BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
10 जुलाई, 2009 12:07 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
प्रधानमन्त्रीको विदेश यात्रा र आशंका
 

 
 
नेपालको नक्शा
प्रधानमन्त्रीको पहिलो भ्रमण भारत नहुँदा दिल्लीले असन्तुष्टी जनाउने गरेको बताइन्छ
बिहीबार वार्षिक नीति तथा कार्यक्रम पेश गरेपछि अर्को साता वार्षिक बजेट पेश गर्ने तरखर गरिरहेको गठबन्धन सरकारका प्रमुख प्रधानमन्त्री माधवकुमार नेपाल आफ्नो पहिलो बिदेश भ्रमणको तयारीमा पनि व्यस्त छन्।

संसदमा बजेट पेश गरिए लगत्तै उनी असंलग्न शिखर सम्मेलनमा भाग लिन इजिप्टको राजधानी कायरो जाँदैछन्।

तर एक वर्षका लागि भनेर नीति र कार्यक्रम एवं बजेट ल्याइएपनि २२ दलीय गठबन्धन सरकारको लामो भविष्यका बारे मानिसहरुलाई शंका छ।

संयोगवश पुरानो अनुभवलाई आधार मान्ने हो भने प्रधानमन्त्रीको पहिलो बिदेश भ्रमणको गन्तव्यले पनि सरकारको भविष्यप्रतिको शंकालाई बल दिनेछ।

कमजोर धरातल

माधवकुमार नेपाल नेपालका तेश्रो कम्युनिष्ट प्रधानमन्त्री हुन्।

उनले नेतृत्व गरेको गठबन्धन सरकारको धरातल कमजोर छ।

यसको एउटा छनक सरकारको ठूलो साझेदार नेपाली काँग्रेसले वार्षिक नीति तथा कार्यक्रमप्रति देखाएको असन्तुष्टिले दिइसकेको छ।

अवरुध्द संसद संचालन गर्न अन्तिम घडीमा मुख्य प्रतिपक्षी माओवादीले दिएको सहमतिको एक महिने म्याद सरकारको गर्धनमाथि तरवारको रुपमा झुण्डिरहेकै छ।

त्यसैले नीति तथा कार्यक्रम र बजेटले ओगट्ने पूरै एक वर्षभरी सरकारको आयू रहने कुरामा मानिसहरुलाई शंका हुनु अनौठो होइन।

संयोगवश प्रधानमन्त्री नेपालको बिदेश भ्रमणको कार्यक्रम अल्पायू भएका उनका पूर्ववर्ती कम्युनिष्ट प्रधानमन्त्रीहरुको कार्यक्रमसंग मिल्न गए जस्तो देखिएको छ।

आफ्ना पूर्ववर्ती दुई कम्युनिष्ट प्रधानमन्त्रीहरु जस्तै उनी पनि पहिलो बिदेश भ्रमणका निम्ति भारत भन्दा अर्कै देश जाने परिस्थिति बनेको छ।

पहिलो कम्युनिष्ट प्रधानमन्त्री उनकै दल नेकपा एमालेका मनमोहन अधिकारी थिए जो आफ्नो पहिलो बिदेश भ्रमणका निम्ति राष्ट्रसंघीय सामाजिक सम्मेलनमा भाग लिन डेनमार्क गएका थिए।

दोश्रो कम्युनिष्ट प्रधानमन्त्री नेकपा माओवादीका पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहिलो बिदेश गन्तव्य ओलम्पिक खेलको आयोजना गरेको चीन बन्न पुगेको थियो ।

कौतुहल

दुबै प्रधानमन्त्रीहरुको अल्पायूमै अवसान हुनुमा यो पनि एउटा कारण बनेको कतिपष विश्लेषकहरुको भनाई छ।

उनीहरुका अनुसार नेपालका कुनैपनि सरकार प्रमुखले सबभन्दा पहिले आफ्नो देशको भ्रमण गरुन भन्ने चाहना लामो समयदेखि प्रभावशाली दक्षिणी छिमेकी भारतको रहीआएको छ।

यो पृष्ठभूमिमा तेश्रो कम्युनिष्ट प्रधानमन्त्री माधवकुमार नेपाल आफ्नो पहिलो भ्रमणका निम्ति अर्को साता अफ्रिकी देश इजिप्ट जाँदैछन्।

उनी पहिले भारत जाने हुने योजना भएको भएपनि परिस्थितिले त्यसो हुन दिएन।

नौ महिनामै ढलेका कम्युनिष्ट नेतृत्वका पूर्ववर्ती दुई सरकारहरु जस्तै माधव नेपाल पनि संसदमा एकल बहुमत नभएको दलका नेता हुन्।

सरकारको नीति तथा कार्यक्रम र बजेट पेश गरेपछि कायरो जाने तयारीमा जुटेका नेपाल के तीतो अतीतलाई मीठो भविष्यमा परिणत गरी मानिसहरुका आशंकालाई गलत साबित गर्न सफल होलान?

धेरैलाई कौतुहल रहनेछ।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>