04 जनवरी, 2009 15:24 GMT सम्मका समाचारहरु
माओवादी नेतृत्वको सरकारले पशुपतिनाथको मन्दिरमा गए साता गरिएको नयाँ पुजारीहरुको नियुक्तिको बचाउ गरेको छ।
तर सो नियुक्ति परंपरा र रितिस्थिति विपरित भएको भन्दै त्यस्को विरोध हुने क्रम रोकिएको छैन।
चार दिनअघि सर्वोच्च अदालतले पशुपतिमा पुरानै रिति अनुसार पुजा गराउने अन्तरिम आदेश जारि गरेको थियो।
तर आइतबार सो आदेशको लिखत प्राप्त गरेको बताउने पशुपति क्षेत्र बिकास कोषले सर्वोच्च अदालत समक्ष नयाँ पुजारी नियुक्तिको बचाउ गर्ने भएको छ।
पशुपतिनाथको मन्दिरमा भएको नयाँ पुजारी नियुक्तिलाई कतिपयले राजनीतिक भनेका छन् त कतिपयले गैरसांस्कृतीक भनेका छन्।
सो विवाद अहिले छिमेकी भारतमा पनि समाचार बनिसकेको छ।
तर नेकपा माओवादी नेतृत्वको सरकार, भारतीय पुजारीहरुको राजीनामापछि नेपाली पुजारीहरु नियुक्त गर्ने निर्णयप्रति अडिग देखिएको छ।
सर्वोच्च अदालतबाट पुरानै पुजारीहरुबाट पुजा गराउनु भन्ने आदेश पाएको पशुपति क्षेत्र विकास कोष अब निर्णयको बचाउमा उत्रिने भएको छ।
कोषका कोषाध्यक्ष गणेश अधिकारीका अनुसार कोषका अधिकारीहरु नियुक्तिको बचाउ गर्दै सोमबार सर्वोच्च अदालतमा अर्को मुद्दा दायर गर्ने तयारीमा छन्।
‘नयाँ पशुपतिनाथ’
एउटा साक्षात्कार कार्यक्रममा संवाददाताहरु माझ संस्कृतीमन्त्री गोपाल किराँतीले, उनकै शव्दमा, नयाँ नेपालमा नयाँ पशुपतिनाथ बनाउन आफूहरु लागिपरेको बताए।
नयाँ पुजारीहरुको नियुक्तिले पशुपतिनाथको परंपरा र रिति मिचिएको भन्दै आपत्ति जनाउनेहरुको सूचीमा पूर्वराजा ज्ञानेन्द्र शाहदेखि भारतीय जनता पार्टीसम्म थपिएका छन्।
तर आइतबार साना दलहरुसँगको एउटा बैठकमा कोषका संरक्षक समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिमा नेपाली पुजारीहरु नियुक्त गर्दा राजनीतिकरण नगरिएको बताएको सहभागीहरुको भनाइ छ।
तर सो नियुक्तिप्रति विरोधका स्वरहरु साम्य नभएको पछिल्लो प्रमाण हो, पशुपति मन्दिर नजिकै आइतबार साँझ भएको कुटपिटको घटना।
पत्रकारहरु सामु उभिएर प्रेस वक्तब्य पढ्न लागेका पशुपतिका रुष्ट भण्डारीहरुलाई अचानक युवाहरुको एक जमातले हमला गरेको थियो।
त्यहाँ अन्धाधुन्ध कुटपिट र मुक्का आक्रमणमा केही स्थानीय मानिस घाइते भएको मन्दिरका एकजना भण्डारी कबिन्द्र राजभण्डारीले बताए।
उनले सो आक्रमण माओवादी सम्बद्ध वाइसीएलका युवाहरुले गरेको बताए पनि वाइसीएलका नेताहरुले सो घटनामा आफ्ना सदस्यहरु सामेल नभएको
दावी गरेका छन्।