12 जुलाई, 2009 15:43 GMT सम्मका समाचारहरु
सरकारको लक्ष्य समेटिएको नीति तथा कार्यक्रम संविधानसभा व्यवस्थापिका संसदबाट बहुमतले पारित भएको छ।
राष्ट्राध्यक्षको हैसियतमा राष्ट्रपति डा.रामबरण यादवले गत विहिवार संसदमा पेश गरेको नीति तथा कार्यक्रममाथि आइतवार दिनभर छलफल भएको थियो।
त्यसक्रममा प्रतिपक्षी मात्र हैन कतिपय सत्तापक्षीय पार्टीहरुले समेत कार्यक्रमप्रति धेरथोर असन्तुष्टी जनाएका थिए।
तर साँझ भएको मतदानमा कार्यक्रमको पक्षमा ३०५ र विपक्षमा २५१ मत पर्यो।
प्रमुख प्रतिपक्षी एकिकृत नेकपा माओवादी र मधेसी जनअधिकार फोरम उपेन्द्र यादव पक्षले विपक्षमा मत हालेका थिए।
नीति तथा कार्यक्रमको पक्षमा बहुमत जुटाउन नसके नैतिकताको आधारमा राजिनामा दिनु पर्ने भएकाले ससाना गरी २२ दलको समर्थनमा बनेको सरकारको भविष्यको निम्ति मतदान महत्वपूर्ण बन्न पुगेको थियो।
तर आफ्नो पक्षमा बहुमत रहेको पुष्टी गर्दै सरकारले सानो तिनो गौंडो काटेको छ।
नीति-कार्यक्रमप्रति कतिपय सत्तापक्षीय पार्टीहरुकै असहमति र केही सत्तापक्षीय सांसदको अनुपस्थिति पनि माओवादीको माग अनुसार भएको मतदानप्रति चासो बढ्नुको अर्को कारण थियो।
छलफलको अन्त्यमा प्रधानमन्त्री माधवकुमार नेपालले नीति-कार्यक्रम पारित गर्न सबैलाई आग्रह गर्दै भनेका थिए, “तपाईँहरुले दिएका सुझाव सरकारले नीति तथा कार्यक्रम कार्यान्वयनका सिलसिलामा रचनात्मक रुपमा ग्रहण गर्ने छ।”
बिपक्षी विपक्षमै
प्रमुख प्रतिपक्षमा रहेको सबैभन्दा ठूलो दल एकिकृत नेकपा माओवादीले सरकारको कार्यक्रमको विपक्षमा मतदान गरेको थियो।
उसले छलफलमा पनि भाग लिएन।
संसद बैठक शुरु हुना साथ माओवादी नेता बाबुराम भट्टराईले सरकारको कडा आलोचना गर्दै भनेका थिए, “नीति तथा कार्यक्रम जनतालाई भ्रम दिने ढंगले विषको घैटाको मुखमा अलिकति गुलियो राखेको जस्तो मात्र छ।”
सामान्य अवस्थामा सरकारको नीति-कार्यक्रम माथिको छलफल केही दिन चल्ने गर्दर्थ्यो।
तर सत्तापक्ष र प्रतिपक्षबीचको राजनीतिक पौठेजोरीका कारण संसद अवरोध लम्बिएकाले यसपटकको छलफल एकदिनमै टुंग्याइएको हो।
नीति-कार्यक्रम पारित भएपछि सरकारको निम्ति सोमवार बार्षिक बजेट प्रस्तुत गर्ने बाटो सहज बनेको छ।