|
कोइराला माओवादी सहितको राष्ट्रिय सरकारको पक्षमा
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माओवादी सहितको राष्ट्रिय सरकारको गठन गर्न जोड दिएका छन्।
तर उनले नेपाली काँग्रेस सहितको एमाले नेतृत्वको वर्तमान सरकारमै माओवादी र अरु दललाई सामेल गराई राष्ट्रिय स्वरुप दिनु पर्ने बताएका छन्। आफ्नै नेतृत्वमा राष्ट्रिय संयुक्त सरकार बनाउन माओवादीले प्रस्ताव अगाडि सारेपछि कोइरालाको यो भनाई आएको हो। उनले भने, “शान्ति र स्थायित्वको लागि सहमति र सहकार्य अपरिहार्य भएकाले वर्तमान सरकारमा माओवादी र अरु सबै दलहरु सामेल हुनुपर्छ।” गृहनगर विराटनगरमा शुक्रबार पत्रकारहरुसंग कुरा गर्दै कोइरालाले माओवादी दल सहमतिमा आउन बाध्य हुने दावी गरेका थिए। सहमतिको आशा उनले भने, “विगतमा धेरै विषयमा विवादसंगै सहमति भएका उदाहरण छन्। त्यसैले माओवादी सहमतिमा आउंछ भन्ने मलाई विश्वास छ।” प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिको कदमको विरोध गर्दै माओवादीद्वारा संसदमा भइरहेको अवरोधप्रति कोइरालाले तीब्र आक्रोश पोखेका थिए। संसदको अवरोध जारी रहेको अवस्था बारे कोइरालाले भने, “यदि माओवादीले सहमतिमा नआएर संसद अवरोध गरी अस्थिरता बढाउंछ भने त्यसको जिम्मेवारी उसैले लिनुपर्छ।” अहिले संविधान संशोधनको कुरा उठाउनु जरुरी नभएको पनि कोइरालाको भनाई थियो। प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिको भूमिकाको कटु आलोचक रहेको माओवादीले भने राष्ट्रपतिको कदमलाई अवैधानिक भन्दै संसद अवरुध्द गर्दै आएको छ। संसदको अवरोध हटाउने एउटा उपायका रुपमा माओवादीले संविधान संशोधन गरेर राष्ट्रपतिको भूमिका स्पष्ट गरिनु पर्ने प्रस्ताव अगाडि सारेको छ। |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||