BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
30 डिसेम्बर, 2008 13:17 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
शब्दाडम्बर
 
बीबीसी पत्रकारिता भाषा पाठशाला

पत्रपत्रिका

नचाहिने शब्दको भारी वाक्यलाई कहिल्यै नबोकाउनुहोस्। त्यसले भनाइलाई बोझिलो र प्रभावहीन पार्छ:

• मैले तीन महीनाको अवधिमा १२ जनाको अन्तर्वार्ता लिएँ।
'तीन महीना' भनेकै अवधि हो। त्यसैले 'तीन महीनामा' मात्र भने पुग्छ।

• ४० जनाको संख्यामा विद्यार्थीहरू फेल भएका थिए।
'को संख्यामा' चाहिंदैन। '४० जना' भनिसकेपछि 'हरू'पनि भनिरहनुपर्दैन, स्वत: बुझिन्छ।

• डाँकाहरूद्वारा तीन जनाको अमानवीय हत्या, दुई महिलाको पाशविक बलात्कार।
'अमानवीय' को काम छैन किनभने निर्दोष मानिसको हत्या कहिल्यै मानवीय हुँदैन। त्यस्तै,'बलात्कार' भनिसकेपछि 'पाशविक' भन्नुपर्दैन।

(बलात्कार मानिसले मात्र गर्छ, पशुले गर्दैन। 'पाशविक' भनेर पशुहरूमाथि किन अन्याय गर्ने?)

 ब्यर्थको बोझले किचिएपछि वाक्य थला पर्छ। बोझ हटाइदिनुहोस्
 

• सरकारका गृहमन्त्रीले बाढीग्रस्त क्षेत्रको भ्रमण गर्नुभयो।
'गृहमन्त्री' सरकारकै हुन्छ। त्यसैले 'सरकारका' चाहिएन।

• उहाँले कारखानाको स्थलगत निरीक्षण गर्नुभयो। सो अवसरमा नयाँ मशीनको प्रयोगात्मक परीक्षण गरियो।
कारखानाको निरीक्षण स्वतः 'स्थलगत' नै हुन्छ। मशीनको परीक्षण भनेपछि 'प्रयोगात्मक' भन्ने स्वतः बुझिन्छ। त्यसैले यी दुबै शब्द आवश्यक छैनन्।

• प्रदर्शनकारी र प्रहरीबीच दोहोरो भिडन्त।
'दोहोरो' अनावश्यक। भिडन्त भन्ने कुरा सधैं दुई पक्षबीच अर्थात् दोहोरो नै हुन्छ। त्यसमाथि, दुई पक्षको किटान गरेर तिनीहरूबीच भनिसकेपछि दोहोरोपन झन् स्पष्ट भैसकेको छ।

• शहीदहरूलाई मरणोपरान्त सम्मानित गरिएको छ।
'मरणोपरान्त' भनिरहनुपर्दैन। मानिस मरणोपरान्त नै शहीद हुन्छ।

• खोज्दै जाँदा चार जनाको मृत लाश फेला पर्‍यो।
'मृत' को काम छैन।

• जनताको जनादेशको सम्मान हुनुपर्छ।
'जनादेश' भनेकै जनताको आदेश हो। त्यसैले 'जनताको' चाहिएन।

• उनको प्रतिभाको सही सदुपयोग हुन सकेको छैन।
'सदुपयोग' अर्थात् सही उपयोग। त्यसैले 'सही' भनिरहनुपर्दैन।

• मंचमा चढेर एउटा पनि गीत गाउन नसकेपछि नरेश हास्यास्पदको पात्र हुन पुग्यो।
'हास्यास्पद' भनेकै हाँसोउठ्दो वा हाँसोको पात्र हो। त्यसैले 'पात्र'चाहिंदैन।

• दुवै जना उनको कोपभाजनका शिकार हुन पुगे।
'कोपभाजन' को अर्थ हो - कोपको भागी अर्थात् क्रोधको शिकार। त्यसैले 'कोपभाजन हुन पुगे' भने पुग्छ। नत्र 'क्रोधको शिकारका शिकार हुन पुगे' भन्ने अर्थ निस्कन्छ।

• राम तुलनात्मक रूपमा श्यामभन्दा परिश्रमी छ।
'तुलनात्मक रूपमा' चाहिंदैन। 'श्यामभन्दा बढी' ले तुलनात्मकता स्वतः बुझाउँछ।

• दुई वर्षभित्र कम्प्युटर शिक्षाको पर्याप्‍त विस्तारीकरण भएको छ।
'विस्तार भएको छ।'

 अनावश्‍यक प्रत्यय, विभक्ति, नामयोगी, क्रियायोगी आदिबाट जोगिनुहोस्
 

• राजनीतिक घटनाक्रममा हुँदै आएको उथलपुथल र परिवर्तनले देशलाई लोकतन्त्रको राजमार्गमा ल्याइपुर्‍याएको छ।
'राजनीतिमा हुँदै आएको उथलपुथलले देशलाई...'

ब्यर्थको बोझले किचिएपछि वाक्य थला पर्छ। बोझ हटाइदिनुहोस्:

• हाल विद्यालय जान नसकिने अवस्था विद्यमान छ।
'आजभोलि विद्यालय जान सकिंदैन' भने पुग्छ।

• गैरजिम्मेवारीपूर्ण वक्तव्यको परिणामस्वरूप जनतामा उत्तेजना व्याप्‍त हुन पुग्यो।
गैरजिम्मेवार वक्तव्यका कारण जनता उत्तेजित भए।'

• झापामा विद्यमान खेतीयोग्य जमीनमा धानको राम्रो उत्पादन हुन्छ।
'झापामा प्रशस्त धान फल्छ।'

• ऊ त्यति धेरै दिनहरूमा ठीक समयमा उपस्थित हुन सकेको थिएन।
'ऊ प्राय: ढीलो आउँथ्यो।'

• ड्राइभरहरूको आन्दोलन निरर्थक देखिन थालेको तथ्यमा दुई मत हुन सक्तैन।
'...निरर्थक देखिन थालेको छ।'

• यस वर्ष अत्यधिक वर्षाका कारणले गर्दा धानको खेतीलाई बढीसेबढी नोक्सान हुन पुगेको कुरामा दुई मत हुन सक्दैन।
'यस वर्ष धेरै पानी परेकाले धानबाली निकै नोक्सान भएको छ।'

• तत्कालीन परिस्थितिमा इतिहास विषयमा अध्ययनलाई अघि बढाउनु भविष्यमा रोजगारीका लागि त्यति उपयुक्त हुन नसक्ने मेरो सोचाइ रह्यो।
'त्यसवेला मैले इतिहास पढेर जागिर पाइँदैन भन्ने ठानें।'

• वर्तमान परिप्रेक्ष्यमा जहाँसम्म अनुशासनको सवाल छ, हाम्रा शिक्षण संस्थाहरूमा अध्ययनरत अधिकांश विद्यार्थीवर्गमा अनुशासनको उपयुक्त मात्रा विद्यमान नरहेको अवस्थालाई आज कसैले पनि नकार्न नसक्ने वस्तुतथ्य हामी सबैसामु छर्लङ्गै छ।

'आजभोलि विद्यार्थीहरू त्यति अनुशासित छैनन्' भन्दा बढी यस वाक्यमा केही भनिएको छैन।

अनावश्‍यक प्रत्यय, विभक्ति, नामयोगी, क्रियायोगी आदिबाट जोगिनुहोस्:

• आपसमा वैमनस्यता होइन सामञ्जस्यता बढोस् भनेर हामीले गाम्भीर्यतापूर्वक प्रयास गर्नुपर्छ।
वैमनस्य, सामञ्जस्य, गाम्भीर्य मात्र भने पुग्छ,'ता' लगाउनुपर्दैन।

 स्पष्‍टताको मूल्यमा शब्द घटाउन वा वाक्य छोट्याउन भने हुँदैन
 

यस्तैः माधुर्य, चातुर्य, सौन्दर्य, धैर्य, बात्सल्य, प्राधान्य, बाहुल्य, सामर्थ्य, आधिक्य, ऐक्य, साम्य, औचित्य, सौजन्य, तादात्म्य, आतिथ्य, नैराश्य, सामीप्य, सान्निध्य जस्ता शब्दमा पनि 'ता' लगाउन हुँदैन। त्यसो गर्दा अशुद्ध हुन्छ।

• सरकारमा देशप्रति बफादारिता र जनताप्रति जबाफदेहिता हुनु जरूरी छ।
यहाँ पनि 'बफादारी' र 'जवाफदेही' भने पुग्छ,'ता' लगाउनुपर्दैन।
यसै गरी इमानदारी, जिम्मेबारी, बेरोजगारी जस्ता शब्दमा पनि 'ता' थप्नु गल्ती हुन्छ।

• उहाँले मेरो प्रस्तावलाई स्वीकार गर्नुभयो।
— रेखाचित्र मार्फत आफ्ना भावनालाई व्यक्त गर्न उनी सिपालु छिन्।
दुवै वाक्यमा 'लाई' को काम छैन।

• अध्ययनलाई आफ्नो अहङ्कार बढाउनमा प्रयोग नगर।
'मा' चाहिंदैन।

• म तपाईंहरूको मागमाथि पुनर्विचार गर्छु।
— समस्या समाधान गर्ने जिम्मेवारी शिक्षकमाथि रहेको छ।
दुवै वाक्यमा 'माथि' को सट्टा 'मा' राख्‍नु राम्रो हुन्छ।

• सम्पूर्ण विद्यार्थीहरू दुइटा हलहरूमा अटाएनन्।
दुवै 'हरू' को काम छैन।

सँगसँगै आएका अन्य शब्द वा प्रसङ्गले एकभन्दा बढी / धेरै भन्ने अर्थ स्वतः स्पष्ट हुन्छ भने त्यहाँ 'हरू' को बोझ बोकाउनुहुँदैन। सोचाइ, भावना, रचनात्मकता जस्ता भाववाचक शब्दमा पनि सामान्यतः 'हरू' लगाइरहनुपर्दैन।

• तामाङ समुदायले स्वायत्तताको माग गरेका छन्।
— उत्तेजित भीडले प्रहरीमाथि ढुंगा प्रहार गरे।
समुदाय, भीड, समूह, जुलुस जस्ता शब्द समूहवाचक हुन्। एकवचनमा रहेर नै यिनले धेरै भन्ने अर्थ बुझाउँछन्। त्यसैले यिनमा बहुवचनको क्रियापद लगाउनुपर्दैन। '...स्वायत्तताको माग गरेको छ', '...ढुंगा प्रहार गर्‍यो' भन्नुपर्छ।

स्पष्‍टताको मूल्यमा शब्द घटाउन वा वाक्य छोट्याउन भने हुँदैन:

• मैले दुई सयको टिकट किनें।
'दुई सय' भनेको के ? भन्नुपर्छ ― 'दुई सय रुपैयाँको ।'

• नार्कका दुई वैज्ञानिक हिजो अमेरिकातर्फ लागेका छन्।
के हो 'नार्क' भनेको ? श्रोताले कसरी बुझ्ने? त्यसैले शुरुमा एकचोटि भन्नैपर्छ ― 'राष्ट्रिय कृषि अनुसन्धान परिषद - नार्क ।'

• पीपीआरबाट खसीबाख्राको मृत्यु ।
'पीपीआर नामक रोगबाट खसीबख्राको मृत्यु ।'

• कब्जा सम्पत्ति चाँडै फिर्ता गरिने।
'कब्जा सम्पत्ति' बाट कुरो बुझिंदैन। भन्नुपर्छ ― 'कब्जा गरिएको सम्पत्ति चाँडै फिर्ता गरिने।'

• सडक अवरुद्ध स्थानमा रेस्टुराँ नहुँदा यात्रुहरू थप अपठ्यारोमा परेका छन्।
भन्नुपर्छ ― 'सडक अवरुद्ध भएको स्थानमा.....'

 
 
College of Journalism परिचय
पत्रकारितामा भाषाको प्रयोगबारे बीबीसीले तयार पारेको विशेष सामाग्री
 
 
पत्रपत्रिका सही प्रयोग
जे भन्न खोजिएको हो, शब्द र वाक्यले ठ्याक्कै त्यही बुझाउनुपर्छ
 
 
सन्तुलन सन्तुलन
शब्द, पदावली, आदर, तुलना आदिमा पनि सन्तुलन अत्यावश्यक हुन्छ
 
 
Graphic अपमानजनक
आफ्ना कुरा अरूको मुखमा कोच्याउनु, आरोपलाई सत्य झैं प्रस्तुत गर्नु गल्ती हुन्छ
 
 
Translation अनुवाद
मूल भाषाको छायाँले नछोपोस्, आशय नउल्टियोस् भनेर सतर्क रहनुपर्छ
 
 
books साहित्यभन्दा फरक
पत्रकारिताको भाषामा साहितत्यको लेप लगाउनु अनुपयुक्त हुन्छ
 
 
एलन लिटल विशेषज्ञको सल्लाह
स्पष्ट रेडियो लेखनबारे बीबीसीका विशेष संवाददाता एलन लिटलको धारणा
 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>