|
रोग फैलिएका गाउँमा चिकित्सक टोली
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
औषधी सहित स्वास्थ्यकर्मीहरुको टोली गाउँ-गाउँ पुग्न थालेपछि पश्चिम नेपालका मानिसहरुले अब त्यहाँ फैलिएको झाडापखालाको रोग नियन्त्रणमा
आउने विश्वास व्यक्त गरेका छन्।
रोग प्रभावित जाजरकोट, रुकुम लगायतका जिल्लामा अब औषधी र स्वास्थ्यकर्मीहरुको अभाव नहुने अधिकारीहरुले बताएका छन्। झाडापखाला प्रभावित जाजरकोट र रुकुमका विभिन्न गाँउमा औषधी सहित चिकित्सक टोली शनिबार पुगेका हुन्। सो कार्यका लागि नेपाली सेनाको हेलिकप्टर र जाजरकोटकै समाजसेवी राजीव शाहको पहलमा ल्याइएको भाडाको हेलिकप्टर प्रयोग भैरहेको छ। सेनाका दुईवटा हवाइजहाजहरुले रुकुमको चौरजहारी विमानस्थलसम्म औषधी पु-याउने र त्यहाँबाट हेलिकप्टरहरुले गाउँ पु-याउने काम दिनभर भैरहेको छ। राहत औषधी र स्वास्थ्यकर्मीहरु रोग प्रभावित क्षेत्रमा पुगेपछि त्यहाँका मानिसहरुले राहत महसुस गरेका छन्। झाडापखालाबाट प्रभावित जाजरकोट जिल्लाको दशेरा गाउँका स्थानीय बासिन्दाहरुले भने “औषधी र डाक्टर आएका छन्, अब त बाँचिन्छ कि जस्तो लागेको छ।” शुक्रबारमात्रै जाजरकोटमा झाडापखालाबाट ६ जनाको ज्यान गएको थियो। हालसम्म झाडापखालाबाट ज्यान गुमाउनेको संख्या झन्डै १०० पुगेको बताइएको छ। यद्यपि स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले उक्त संख्या ५३ मात्रै रहेको बताएका छन्। औषधी विना उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले समेत हेलिकप्टर मार्फत गाउँमै औषधी पाएपछि उपचार गर्न सजिलो भएको बताएका छन्। त्यस्तै झाडापखालाबाट प्रभावित रुकुमको गोतामकोट गाविसमा खटिएको स्वास्थ्यकर्मीको टोलीले सबैलाई उपचार गर्न नसकेपछि शनिबार हेलिकप्टरबाट थप तीनवटा स्वास्थ्यकर्मीको टोली औषधी सहित त्यस तर्फ पठाइएको छ। संख्या रोग प्रभावित क्षेत्रहरुमा औषधी सहितको स्वास्थ्य टोली पठाइसकेको जिल्ला अस्पताल रुकुमका स्वास्थ्य प्रमुख डा. बिनोद गिरीले जानकारी दिए। बिरामी परेकाहरुको जिल्ला अस्पताल र गाउंका स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ। झाडा पखालाबाट प्रभावितहरुको संख्या तीव्ररुपमा वृद्धि भइरहेको जिल्ला स्वास्थ्य कार्यालय रुकुमले जनाएको छ। हालसम्म रुकुममा २० जनाको ज्यान गैसकेको छ। जाजरकोट र रुकुममा हाल एक हजार भन्दा बढीको संख्यामा झाडापखाला प्रभावितहरु रहेको अनुमान गरिएको छ । |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||