http://www.nepali.com

30 डिसेम्बर, 2008 11:12 GMT सम्मका समाचारहरु

परिचय

भाषा आधारभूत सञ्चार माध्यम हो। छापा र विद्युतीय भन्ने प्राविधिक वर्गीकरण मात्र हो, सञ्चारको वास्तविक माध्यम त भाषा नै हो ― चाहे लेखियोस् वा बोलियोस्।

भाषाको यही महत्वलाई ध्यानमा राखेर बीबीसी पत्रकारिता पाठशाला (BBC College of Journalism) ले बीबीसी विश्व सेवाका भाषा शाखाहरुका लागि पत्रकारितामा भाषाको प्रयोगका बारे विशेष सामाग्रीहरू तयार गर्ने निधो गरेको हो।

नेपाली सेवाको वेबसाइटको यो खण्डमा प्रस्तुत सामाग्रीमा समाचार लेखनका संपादकीय पक्षहरू भन्दा पनि भाषागत पक्षहरुका बारे चर्चा गरिएको छ।

यहाँ प्रस्तुत सामग्री हाम्रो भाषा पुस्तकका लेखक पत्रकार तथा भाषाविद् शरदचन्द्र वस्तीको सहयोगमा तयार पारिएको हो।

बीबीसी पत्रकारिता पाठशाला तथा विश्व सेवा दक्षीण एशियाली भाषाहरू नेपाली, बंगाली, हिन्दी, तामिल, सिंहल र उर्दुमा पत्रकारितामा भाषाको प्रयोगका बारे विशेष सामाग्रीहरू प्रस्तुत गर्न पाएकोमा गर्व गर्दछ।

दक्षीण एशियाली लगायत १९ वटा भाषाहरूमा बीबीसीले यस्ता सामाग्रीहरू सार्वजनिक गरिसकेको छ।

बीबीसीका पत्रकारहरुको लामो अनुभव र विशेषज्ञता तथा विज्ञहरुको सहयोगमा तयार पारिएका यी सहायक सामाग्रीहरु सन्सारभरीका नेपालीभाषी पत्रकारहरूसँग बाँड्न पाउंदा हामीलाई खुशी लागेको छ।

यो हाम्रो प्रयासको एउटा प्रारम्भिक कदम मात्र हो।

यी पृष्ठहरुमा थप सामग्रीहरू प्रस्तुत गर्ने हाम्रो प्रयास जारी रहने छ।