BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
18 जुन, 2009 13:59 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
विश्वव्यापी मन्दीले नेपालको घरजग्गालाई छोएन
 

 
 
काठमाण्डूस्थित मालपोत कार्यालय
तोकिएको एक अर्ब रुपियाँभन्दा बढिको राजस्व लक्ष्य मालपोत कार्यालयले प्राप्त गरिसकेको छ
विश्वव्यापी आर्थिक मन्दीका कारण संसारभर घरजग्गाको मूल्य धराशायी भएको बेला नेपालमा भने दिन दुईगुना रात चौगुना त्यसको मूल्य बढेको छ।

न्यूयोर्कदेखि लण्डनसम्म र दुबईदेखि दिल्लीसम्म गएको एक वर्ष आर्थिक मन्दीका कारण खासगरी घरजग्गाको व्यापार गर्ल्यामगुर्लुम खस्किएको थियो।

तर सोही समयमा काठमाण्डौं उपत्यकामा भने शहरको नाकनक्शानै परिवर्तन हुने गरी दर्जनौं बडा, बडा एपार्टमेण्ट भवन, किनमेल केन्द्र तथा व्यापारीक परिसरहरु धमाधम बनिरहे।

व्यवसायीहरुका अनुसार अचेल नेपालमा हरेक वर्ष यस्ता निर्माणहरुमा ७० देखि ८० अर्ब रुपियाँ लगानी हुने गरेको छ।

किर्तिमान

ठूल्ठूला लगानीकर्ताहरुले यो व्यवसायमा हात हाल्न थालेपछि जग्गाको भाउले पनि किर्तिमान तोडेको व्यवसायीहरु वताउँछन्।

एकजना घरजग्गा व्यवसायी तथा जग्गा तथा आवास विकास संघका महासचिव मीनमान श्रेष्ठका अनुसार हातहातै जग्गाको भाउ बढ्ने गरेको छ।

“तीन महिनाभित्रै लाखौं रुपियाँ बढिसकेको हुन्छ,” उनले भने।

उनको भनाईलाई सरकारी तथ्याँकले बल पुर्याएको छ।

काठमाण्डूको जग्गा कारोबारमा अत्यधिक व्यस्त रहने डिल्लीबजारस्थित मालपोत कार्यालयले यस वर्षलाई तोकिएको एक अर्ब रुपियाँभन्दा बढिको राजस्व लक्ष्य प्राप्त गरिसकेको छ।

उक्त कार्यालयका प्रमुख प्रेम खापुङ्गका अनुसार पोहोरभन्दा यसपालि निकै बढि संख्यामा जग्गाको खरीदविक्रि भएको छ।

विश्वव्यापी मन्दीको एउटा प्रमुख कारण ठूला देशहरुमा घरजग्गा व्यवसाय एक्कासी धराशायी हुनुलाई लिइएको छ।

त्यसैले होला अन्तर्राष्ट्रिय मुद्रा कोषका अधिकारीहरुले समेत, उनीहरुकै शब्दमा, अस्वाभाविकरुपमा वृद्धि भइरहेको घरजग्गाको मूल्यबारे सचेत रहन नेपाली अधिकारीहरुलाई सुझाव दिएका थिए।

लगत्तै नेपाल राष्ट्र बैंकले घरजग्गामा लगानी गर्ने बैंकहरुलाई कडाई अपनाउन निर्देशन दिएको थियो।

शिथिल

त्यसैले होला गएको दुईतीन महिनायता घरजग्गाको भाउ बढ्ने क्रममा केही शिथिलता आएको अनुभव व्यवसायीहरुले गरेका छन्।

तर यो शिथिलता विश्वव्यापी मन्दीको प्रभाव भने नभएको व्यवसायीहरुको भनाइ छ।

बरु कृत्रिम रुपमा आकाशिएको मूल्यमा आउन लागेको स्वाभाविक सुधारको रुपमा उनीहरुले यसलाई लिएका छन्।

श्रेष्ठ भन्छन्, “दुईतीन महिना यताचाहीं जग्गाको भाउ अस्वाभाविक रुपमा बढ्ने क्रम बन्द भएको छ। भाउमा आउन थालेको सुधारले यो व्यवसायलाई दिगो बनाउन मद्दत गर्नेछ।”

चाहे उकालो लाग्दा होस वा ओरालो लाग्दा नेपालको घरजग्गा व्यापार आर्थिक मन्दीबाट अछुतो नै रह्यो।

जसको प्रमाण शहर वरिपरि च्याउ सरह उम्रिएका प्लटिङ गरिएका जग्गाहरु मात्र होइनन् हरेक गल्ली र बाटोबाटोमा जोडतोडकासाथ जारी निर्माण कार्यपनि हो।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>