http://www.nepali.com

04 डिसेम्बर, 2008 16:18 GMT सम्मका समाचारहरु

माधवकुमार नेपालद्धारा संयन्त्रमा बस्न अस्वीकार

संयुक्त सरकारको दोश्रो ठूलो दल नेकपा एमालेका एकजना प्रभावशाली नेताले सरकारलाई सहयोग गर्न गठित सत्ताधारी दलहरु सम्मिलित उच्चस्तरीय संयन्त्रमा बस्न अस्वीकार गरेका छन्।

बिहीबार पश्चिम नेपालको जुम्लामा आयोजित एक कार्यक्रममा बोल्दै भूतपूर्व महासचिव माधवकुमार नेपालले विदेश गएको बेला सल्लाहनै नगरी आफुलाई संयन्त्रमा राखिएको बताए।

"प्रधानमन्त्री नै नबसेको समिति बनेको छ। मेरो नाम पनि त्यसमा छ रे," नेता नेपालले व्यंग्यात्मक शैलीमा भने।

उनले प्रधानमन्त्री नबसेको समितिमा आफ्नो पार्टीले पनि त्यही स्तरको सहभागिता जनाउने उल्लेख गरे।

उनको यो भनाइले औपचारिक रुपमा काम थालेकै दिन उक्त संयन्त्रको भविष्यमाथि प्रश्न उठेको छ।

१२ सदस्यीय उक्त संयन्त्रको बिहीबार बसेको पहिलो बैठकले आफ्नो कार्यविधि तय गरेको थियो।

उक्त संयन्त्रको संयोजकका रुपमा प्रचारित नेकपा एमालेका पूर्व महासचिव माधवकुमार नेपाल विदेश भ्रमणबाट बुधबारमात्रै स्वदेश फर्केका थिए।

तर उन बिहीबारको बैठकमा उपस्थित भएनन्।

पार्टीको पूर्वनिर्धारित काम भन्दै नेता नेपाल बिहीबार बिहानै पश्चिम नेपालको जुम्ला पुगेका थिए।

'अर्थहीन'

त्यसैगरी सत्ताधारी ६ दलले बुधबार गठन गरेको राजनीतिक संयन्त्रलाई विपक्षी दलका नेताहरुले अर्थहीन भनेका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता अर्जुननरसिंह केसीले मन्त्रिपरिषदमै रहेका दलहरुको प्रतिनिधित्व भएको उक्त संयन्त्रको तात्विक महत्व र अर्थ नभएको बताए।

विगतमा सरकारको नेतृत्व गर्ने दल र त्यसमाथि पनि प्रधानमन्त्रीको व्यवहारलाई ईंगित गर्दै नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले यस्तो संयन्त्रले दिने निर्देशनलाई सरकारको नेतृत्वले मान्ने ग्यारेण्टी नभएको वताए।

"प्रचण्डजीले संयन्त्रको कुरा मान्नु हुन्न। मन्त्रिपरिषदभन्दा यो ठूलो होइन," बिजुक्छेले भने।

कांग्रेस नेता केसीले संयन्त्र गठनलाई केवल सरकारको कमी-कमजोरी ढाकछोप गर्ने अभ्यास मात्र भएको बताए।

नेकपा एमालेकातर्फबाट सो संयन्त्रमा मनोनीत सदस्य सुरेन्द्र पाण्डेले भने संयन्त्रले सरकार सञ्चालनमा देखिने गरेका समस्या समाधान हुने दावी गरे।