|
पश्चिम पहाडमा झाडापखाला अझै नियन्त्रण बाहिर
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
गएको केही सातादेखि पश्चिमी पहाडी जिल्लाहरुमा फैलिएको झाडा पखाला अझै नियन्त्रणमा नआएको स्थानीय स्वास्थकर्मीहरुले बताएका छन्।
रोगले महामारीको रुप लिन सक्ने आशंका बढिरहेका बेला मृत्यु हुनेको संख्या बढेर ७५ नाघेको बताइएको छ। स्वास्थ मन्त्री उमाकान्त चौधरी एउटा स्वास्थ्य टोली लिएर रोगले सबभन्दा बढी असर पारेको जिल्ला जाजरकोट पुगेका थिए। उक्त टोलीले त्यहाँ स्वास्थ्यकर्मी र औषधी पु–याएको थियो। तर त्यो पर्याप्त नभएको स्वास्थकर्मीहरुले गुनासो गरेका छन्। अपर्याप्त एकजना स्वास्थकर्मी पदमा थापाले भनाइमा स्वास्थ्य चौकीमा दिनहूँ १५/२० जना रोगी आउँछन्। तर सरकारले पठाएको औषधी २/४ जनालाई पनि पुग्दैन। अर्का स्वास्थ्यकर्मी कल्पना रोकायाले भनिन्, “चाहिने जति औषधी नपाइएपछि अरु मानिसहरुको मृत्यु हुने स्थिति आएको छ।“ जाजरकोटका केही गाउँहरुबाट शुरु भएको रोग छिमेकी जिल्लाका गाउँहरुमा फैलिंदा हजारौ मानिसहरु त्यसबाट प्रभावित भएका छन्। एउटा अनौपचारिक अनुमान अनुसार रोगबाट प्रभावित हुनेहरुको संख्या दस हजार नाघेको छ। सामान्य औषधीबाट निको हुने झाडापखाला सल्यान, रुकुम, दैलेख र सुर्खेतका धेरै गाउँहरुमा फैलिएको छ। तर स्वास्थ्य चौकी र निजी मेडिकल हलमा समेत औषधीको ठूलो अभाव छ। रोगबाट प्रभावित गाउँहरुमा औषधी र चिकित्सकहरु नपुगेको भनी स्थानीय वासिन्दाहरु आक्रोशित भएका छन्। मानिसहरुको आक्रोश र संचार माध्यममा आएका समाचारबाट दवाबमा परेपछि सरकार केही तातेको थियो। अनुरोध त्यसैको परिणामको रुपमा स्वास्थ मन्त्रीको जाजरकोटको निरीक्षण भ्रमणलाई हेरिएको थियो। अधिकारीहरुले नपुग स्वास्थ्यकर्मी र औषधीको अनुमान गरी थप आपुर्तिका लागि केन्द्रमा अनुरोध गरिने बताएका छन्। जाजरकोटका जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णहरि सुबेदीले भने, “केन्द्रबाट आएका स्वास्थकर्मी र औषधी रोग प्रभावित क्षेत्रमा पठाउँछौं र त्यतिले नपुग्ने देखिएमा थप पठाउन अनुरोध गर्छौं।“ तर राजनीतिक दाउपेचमा व्यस्त रहँदा सरकार र राजनीतिक दलहरुले मानिसहरुका न्यूनतम स्वास्थ्य आवश्यकतामा ध्यान दिने फुर्सत निकाल्न नसकेको टिप्पणी आलोचकहरुले गरेका छन्। उनीहरु भन्छन्, सरकारले समयमै ध्यान पु-याएको भए धेरै मानिसहरु अकाल मृत्युबाट जोगिने थिए। |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||