http://www.nepali.com

16 जुलाई, 2009 16:28 GMT सम्मका समाचारहरु

पूर्व गभर्नर भट्टराईलाई सफाइ संगै राष्ट्र बैङ्कमा अन्यौल

दुई वर्ष देखि भ्रष्टाचार सम्वन्धी मुद्दा खेपिरहेका राष्ट्र बैंङ्कका पूर्व गभर्नर विजयनाथ भट्टराईलाई बुधबार सर्वोच्च अदालतले सफाइ दिएपछि देशको केन्द्रिय बैङ्क नेपाल राष्ट्र बैङ्कमा एक प्रकारको अन्यौल देखिएको छ।

मुद्दा चलिरहेकै अवस्थामा पदमुक्त गरिएका भट्टराईले सफाइ पाएपछि आफ्नो पदावधि अझै ६ महिना बाँकी रहेको भन्दै आफ्नो पदबहाली हुनु पर्ने बताएका छन्।

राष्ट्र बैंङ्कका बहालवाला गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले पनि सरकारले भट्टराईको भूमिका स्पष्ट बनाइदिनु पर्ने बताएका छन्।

तर सरकारले त्यससम्बन्धका केही निर्णय लिइसकेको छैन।

आरोप

पूर्व गभर्नर विजयनाथ भट्टराईले विश्व बैंङ्कको सहयोगमा संचालित एउटा परियोजना अन्तर्गत रकम भुक्तानी गर्दा भ्रष्टाचार गरेको भन्ने आरोप प्रमाणित नभएको जनाउ बुधबार सर्वोच्च अदालतले दिएको थियो।

त्यसपछि गभर्नर क्षेत्री र राष्ट्र बैङ्कका अन्य अधिकारी समेतका बधाइका पात्र बनेका भट्टराईले आफूमाथि लगाइएको अभियोग प्रमाणित नभएकाले आफ्नो पद बहाली हुनुपर्ने बताएका छन्।

उनले आफू राष्ट्र बैङ्कमैं हुर्किबढेकोले आफ्नो अनुभव राष्ट्रबैंङ्कका लागि हितकर हुने बताए।

त्यस्तै बीबीसीसंग कुरा गर्दै राष्ट्र बैङ्कका गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले पनि सरकारले अब भट्टराईको नयाँ भूमिकाका सम्वन्धमा निर्णय लिनु पर्ने जनाए।

उनले भने, “अदालतले भट्टराईलाई सफाइ दिएपनि पदमा पुनर्वहाली गरेको छैन। त्यसैले बल चाँहि फेरि अब सरकारको कोर्टमा जान्छ।”

पूर्व गभर्नर भट्टराईले राष्ट्रबैङ्कमा आफ्नो भूमिका खोजीरहेको भएतापनि सरकारले त्यस विषयमा कुनै निर्णय गरिसकेको छैन।

मन्त्री प्रकाशशरण महतले भने, “अहिले प्रधानमन्त्री पनि हुनुहुन्न। केही दिन लाग्छ होला।”

पर्खाइ

अर्थ मन्त्रालयका अधिकारीहरु भने सर्वोच्च अदालतले भट्टराईलाई दिएको सफाइबारेको औपचारिक पत्रको पर्खाइमा छन्।

पूर्व गभर्नर भट्टराईको अगुवाइमा भएको भनिएको रकम दुरुपयोगका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको बेलाको रिक्ततालाई पूर्ति गर्न सरकारले दिपेन्द्रबहादुर क्षेत्रीलाई गभर्नर नियुक्त गरेको थियो।

अहिले भट्टराइले सफाई पाएपछि गभर्नर क्षेत्रीले अप्ठ्यारो महसुस गरेको देखिएको छ।