http://www.nepali.com

03 डिसेम्बर, 2008 15:44 GMT सम्मका समाचारहरु

मधेसी फोरमद्वारा सरकार त्याग्ने चेतावनी

सरकारमा सहभागी मधेसी जनअधिकार फोरमले विभिन्न मागहरु राख्दै ती पुरा नभए सरकार छाड्ने चेतावनी दिएको छ।

सरकार सञ्चालनको निम्ति सत्ताधारी दलहरूको उच्च राजनीतिक संयन्त्र गठन भएकै बेला संयुक्त सरकारको तेश्रो ठूलो दलको उक्त चेतावनी आएको हो।

सरकार गठन भएको झण्डै चार महिनामा सत्ताधारी दलहरुले बुधबार सरकार सञ्चालनका निम्ति उच्च राजनीतिक संयन्त्र गठन गरेका थिए।

तर सरकारकै तेश्रो ठूलो दल मधेसी जनअधिकार फोरमले सरकार समक्ष विभिन्न मागहरु राख्दै सरकारको नेतृत्वकर्ता पार्टी माओवादीमाथि दबाब बढाएको छ।

फोरमका नेताहरुले आफ्ना मागहरु समेटिएको ज्ञापनपत्र गृहमन्त्री बामदेव गौतमलाई बुझाएका छन्।

राजनीतिक संयन्त्रमा रहेका फोरमका नेता शरतसिंह भण्डारीका अनुसार बेपत्ता पारिएका फोरमको युवा संगठनका उपत्यका प्रमुख जितेन्द्र साहको मुक्ति र सिराहामा माओवादीको अगुवाइमा कब्जा जग्गा विवाद लगायतका विषय मागको रुपमा उठाइएको छ।

आरोप

फोरमले साहलाई माओवादी युवा संगठन वाईसिएलले महिनौं अघि अपहरण गरि बेपत्ता पारेको आरोप लगाउँदै आएको छ।

नेता भण्डारीले ती कामहरु सत्ताधारी दलहरुको न्युनतम साझा कार्यक्रम विपरित भएको बताए।

त्यसको समयबद्ध पालना र कार्यान्वयमा जोड दिँदै उनले चेतावनीपूर्ण शैलीमा भने, "अन्यथा सरकारमा बसिरहने औचित्य रहदैन।"

तर फोरमले ती मागहरु पुरा गराउन सरकारलाई कुनै समय-सीमा दिएको छैन।

गतवर्ष फोरमसंगै मधेस आन्दोलन गरेको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले भने गएको सोमबार सरकार प्रमुखलाई भेटेर विगतका सहमति कार्यान्वयन गर्न महिना दिनको हदम्याद दिएको थियो।

तमलोपाका नेताहरुले सोमवार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) संगको भेटमा सहमति कार्यान्वयन नगरिए श्रृँखलाबद्ध आन्दोलन गर्ने चेतावनी दिएका थिए।

संविधानसभाको चुनावबाट नयाँ राजनीतिक शक्तिको रुपमा उदाएपछि तराईमा मधेसी दलहरुको बलियो पकड देखिएको छ।

उनीहरुलाई सन्तुष्ट पार्न नसक्दा तराईमा हुनसक्ने आन्दोलनले सरकार र संविधान निर्माणलाई अप्ठेरोमा पारिदिनसक्ने विश्लेषकहरु बताउँछन्।