गहिरिँदै गएको राजनीतिक संकटका माझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परामर्शलाई तीव्र बनाएका छन्।
सोमवार विहान सत्ता साझेदार नेकपा एमाले र नेकपा माओवादीका वरिष्ठ नेताहरु बीचको छलफलपछि प्रधानमन्त्रीले राष्ट्रप्रमुख डा.रामबरण यादव र प्रमुख विपक्षी दलका नेता गिरिजाप्रसाद कोइरालासंग भेटघाट गरेका थिए।
संविधानसभा व्यवस्थापिका संसद अवरुद्ध भई राजनीतिक प्रकृया अगाडि बढ्न नसकेको बेला प्रधानमन्त्री प्रचण्डको सरकारसामु पशुपतिनाथ मन्दिरको पुजारी प्रकरण र नेपाली सेनाको भर्ती मुद्धा गम्भीर समस्याको रुपमा प्रकट भएका छन्।
दुवै नेताहरुसंगको छलफलको केन्द्रिय विषय पनि यिनै थिए।
कोइरालासंगको भेटबारे प्रधानमन्त्रीको भनाई थियो, "मैले गिरिजाबाबुसंग बेलाबेला समयसामयिक विषयमा सल्लाह लिने गरेको छु। यो भेट त्यसकै एउटा कडी हो।"
ध्यानाकर्षण
छलफलबारे थप प्रष्ट पार्दै नेपाली कांग्रेसका नेता डा रामशरण महतले भने, "पशुपतिनाथ मन्दिर र सेना सम्बन्धी विवाद, विगतका सहमति कार्यान्वय र संसदमा देखिएको गतिरोधबारे सभापतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भयो।"
सरकारले नेपाली सेनाले शुरु गरेको भर्ना प्रक्रिया रोक्न आदेश दिएको छ।
तर सेनाले अघिल्लो सरकारको पालामा रिक्त पदपूर्ती गरिएको र त्यो नियमित प्रकृया भएको बताउँदै नरोकिने अडान देखाएपछि विवाद गम्भिर बन्दै गएको देखिन्छ।
सेनाका परमसेनाधिपति समेत रहेका राष्ट्रपति यादवले त्यो विवाद जतिसक्दो चाँडो अन्त्य गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको बताइएको छ।
बीबीसी नेपाली सेवासित कुरा गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने, "राष्ट्रिय राजनीति, धार्मिक विश्वास आस्था, अदालतको आदेशको पालना, सेनाको भर्ती प्रक्रिया आदि विषयमा कुराकानी भएको थियो।"
उनले देश विदेशबाट पशुपतिनाथ सम्बन्धी विवादबारे चासो र चिन्ता व्यक्त भएको बताउँदै त्यसबारे पनि राष्ट्रपतिले सरकारको धारणा बुझ्ने प्रयास गरेको जनाए।
उनका अनुसार फरक फरक पृष्ठभूमिका मुद्दा राष्ट्रिय विवादको केन्द्रमा एकसाथ प्रकट हुन थालेपछि राष्ट्रप्रमुख यादवले छलफलको निम्ति प्रधानमन्त्रीलाई आफ्नो कार्यालयमा डाकेका हुन्।