BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
27 मे, 2009 13:36 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
प्रधामन्त्री भएपछि माधव नेपालको पहिलो अन्तर्वार्ता
 
प्रधानमन्त्री बनेपछि माधव कुमार नेपालले पहिलो अन्तर्वार्ता बीबीसी नेपाली सेवालाई दिएका थिए। प्रस्तुत छ, मंगलवार साँझ काठमाण्डूको कोटेश्वरस्थित प्रधानमन्त्री नेपालको निवासमा उनीसँग नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रले गरेको कुराकानीको सम्पादीत अंश


प्रधानमन्त्री ज्यू, सबभन्दा पहिलो प्रश्न के भने, अघिल्लो सरकार सेनापति वर्खास्तीको कारणले गिर्‍यो। त्यो विषय अझै पनि विवादमै छ। सेनापति हटाउने अघिल्लो सरकारको निर्णय तपाइँको सरकारले फिर्ता लिन्छ कि लिँदैन?

प्रधानमन्त्री माधवकुमार नेपाल(दायां), रवीन्द्र मिश्र
प्रधानमन्त्रीले अरुको अपमान नगर्ने र अपमान पनि नसहने कुरा बताएका छन्

हाम्रो पार्टीले अघिल्लो सरकारको त्यो निर्णय बेठीक भएको निर्णय गरिसकेको छ। जब निर्णय नै बेठीक छ भने त्यो निर्णयलाई समर्थन गर्ने कुरै भएन। अब हामीले त्यसलाई कसरी हल गर्ने भन्ने उपाय खोज्नुपर्छ। किनकि माओवादीको निम्ति पनि त्यो प्रतिष्ठाको मुद्दा बनेको छ। स्वभाविक रुपमा प्रधानसेनापति रुक्माङ्गद कटवाल रहने कुरा त प्रष्टै छ। त्यसमा कुनै द्वीविधा राख्नुपर्ने कुनै आवश्यकता छैन।

निर्णय फिर्ता हुन्छ कि हुँदैन?

मैले भनि सके नि, प्रधानसेनापति रुक्माङ्गद कटवाल रहेकाले उहाँ नै रहने स्थिति बन्यो नि त।

तर अघिल्लो सरकारबाट जसलाई कायममुकायम प्रधानसेनापति बनाइयो, उनले त प्रष्ट रुपमै म कायममुकायम प्रधानसेनापति हुँ भनेर अन्तर्वार्ता दिइरहेका छन्।

मन्त्रिपरिषदले पूर्णता प्राप्त गरेपछि पार्टीहरुबीचको सहमतिको आधारमा त्यो सबै कुराको टुंगो लगाउनेछौँ। हिजोको सरकारले सहमति बिना सेनापति हटाएकाले हामीले त्यसमा आपत्ती गरेका हौं। संयुक्त सरकारका अन्य घटकहरुले बारम्बार विरोध गरिरहँदा पनि एकतर्फी र एकलौटी रुपमा जाने तरिका उचित हुँदैन भन्ने हाम्रो त्यतिखेरको धारणा हो।

राष्ट्रको नाममा सम्बोधन गर्दा पनि तपाइँले सहमति र सहकार्य पहिलो प्राथमिकता हुने भन्नु भाथ्यो। त्यसको आधार चाहीं के?

त्यसको आवश्यकताको आधार त तपाइँलाई थाहा छँदैछ। पहिलो आधार भनेको शान्तिप्रकृयालाई निष्कर्षमा पुर्‍याउने हो। दोश्रो, संविधान निर्माण गर्ने कार्य निर्धारित समयभित्र सम्पन्न गर्नु हो। यो आवश्यकतालाई ध्यानमा राखेर मिलेर अघि बढ्ने कुराको विकल्प छैन।

मैले आधार सोधेको कारण के भने संसदको त्यत्रो ठूलो दल माओवादीले तपाइँको सरकारलाई सहयोग गर्दैनौं भनेर प्रष्ट रुपमा भनिसक्या छ।

हैन, उहाँहरु राजिनामा दिएर गैसकेपछि गर्ने के हामीले? राजिनामा उहाँहरुले आफै गर्नुभयो।

तर उहाँहरुले राष्ट्रपतिको कदम सच्याएपछि मात्र सहमतिको प्रकृया अगाडी बढ्नसक्छ भन्नु भा'छ।

ल उहाँहरुलाई त्यस्तो लाग्यो अरुलाई लागेन रे, गर्ने के त? त्यसो हुनाले उहाँहरुलाई लाग्ने वित्तिकै अरु सबैले त्यही मान्नै पर्ने त्यस्तो ढीठपन राख्नुहुँदैन।

अब ढीठपन राखि राखि तपाइँहरुलाई घिसारेर यहाँसम्म ल्याइदिनुभयो उहाँहरुले।

हैन, हामीले घिसारेर पनि त ल्याए हौला। उहाँहरुले ल्याउनु भो कि हामीले ल्यायौं ? दिल्लीमा पुगेर हामीले ल्यायौं, रोल्पा पुगेर ल्यायौंकी भन्ने कुराहरु पनि छन्। त्यसकारण त्यो कुरा छोडदिउँ। एकअर्काले परिस्थितिको गम्भिरतालाई महसुस गरेर, आवश्यकतालाई महसुस गरेर सहकार्य गर्दै हामी यो विन्दूमा आइपुगेका हौं।

माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले हामीलाई दिएको अन्तर्वार्तामा शन्तिप्रकृया र संवैधानिक प्रकृया दुबै भंग भैसक्यो भनेका छन्। अब के गर्नुहुन्छ?

उहाँहरुको आधिकारीक धारणा त्यस्तो हो जस्तो मैले सुनेको छैन। संसदभित्र र निर्वाचनको प्रकृयामा प्रवेश गरिसकेका पार्टीहरुले के बुझ्नुपर्छ भने तपाई संख्यामा कम हुनु भयो भने त्यसलाई तपाईले स्वीकार गर्नुपर्छ। तपाईँ (माओवादी) संग त जम्मा २३८ मात्र मत छ। अर्कोले त ३५९ मत प्राप्त गरेको छ।

तपाईले ३५९ मतका साथ सहज महसुस गरिरहनुभएको छ अहिले?

सहज छु। किन सहज नहुनु, संसदमा सबैले बोलेको सुन्नु भएन तपाइँले?

सबैले बोलेको त सुनियो। तर के पनि भनिदैछ भने, तपाई दुईदुई ठाउँबाट चुनाव हारेको मान्छे। महासचिवबाट राजिनामा दिएको मान्छे। एक वर्ष पनि नबित्दै अर्को दलको सभापतिले प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेर अगाडि ल्याए। तपाईंलाई अप्ठेरो लागेको छैन, त्यो कुरा?

यो नेपालमा धेरै मान्छे छन्। अरु कसैलाई अरु पार्टीका नेताबाट प्रधानमन्त्रीको प्रस्ताव जानु नपर्ने। तपाइँलाई नै गर्नुको पछाडी केही होला कारण? सबै पार्टीले तपाइँको आवश्यकता महसुस गर्ने भनेपछि त्यसको पछाडी कुनै कारण त होला नि! यसको मतलब तपाइँको त्यहाँ खाँचो छ। तपाइँ भूमिका खेल्नका लागि उपयुक्त देखिनुभएको छ। नभए मैले हुन्न-हुन्न भन्ने अरुले आउनु पर्छ-पर्छ भन्ने स्थिति बनेको होइन? अनि आफूलाई आवश्यकता पर्दाखेरी संविधानसभामा हारेको मान्छेले संविधान बनाउनको निम्ति ‘फिट’ हुन पुग्ने। अनि रिस उठ्दा खेरी त्यो कुरो उल्टाउन खोज्ने प्रवृत्ति उपयुक्त होला? आखिरमा संविधानसभामा हारेको मान्छेलाई संविधान बनाउन अनुपयुक्त न ठान्नु पर्ने होइन र? मैले संविधानसभा सदस्यमा मनोनित हुन नमानिसके पछि चिठ्ठी लेखि लेखिकन उहाँ (माओवादी अध्यक्ष प्रचण्ड) ले पठाउनु भयो। मसंग तीनतीन घण्टा कुरा गर्नु भयो। म आफै हात जोडेर विन्ती गर्दै अरुको पछाडी पछाडी कुदेर मैले कुनै पनि पद मागेको होइन। यतिकुरा त बुझ्नुपर्छ।

तर प्रचण्डले अमृत रोपेको भन्ठानेको विषबृक्ष पो परेछ भनेका छन् नि!

रिसमा त्यस्तो अभिव्यक्ती हुन्छन्। के गर्ने? रिसमा मन्छेले विवेक गुमाउँछ।

तर प्रधानमन्त्री हुन अरुले बल गरे भन्दैमा मै बन्छु भन्नु भन्दा तपाइँहरुले गल्ती गरिहाल्नु भयो तपाईहरुको संख्या यत्रो ठूलो छ। शान्तिप्रकृया फेरी संकटमा पर्ला तपाईहरुले राजिनामा दिएपनि तपाइँहरु नै बस्नोस भन्न सकिन्थ्यो कि सकिन्थेन?

त्यो कस्तो मूर्ख पार्टी होला? साराले एमालेको आवश्यकता महसुस गर्ने अनि एमाले त्यस्तो लाछि पार्टी होला जल्ले चाँही हामी तिमीहरुको दास बन्न मात्र योग्य छौं, अरुको अधीनमा बस्न योग्य छौं
। नेतृत्व गर्न हामी अयोग्य छौं भन्न सक्छ? अनि ति नेताहरु म कहाँ आउने, हामी चाहीँ खुट्टा कमाएर भाग्ने?

माधव नेपालालाई पनि परालको खुट्टा भाको नेता भनेर टीप्पणी त भाहोनी।

त्यो त व्यवहारले देखिन्छ। परालको खुट्टा होइन। अनुचित कुरासंग सम्झौता नगर्ने, विवेकलाई बन्दकी नराख्ने, आस्थालाई बन्दकी नराख्ने, स्वाभिमानलाई बन्दकी नराख्ने मान्छे हो माधव नेपाल। जल्ले-जल्ले माधव नेपाललाई चिन्छदन यति कुरा सबैलाई थाहा छ। अरुलाई अपमान पनि नगर्ने अपमान पनि नसहने र कसैका सामू नझुक्ने चरित्रको मान्छे हो भन्ने कुरा सबैलाई थाहा छ।

तर तपाइँले सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाउँदा आफ्नो पार्टी अध्यक्ष झलनाथ खनालको दवावमा बनाउनु भा'हो?

छैन, छैन। मैले आवश्यकता महसुस गरेर ल्याएको हो।

तर समाजशास्त्रमा स्नातकोत्तर गर्‍या मान्छेलाई अर्थमन्त्री बनाउने आवश्यकता कसरी महसुस गर्नुभयो?

हैन, अहिले सप्पै व्यवस्था भनेको अस्थाई मात्र हुन्।

मन्त्रिपरिषद विस्तार हुँदा परिवर्तन हुनसक्छ?

मैले अरु पार्टीका मित्रहरुलाई भनिसक्या'छु। अहिलेको व्यवस्था अस्थाई हो। त्यो कुरा मैले मन्त्रीहरुलाई पनि भनिसक्या'छु।

तपाइँले राष्ट्रको नाममा सम्बोधन गर्दाखेरी हामीसंग सामाजीक आर्थिक रुपान्तरणको कार्यक्रम छ भन्नुभयो। के छ?

हामीले साझा न्युनतम कार्यक्रम पार्टीहरुबीचको छलफलमा लगिरहेका छौं। त्यसलाई नै आधार बनाएर आगामी सरकार चल्नेछ।

प्रधानमन्त्रीको रुपमा तपाइँको प्रमुख तीनवटा प्राथमिकता के-के छन्?

शान्तिप्रकृयालाई सकारात्मक निष्कर्षमा पुर्‍याउने। नयाँ संविधान समयभित्र निर्माण गर्ने। तेश्रो जनताका समस्यहरुलाई, जनतासंग सरोकार राख्ने विषय वस्तुहरुलाई समुचित रुपमा सम्बोधन गर्ने।

प्रचण्ड प्रधानमन्त्री बन्दाखेरी उनले यसै भनेका थिए। ठ्याक्कै यही कुरा नै हो। उनी नौ महिनामै गए। तपाइँ कति टिक्नु होला?

मलाई समर्थन गर्ने पार्टीहरुको प्रतिवद्धताको कुरा गर्ने हो भने, नयाँ संविधान निर्माण गर्ने काम सम्पन्न नहुँदासम्म र आगामी चुनाव गरी नयाँ सरकारलाई अभिभारा नसुम्पेसम्म यो सरकार रहने छ।

माओवादीहरुलाई विश्वासमा लिने तपाइँको रणनीति चाँही के हुन्छ?

विश्वासमा लिनका लागि लचिलो र मिठो व्यवहार। राम्रो काम र उहाँहरुको संवेदनशिलतालाई मध्यनजर राख्ने कुराहरु।

पहिले गिरिजाप्रसाद कोइरालाले शान्ति प्रकृया भंग नहोस् भन्नका लागि जल्ले जे मागे पनि दिईदिए भन्ने आलोचना पनि सुनियो। त्यसक्रममा तराईका दलहरुसंग ८ बुँदे सहमति भयो। जसमा समग्र मधेस स्वायत्त प्रदेश परेको छ। तपाइँ त्यसलाई कार्यान्वयन गर्नुहुन्छ?

त्यसमा के लेखिएको छ भन्ने कुरा तपाइँले राम्ररी पढे हुन्छ।

‘स्वयत्त मधेस प्रदेश’ लेखिएको छ।

त्यसको के अर्थ लाग्छ भन्ने कुरा छलफलको विषय हो।

हैन, हरेक पल्ट प्रधानमन्त्री बन्ने अनि थुम्थुम्याउनका लागि त्यस्ता शब्दावली प्रयोग गरिदिने। जुन पछि गएर छलफल पनि हुनसक्छ, विवादास्पद पनि हुनसक्छ।

उहाँ (मधेसी नेता) हरुले पनि त्यसबारे छलफल गरौंला भन्नु भा’छ। मूख्य कुरा के हो भने मधेसको भावनालाई सम्बोधन गर्ने। नेपालमा रहेका सबै वर्ग र तहका जनताको समेत भावनालाई सम्बोधन गर्ने।

तर त्यो कसरी गर्ने भन्ने तपाइँको सोचाई र मधेसका नेताहरुको सोचाईमा धेरै ठूलो अन्तर छ।

त्यहीँ त सामञ्जस्य सृजना गर्नु छ। यदि सबैथोक भैदिए त नेतृत्वको किन आवश्यकता पर्थ्यो र? यस्ता जटीलता फूकाउन नै कुशल नेतृत्वको आवश्यकता पर्छ।

तर संविधान लेख्नको लागि माओवादी सेना समायोजको लागि शान्तिप्रकृयालाई निस्कर्षमा पुर्‍याउनका लागि तपाइँलाई कुर्सीमा बसिरहनु पर्ने आवश्यकता छ। उनीहरुले भनेजस्तो नगर्‍यो भने उनीहरु सरकारबाट बाहिरिदेलान र कुर्सी जाला। अनि तपाइँले लिएको उद्देश्य पुरा नहोला नि?

मलाई त्यस्तो लाग्दैन। राजनीतिमा कहिले काहीँ सार्वजनिक रुपमा भिन्दै कुरा गर्नुपर्ने हुन्छ। कहिले काँही परिस्थितिको बाध्यता र सीमाका कुराहरु पनि हुन्छन्।

तपाइँलाई भित्रै मनदेखि सबै जिम्मेवारी पुरा गर्न सक्छु जस्तो लाग्या छ?

हामीले नगरेर कल्ले गर्छ भन्नुस न? कुनै अर्को लोकबाट आउने मान्छेले गर्ला भन्ने सोँच्न सकिन्छ?

तर तपाइँहरुको पुस्ताको नेतृत्वप्रति नै धेरै ठूलो अविश्वास सृजना भैसक्यो नि।

अविश्वास भएको भए राजतन्त्र जान्थ्यो? जनता समून्द्रको भेल जस्तै उर्लिन्थे? कसैले कल्पना गरेको थियो नेपालमा यति छिटो संघात्मक व्यवस्थाको स्थापना होला भन्ने?

त्यो सप्पै माओवादीले गर्‍या जस्तो लाग्दैन?

सप्पै थोक उनीहरुले गर्देको भए, अरु सप्पै हातमा लड्डू लिएर बसेका थिए त? जेलमा पर्ने अरु, कुटाई खाने अरु, पिटाई खाने अरु।

सप्पैको भूमिका छ। माओवादीको पनि भूमिका छ। जति भूमिका उहाँहरुले खेल्नु भा'को छ त्यसको निम्ति उहाँहरुलाई पनि धन्यवाद छ।

तर गणतन्त्र, संघीयता उत्पीडनमा परेका जनतालाई अगाडी ल्याउने कुरा। यो सप्पै कुरामा त माओवादीले सबैलाई तानेर लेरआ' हो नि!

त्यो त सप्पै पुष्पलाल श्रेष्ठले नै ल्याउनु भएको हो। २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना हुँदाखेरी नै घोषणापत्रमा ती सप्पै कुराहरु परिसकेका थिए।

२००६ सालदेखि २०६६ सालसम्म तपाईँहरु विफल हुनु भयो। माओवादीहरुले १० वर्षमै पुरा गरिदिए।

त्यो त के गर्नु हुन्छ, राजा ज्ञानेन्द्रले सबै परिस्थिति सृजना गरिदिए। जसरी अहिले म सरकारमा जाँदाखेरी पुष्पकमल दाहाललाई धन्यवाद दिनु पर्छ त्यसैगरी गणतन्त्र ल्याउनका लागि (पूर्वराजा) ज्ञानेन्द्रलाई नै धन्यवाद दिनु पर्छ।

ज्ञानेन्द्रलाई धन्यवाद दिनु पर्छ कि भारतलाई?

हैन, नेपाली जनतालाई। भूमिकाको हिसावले भन्नुहुन्छ भने, मुख्यत नेपाली जनताले खेलेको भूमिका हो। अन्तराष्ट्रिय समूदायलाई पनि धन्यवाद दिनै पर्छ। उनीहरुले नेपाली जनताको भावनाको कदर नगरेको भए धेरै गाह्रो बाटोबाट अगाडी बढ्नु पर्ने थियो। तर, जनता प्रतिवद्ध नभएको भए अन्तराष्ट्रिय समूदायले पनि साथ दिने थिएन।

गिरिजाप्रसाद कोइराला र प्रचण्डमाथि लागि राखेको निरन्तरको एउटा आरोप के भन्देखि उनीहरु दुबै जनाले विदेशी राजदूतहरुलाई खासगरी भारतीय राजदूतलाई धेरै नै बारम्वार जहाँ भन्यो त्यहीँ पहुँच दिए। अब तपाइँ के गर्नु हुन्छ?

मैले सबैसंग सुमधुर सम्बन्ध राख्ने छु। आवश्यक मात्रामा नेपाल राष्ट्रको मर्यादामा आँच नपुग्ने गरी सबैसंग समुचित सम्वन्ध राख्नेछु।

तर राजदूतहरुले प्रधानमन्त्रीलाई भेट्ने एउटा प्रकृया निर्धारण गर्ने आवश्यकता छ कि छैन?

अब त्यो हाम्रो प्राथमिकतमा पर्छ कि संविधान निर्माण गर्ने काम र शान्तिप्रकृयालाई एउटा निस्कर्षमा पुर्‍याउने काम प्राथमिकतामा पर्छ? म के ठान्दछु भने, म आफ्नो र नेपालीको बुद्धि, विवेक, क्षमतामा विश्वास गर्छु। म विदेशी कुराको नक्कल गर्ने वा विदेशीको पछि लाग्ने पक्षमा पनि छैन।

तर विगतमा संकट पर्दाखेरी हप्तामा तीन-चारचोटी भारतीय राजदूतले प्रधानमन्त्रीलाई भेटेको त हो नि!

अब प्रधानमन्त्रीसंग भेटेको हो कि, प्रधानमन्त्री हुने मान्छेहरु राजदूत कहाँ धाएका हुन् कि, यी विगतका कुराहरु हुन्। अब हामीहरुले सबै चिजलाई सन्तुलित ढंगले अगाडी बढाएर लानुपर्छ।

तपाइँ तयार हुनुहुन्छ, कुनै पनि देशको राजदूतले तपाइँलाई भेट्न चाह्‍यो भने तिमी परराष्ट्र मन्त्रालय मार्फत म कहाँ आउ भन्न?

यो संक्रमणकालीन अवस्थामा यी धेरै कुराहरुमा मलाई वाचा गर्न नलगाउनुस्। म एकल बहुमतको प्रधानमन्त्री हुँदाको अभिव्यक्तिहरु र अहिले संक्रमणकालीन अवस्थाको अभिव्यक्तिमा केही फरक त पक्कै पनि हुन्छ। मैले यो झूठो कुराहरु ढाँटकुराहरु गरेर चल्ने होइन। तर म नेपाली स्वाभिमान र मर्यादालाई आँच पुग्ने ढंगबाट अगाडी बढ्नेछैन।

तर संक्रमणकालका निर्णयहरुलाई नै अरुले प्रभावित गर्‍यो भन्ने कुरा धेरैले मान्या कुरा हो नि!

हैन-हैन। मैले भने नि, हामीले आफ्नो निर्णय आफै गर्ने हो। त्यसमा पनि माधव नेपाल त्यो भन्दा भिन्न ढंगले चल्दैन। यति म तपाइँहरुलाई विश्वास दिलाउन चाहन्छु।

अब नयाँ प्रधानमन्त्री आएको फरक नेपालीले कसरी महसुस गर्ने?

कामबाट। म प्रधानमन्त्री भएकै बेला काठमाण्डूमा फोहर थुप्रिएको देखियो। मैले काठमाण्डूको फोहरको समस्या तुरुन्त हल गर्न निर्देशन दिँए। समस्या तुरुन्तै सुल्झियो।

सपथ ग्रहण गरेर फर्किँदा खेरी मैले बाटोमा एकजना बुढी आमासंग प्रहरीले गरेको व्यवहार देखें। मैले त्यस्तो व्यवहार तुरुन्तै रोक्न त्यही दिन बेलुका प्रहरीका प्रमुखहरुलाई निर्देशन दिएं।

त्यस्तै पत्रकारहरुलाई पनि धकेला धकेल गरेको मैले देखें। त्यही कुरा विस्तारै गर्न सकिन्छ। सम्झाउन सकिन्छ।

त्यस्तै पूर्वी नेपालमा वर्षातको कारणले राजमार्ग फेरी बगाउने स्थिति छ। त्यसमा आवश्यक सहयोग गर्न निर्देशन दिएको छु।

काठमाण्डूको ट्राफिक जाम सुल्झाउन ध्यान दिएको छु। लोडसेडिङको समस्यालाई अन्तरिम रुपमा हल गर्न सकिन्छ भन्ने उपायको बारेमा ध्यान दिइरहेको छु।

भिमसेन थापाले आफ्नो समयमा धरहरा बनाएका थिए। चन्द्र शमसेरले आफ्नो पालामा घण्टाघर बनाएक थिए। तर त्यस पछि हामीले दुनियालाई देखाउने खालको केही बनाउन सकेका छैनौ।

म गणतन्त्रको प्रतिकको रुपमा काठमाण्डूको मुटु रत्पार्कमा स्तम्भ राख्न चाहिरहेको छु।

त्यो महत्वपूर्ण होला कि गरिव जनताले चिनी, चामल, दाल सस्तोमा पाउनु?

राजनीतिक कोणबाट हेर्दा एउटा, आर्थिक कोणबाट हेर्दा दोश्रो कुरा हुन्छ। अहिलेको आवश्यकता हेर्नु हुन्छ भने संविधान बनाउने कुरा हुन्छ। तर तपाइँ काम त गर्नुस। पैसा जम्मा गर्नु भा’को छ, परिचालन गर्नुहुन्न। पुल बनाउनुस, बाटो बनाउनुस, घर बनाउनुस, स्तम्भ बनाउनुस, संग्राहलय बनाउनुस। केही त केही गर्नुस। हामी त्यो गर्न चाहन्छौँ।

माओवादीहरुले बेस्कन पैसा जम्मा गरिदिएका छन्। केही त गर्नु हुन्छ होला त्यो पैसाले?

गर्‍या छन् भने जस्ले जति भूमिका खेलेको छ, उसलाई धन्यवाद दिनै पर्छ।

अनि तपाईँले माओवादीहरुले गरेका सकारात्मक कामलाई यो सरकारले निरन्तरता दिन्छ पनि भन्नु’भो। मूल रुपमा कुन-कुन सकारात्मक काम?

राजस्व संकल गरेको कुराको अहिले चर्चा गर्नैपर्छ। २०५१ सालमा प्रधानमन्त्री मनमोहन अधिकारी र अर्थमन्त्री भरतमोहन अधिकारी हुँदाखेरी पनि हामीले महिनामै लक्ष्य भन्दा धेरै बढी राजस्व उठाएका थियौँ। हाम्रो पालामा पनि राजस्व वृद्धिको प्रतिशत अत्यन्तै उच्च थियो।

प्रधानमन्त्री ज्यू, अन्त्यमा यहाँलाई नेपालीलाई भन्नै मन लागेको कुरा त्यस्तो केही छ?

यो देश नेपाल हामी सबैको साझा थलो हो। यो देशलाई सुन्दर सम्पन्न बनाउने सप्पैको साझा दायित्व हो। यसका निम्ति सप्पै राजनीतिक दलहरु र आम नागरिकमा जिम्मेवारी बोधको भावना हुनु पर्दछ। र, सबै राजनीतिक दलहरुमा अपेक्षित सदबुद्धि पनि चाहियो। नेपाललाई हामी संसारको सुन्दर देशको रुपमा उभ्याउन सक्नेछौँ।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>