|
बाग्मती सफा गर्न महत्वाकांक्षी योजना
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
दुर्गन्धित, खुल्ला ढलको रुपमा परिणत भएको बाग्मती नदी सफा गर्ने एउटा महत्वाकांक्षी योजनालाई अन्तिम रुप दिन नेपाली अधिकारीहरु
जुटेका छन्।
बाग्मतीको अवस्था झन्, झन् बिग्रन थालेकोमा चिन्ता बढिरहेका बेला अधिकारीहरु पाँच वर्षभित्र बाग्मती र यस्का सहायक नदिहरु सफा गर्ने योजनाको तैयारीमा लागेका हुन्। अत्यन्त फोहर भएपनि राजधानी काठमाण्डू भएर बग्ने बाग्मती नदीलाई अझै पवित्र गंगा मान्दै पुज्नेहरु धेरै छन्। ‘ढलमती’ काठमाण्डू उपत्यकाको छातीबाट बग्ने बाग्मती र यस्का सहायक नदीहरुमा शहरी वस्तीहरुबाट निस्किएको ढल मिसाइन थालेको धेरै भइसक्यो। फलस्वरुप, वर्षौंदेखि बाग्मती र त्यस्मा मिसिने विष्णुमती, धोबीखोला र टुकुचा जस्ता नदीहरु खुल्ला ढलको रुपमा बग्दै आइरहेका छन्। प्रदुषित र दुर्गन्धित भएपनि, गर्मीयाममा बाग्मतीमा केटाकेटीहरु पौडी खेलीरहेको दृश्य काठमाण्डूबासीका लागि नौलो होइन। गुहेश्वरी नजिकै पौडीखेलीरहेका एक बालकले भने, “पानी सफा भए त यस्तो गर्मीमा पौडी खेल्न झन् मज्जा आउथ्यो।” बाग्मतीको अवस्थाप्रति दु:खी एकजनाले भने, “बाग्मती ढलमती जस्तो भइसक्यो। खोइ सरकारले पनि केही गर्न सकेनl” कार्ययोजना बाग्मती सफा गर्ने जिम्मा पाएको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत बिकास समितिका अनुसार बाग्मती सफाइ कार्ययोजना अब तयार हुनै लागेको छ। पन्ध्र अर्ब रुपैंयाँ खर्च लाग्ने सो योजना अनुसार काम भएमा शहरका ढल अहिले जस्तो नदीमा सीधै मिसाइने छैन। त्यस्को मतलब बाग्मती र त्यस्का सहायक विष्णुमती, हनुमन्ते, कोड्कु र नख्खु जस्ता खोलाका किनारहरुमा कम्तीमा सातवटा ढल प्रशोधन केन्द्र निर्माण गरिनेछ। समितिका आयोजना प्रमुख अनिलभद्र खनालका अनुसार कार्ययोजना संगसंगै ढल निर्माणका लागि टेण्डर आव्हान गर्ने काम पनि शुरु हुन लागेको छ। उनका अनुसार अहिले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम, यूनेप, र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा कार्ययोजना तयार भइरहेको छ। भय उनको विश्वास छ, आवश्यक १५ अर्ब रुपैंयाँ, र समुदायहरुको सहयोग प्राप्त भएमा बाग्मती र खुल्ला ढल बनेका अन्य सहायक नदीहरुको अनुहार आगामी पाँच वर्षभित्र फेरिन सक्छ। तर विगतका अनुभवहरुबाट दिक्क भएका कतिपय विश्लेषकहरुका माझ यो योजना पनि कागजमै सीमित हुने भय कायमै देखिन्छ। कार्ययोजनालाई सघाइरहेका वातावरणविद् भुषण तुलाधर भन्छन्, नयाँ ढल प्रशोधन केन्द्र बनाउनुअघि गुहेश्वरी, हनुमन्ते र सुन्दरीघाटमा बनाइएका पुराना प्रशोधन केन्द्रहरुको मर्मत संभार र क्षमता विस्तार गर्नु पर्छ। “उन्नाइस दिनको आन्दोलनपछि यत्रो परिवर्तन गर्न सक्ने जनता लागे भने बाग्मती सफा नहुने कुरै छैन।” काठमाण्डू सभ्यताकी जननी मानिएपनि बाग्मतीलाई नगरबासी र विगतका सरकारहरुले न्याय गर्न नसकेको धेरैको गुनासो छ। विभिन्न अध्यनहरुले देखाएअनुसार प्रदुषणका कारण बाग्मतीमा माछा र भ्यागुता जस्ता जलचर बाच्न सक्दैनन् र बाग्मतीको पानी सिचाइको लागि पनि उपयुक्त छैन। |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||