BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
12 जुलाई, 2009 16:39 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
कोशी तटबन्धमा संयुक्त निगरानी गरिने
 
मन्त्री बालकृष्ण खांण
सिंचाई मन्त्री बालकृष्ण खांणले भारतीय मन्त्री संग कोशी बांधको निरीक्षण गरेका थिए
सम्भावित बाढी रोक्न कोशी नदीमा बनाइएको सम्पूर्ण तटबन्धमा चौबीसै घण्टा संयुक्त निगरानी गर्न सहमती भएको नेपाल तथा भारतका मन्त्रीहरुले जनाएका छन्।

यसपालीको बर्षा मौसममा कोशी नदीमा फेरि बाढी आउने आशंका गरीएको बेला उनीहरुले उक्त कुरा बताएका हुन्।

आफ्नो दुईदिने नेपाल भ्रमणको अन्तिम दिन आइतबार बिहानै भारतका जलश्रोत मन्त्री पवनकुमार वंशल नेपालका सिंचाई मन्त्री बालकृष्ण खाँणसंगै कोशी डुबान प्रभावित पूर्वी नेपालको सुनसरी जिल्ला घुमेका थिए।

त्यसपछि दिउँसो आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै भारतीय मन्त्री वंशलले भने “हामी त्यहाँ भइरहेका निर्माण कार्यहरुबाट पूर्ण सन्तुष्ट छौं।”

“तर त्यहाँको पूरै तटबन्धमा निरन्तर निगरानी राखिनु जरुरी छ। हामी दुवैले संयुक्त निगरानी राख्न निर्णय गरेका छौं,” उनले वताए।

खुशी

उनको कुरामा सही थाप्दै नेपालका सिंचाई मन्त्री बालकृष्ण खाँणले कोशी नदीमा समयमै भारतले मर्मत कार्य सकाएकोमा खुशी प्रकट गरे।

“सत्र सय मिटर लामो तटबन्ध र त्यसलाई बलियो बनाउन पानीको प्रवाह नियन्त्रणको निम्ति १५० मिटर लामा पाँचवटा स्पर तथा अन्य सुरक्षात्मक उपायहरु बर्खा मौसम अगावै सफलतापूर्वक सिध्याएकोमा म भारतीय सरकारलाई वधाई दिन चाहन्छु,” मन्त्री खाँणको भनाइ थियो।

पोहोर भदौमा कोशी डुबानका कारण दुईवटै देशमा गरी लाखौं मानिसहरु विस्थापित भएका थिए।

आफुलाई कोशी नदीमा जारी मर्मतबारे बुझ्न आफ्ना प्रधानमन्त्री मनमोहन सिंहले पठाएको वताउने भारतीय मन्त्रीले कोशी नदीमा बाढीको खतरा दोहोरिरहने समस्याको स्थायी समाधानको रुपमा सप्तकोशी उच्च बाँधको कुरा पनि कोट्याए।

“२६९ मीटर अग्लो उच्च बाँधको आवश्यकता छ जसले तीन हजार मेगावाट बिजुली पनि निकाल्नेछ,” वंशलले वताए।

उनले उक्त उच्च बाँध बनाउने बारेमा भर्खरै प्रारम्भिक अनुसन्धानहरु हुन थालेको र त्यसलाई सम्पन्न गर्न लामो समय लाग्ने जनाए।

भारत सरकारको संसदीय मामिला सम्बन्धी समेत मन्त्री रहेका वंशलले नेपाल बसाईका दौरान प्रधानमन्त्री माधवकुमार नेपालसंग पनि भेटघाट गरेका थिए।

नेपाल र भारतमा हालै नयाँ मन्त्रिमण्डलको गठन भएयता भारतका तर्फबाट पहिलो राजनीतिक तहको भ्रमणमा मन्त्री वंशल काठमाण्डौं आएका हुन्।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>