BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
01 नोभेम्बर, 2009 14:09 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
कांग्रेस महासमितिमा सामूहिक नेतृत्वबारे छलफल हुने
 
महासमितिमा भाग लिन आएका कांग्रेस नेता तथा कार्यकर्ता
पार्टिभित्र आन्तरीक प्रजातन्त्र सबल हुनेमा महासमिति सदस्यहरु आशावादी छन्
सभापति गिरिजाप्रसाद कोइरालाले नचाहँदा नचाहँदै शुरु भएको नेपाली कांग्रेसको महासमितिको बैठकमा पार्टिभित्र हाल कायम सभापतिको एकल नेतृत्वको सट्टा सामूहिक नेतृत्वको प्रणालीमा जाने एजेण्डाले प्रवेश पाएको छ।

शक्तिशाली सभापतिको नेतृत्व प्रणालीले गर्दा पार्टिभित्रको आन्तरिक प्रजातन्त्र कमजोर भएको आरोप खेप्ने गरेको नेपाली कांग्रेसले सामूहिक नेतृत्वमा फड्को मार्न विधान परिमार्जन गर्ने विषयमा महासमितिले निर्णय गर्ने बताइएको छ।

फरक विचार

तर पार्टिभित्र अझैपनि एकल नेतृत्वनै रहनुपर्छ भन्नेहरु प्रशस्तै छन्।

उनीहरुको अगुवाई स्वयं सभापति कोइरालाले गरेका छन्।

आइतवारदेखि काठमाण्डूमा शुरु महासमिति बैठकको उदघाटन गर्दै कोइरालाले पार्टिमा शक्तिशाली सभापतिको आवश्यकतामा पुन जोड दिएका थिए।

“सभापति प्रणालीको आदर्शलाई हामीले भुल्नु हुँदैन। सभापतिको अधिकार कटौती गर्नु हुँदैन भन्ने मलाई लाग्छ,” उनले भने।

कोइरालाले पार्टिभित्र र पार्टिबाहिर सबैतिर सहमति सहकार्य र एकताको आवश्यकता टडकारो रहेको बताए।

आशा

महासमितिको बैठकमा देशभरबाट करीब बाह्र सय महासमिति सदस्यहरुले भाग लिइरहेको नेपाली कांग्रेसले जनाएको छ।

तीनदिनसम्म चल्ने उक्त बैठकमा भाग लिन आएका अधिकांश सदस्यहरु नेपाली कांग्रेसले नयाँ उर्जा पाउनेमा आशावादी छन्।

“यसपालीको बैठकबाट नेपाली कांग्रेस एक भएर संस्थागत नेतृत्व प्रणालीमा जान्छ,” पश्चिम नेपालको बाँके जिल्लाबाट आएका महासमिति सदस्य कैलाशनाथ कशौधनले बताए।

त्यस्तै पर्वत जिल्लाबाट आएका ऋषिकेश तिवारीका विचारमा महासमितिले नयाँ नेपाल बनाउने दिशामा महत्वपूर्ण निर्णयहरु गर्नेछ।

“बैठकले आन्तरीक प्रजातन्त्र बलियो बनाउनेछ,” उनले भने।

महासमितिको बैठकले नेतृत्व शैली परिवर्तन बाहेक राज्य पुनर्संरचनाबारे पनि नेपाली कांग्रेसको धारणा तय गर्ने बताइएको छ।

फागुन महिनामा हुने तय भएको पार्टिको बाह्रौं महाधिवेशन अगाडि महासमिति बैठक बसेको हो।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>