BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
03 नोभेम्बर, 2009 16:24 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
एमाले अध्यक्ष खनाल भारत भ्रमणमा
 
एमाले अध्यक्ष झलनाथ खनाल
खनालले आफू भारतबाट फर्केपछि सविस्तार कुरा गरेर समाधान खोजिने बताएका छन्
देशभित्र राजनीतिक संकट गहिरिएको बेला एउटा ठूलो दलका शीर्षस्थ नेता अरु दुई ठूला दलका आफ्ना समकक्षीहरुसँग कुराकानी गरे लगत्तै परामर्शका लागि छिमेकी देश भारत गएका छन्।

गठबन्धन सरकारको नेतृत्व गरेको एमालेका अध्यक्ष झलनाथ खनाल सरकारको सबभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति र मुख्य प्रतिपक्षी दल माओवादीका अध्यक्षसँग कुराकानी गरेपछि भारतीय नेताहरुसँग कुरा गर्न मंगलबार दिल्ली प्रस्थान गरेका हुन्।

दुबैसंग कुराकानी गरेपछि एमाले अध्यक्ष खनालले बीबीसीलाई भने, “म भारतबाट फर्केपछि सविस्तार कुरा गरेर समाधान खोजिनेछ।”

खनालले आफ्नो भारत भ्रमणबारे केहि बताएनन् तर राजनीतिक गतिरोध गहिरिंदै गएको अवस्थामा भएको उनको भ्रमणलाई चासोका साथ हेरिएको छ।

श्रृँखलाबद्ध भ्रमण

यसअघि नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, भुतपूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा लगायतका नेताहरुले भारत भ्रमण गरेका थिए।

त्यहाँ उनीहरुले भारतीय प्रधानमन्त्री मनमोहन सिंह र सत्तारुढ दल कांग्रेस आईका अध्यक्ष सोनिया गान्धीसँग भेटवार्ता गरेका थिए।

जारी रहेको माओवादीको सडक आन्दोलन लगायतले बढेको राजनीतिक जटिलता समाधान गर्न नजुटी देशका प्रमुख नेताहरु विदेशी परामर्शमा जानुले के संकेत गर्छ?

एकजना विश्लेषक सीके लालले भने, “एमाले र माओवादीबीच विद्यमान सैद्धान्तिक फरकलाई वाह्य हस्तक्षेप विना समाधान गर्न सक्ने आत्मविश्वास घट्दै गएकाले नेपाली नेताहरु एकपछि अर्को गर्दै भारत भ्रमणमा गएका हुन्”।

तीव्र परामर्श

मंगलबार नै प्रधानमन्त्री माधबकुमार नेपालले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग भेटवार्ता गरेका थिए।

साँझ एमालेकै अर्का नेता केपी ओलीको निवासमा प्रधानमन्त्री नेपाल र उनको सरकारलाई बहिष्कार गर्दै आएको पार्टी माओवादीका अध्यक्ष प्रचण्डबीच भेट भएको छ।

ओलीद्वारा आयोजित रात्रीभोजको उक्त अवसरमा कांग्रेसका नेताहरु समेत सरिक थिए।

प्रमुख नेताहरुबीचको भेटलाई जारी राजनीतिक गतिरोध अन्त्यको निम्ति आयोजित अवसरको रुपमा लिइए पनि नेताहरुले केही खुलाएका छैनन्।

माओवादी र सत्ताधारी दलहरुबीचको असमझदारीका कारण संसदमा उत्पन्न अवरोधका कारण बजेट पारित हुन नसक्दा सरकारी खर्च ठप्प हुन थालेको छ।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>