थप बिजुली ल्याउन सकियो भने समस्या त्यति गम्भीर नहोला।” पोहर मध्य जाडोमा दैनिक १६ घण्टाभन्दा बढी लोडशेडिङ भएकोमा यसपाली दैनिक १०-१२ घण्टा भन्दा बढी लोडशेडिङ नगर्ने प्राधिकरणको योजना छ। माग अनुसारको बिजुली आपूर्ती नभएकोले असोज महिनामा पनि हप्ताको १० घण्टा लोडसेडिङ गर्न प्राधिकरण बाध्य भयो। जलस्रोतको धनी भनिए पनि देशभित्र बिजुलीको बढ्दो मागलाई पूर्ती गर्ने गरी नयाँ जलबिद्युत आयोजना बन्न नसकेको कारण लोडशेडिङको अध्यारोबाट अझै केही वर्ष उपभोक्ताहरुले मुक्ती पाउने कुनै छाँटकाँट छैन। ३० मेगावाटको चमेलिया र १४ मेगावाटको कुलेखानी तेस्रोको निर्माण केहि वर्ष भित्रै पुरा हुने बताइन्छ। तर लोडशेडिङबाट मुक्ती दिलाउने क्षमताका माथिल्लो तामाकोसी, तामाकोसी र त्रिशुली ए र बी आयोजनाहरु अझै निर्माणको चरणमा पनि पुगेका छैनन्। |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||