02 जुलाई, 2009 16:22 GMT सम्मका समाचारहरु
संयुक्त अरब ईमिरेट्सको दुबईबाट कतारको दोहातर्फ जांदैगरेको एउटा पानी जहाज पर्सियन सागरमा डुब्दा मंगलबारदेखि हराईरहेका १२ जना नेपालीहरुमध्ये दुईजनाको शव भेटिएको अधिकारीहरुले जनाएका छन्।
अन्य दशजनाको स्थिति भने अज्ञात रहेको र खोजी कार्य जारी रहेको उनीहरुले बताएका छन्।
बिहीबार अपरान्ह बीबीसी नेपाली सेवासंग कुरा गर्दै कतारकालागि नेपाली राजदूत डा सूर्यनाथ मिश्रले महोत्तरीका शेषनाथ यादव र गैंडाकोट, पाल्पाका तिलकबहादुर खाम्चाको शव फेला परेको बताए।
उनले कतारी अधिकारीहरुले बेपत्ता अन्य यात्रुहरुको खोजी कार्य जोडतोडका साथ गरिरहेको पनि जानकारी दिए।
तर अब बेपत्ता मानिसहरु जीवितै भेट्ने संभावना निकै कम रहेको उनको भनाइ थियो।
अझै हराई रहेका दशजना नेपाली कामदारहरुको पासपोर्ट नम्बर लगायत अन्य सूचना संकलन गरि परराष्ट्र मन्त्रालयमा पठाई सकिएको दोहास्थित नेपाली राजदूतावासले जनाएको छ।
राजदूत मिश्रले मृतकहरु यात्रा गरिरहेको पानी जहाजको बीमा गरिएको र उनीहरु काम गरिरहेको कम्पनी निकै प्रतिष्ठित भएकाले क्षतिपूर्तिको मामिलामा खासै समस्या नपर्ने अपेक्षा पनि व्यक्त गरे।
रुवावासी
यसैबीच पानी जहाज दूर्घटनामा परेका नेपालीहरुमध्ये एक महोत्तरी जिल्लाको सुगा गाविसका राजीवकुमार दत्तको घरमा रुवावासी चलेको छ।
दत्तको घर पुगेका हाम्रा जनकपुरस्थित संवाददाताका अनुसार परिवारको एकमात्र कमाई गर्ने व्यक्ति दुर्घटनामा परेको खबरले पुरै गाउं शोकाकुल भएको छ।
राजीवका पिता सूर्यकान्त दत्तले आफ्नो परिवारको सहारा नै चुंडिएको बताए।
उनले बेपत्ताहरुको खोजी गर्न आवश्यक पहल गर्न नेपाल सरकारलाई आग्रह पनि गरे।
सरकारले कतार सरकार, दोहास्थित उद्धार संस्थाहरु तथा नेपाली कामदारहरु कार्यरत कम्पनीसंग संपर्क कायम गरिरहेको बताएको छ।