|
स्वातका विस्थापितहरु घर फर्कन आरम्भ
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
पाकिस्तानको उत्तरपश्चिम सिमानामा सरकारले हालैको भिडन्तबाट प्रभावित स्वात उपत्यका तथा अन्य क्षेत्रहरूमा त्यहांबाट विस्थापितहरूलाई
घर फर्काउने प्रयास आरम्भ गरेको छ।
तर त्यस्तो फिर्ती यात्राका लागि तयार पारिएका बस र ट्रकहरूमा पहिले अनुमान गरिएभन्दा निकै कम मानिसहरूमात्र सवार भएका छन्। गत अप्रिल महिनामा तालेवान विरूद्धको सरकारी अभियान आरम्भ भएयता झण्डै बीस लाख मानिसहरू आआफ्नो घर छोडी भागेका थिए। स्वात उपत्यकातर्फ जाने पहिला बसहरू प्रस्थान गर्दा स्थानीय राजनीतिक नेताहरूले तिनीहरूमाथि फूल बर्साएका थिए। तर ती बसहरूमा खाली सिटहरु पनि थिए। सुस्त यस्तो फिर्ती यात्रा सरकारले योजना गरेको भन्दा सुस्त गतिमा भैरहेको छ। एउटा शरणार्थी शिविरमा त्यहां बसिरहेकाहरूले खानेकुरा र आफ्नो घर बनाउनका लागि आवश्यक रकम हासिल गर्न नभई नहुने परिचय पत्र प्राप्त नभएको भन्दै बन्द हडताल गरेका थिए। अन्यत्र मानिसहरूले आफ्नो इलाकामा सुरक्षास्थितिका बारे स्पष्ट जानकारी नआएसम्म आफुहरुलाई फर्कन डर लागिरहेको बताएका छन्। तर सरकारी अधिकारीहरू आउंदा दिनहरूमा ठूलो संख्यामा मानिसहरुलाई घर फर्काउन सकिने अपेक्षा गर्छन्, विशेषगरी त्यस्तो फिर्ती यात्रा सुरक्षित छ भन्ने खबर फैलिएपछि। स्वात, मालाकन्द र बुनेर तर्फ जाने सडकभरि नै ठूलो सैनिक उपस्थिति रहेको छ। र सैनिक निगरानीमा मानिसहरूलाई शिविरहरूबाट बाहिर निकालिंदै छ। सोमबारबाट शुरू भएको फिर्तीको पहिलो चरणमा शिविरहरूमा बसिरहेका मानिसहरुलाई फर्काइने छ, त्यसपछि सेनाले भिडन्तबाट भागेर विद्यालयहरू र अन्यत्र बसिरहेकाहरुलाई फर्काउनेछ। स्वेच्छिक फिर्ती राष्ट्रसंघीय निकायहरूले त्यस्तो घर फिर्ती कार्य स्वेच्छिक हुनुपर्नेमा जोड दिइरहेका छन्। सरकारको आधिकारिक धारणा अब स्वात उपत्यकामा, उसकै शब्दमा, तालेवानलाई निर्मूल पारिएको भन्ने छ। तर उक्त समूह नष्ट हुनुको साटो त्यहांबाट अन्यत्र गएको मात्र हो र स्वात माथिको पहाडी इलाकामा अझै भिडन्त जारी छ। सरकारका सामु त्यसरी फर्कनेहरुलाई खानेकुरा, स्वच्छ पानी र सुरक्षित वातावरणमा आश्रयस्थल जुटाउनु पर्ने अल्पकालीन चुनौतीहरू छन्। तर दीर्घकालीन रूपमा भने उसका चुनौतीहरू झन कठिन छन्- त्यो हो, त्यहां पहिले नभएको एउटा जवाफदेही र भ्रष्टाचार रहित सरकारको निर्माण
गर्नु। |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||