BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
03 डिसेम्बर, 2008 13:45 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
चीनले नेपालको सुरक्षा क्षेत्रमा सहयोग गर्ने
 
चिनियां तथा नेपाली परराष्ट्रमन्त्रीहरु एउटा सम्झौतामा हस्ताक्षर गर्दै
चीनले यसवर्ष नेपाललाई सवा एक अर्ब रुपियाँ बराबरको सहयोग दिने भएको छ
नेपालको सुरक्षा स्थिति मजबूत पार्न आवश्यक तालीम र सहायता दिन उत्तरी छिमेकी चीन उत्सुक भएको नेपालका परराष्ट्रमन्त्रीले बताएका छन्।

नेपाल भ्रमणमा रहेका चीनका विदेशमन्त्री याङ चेइछीसंग बुधबार औपचारिक वार्ता सकेपछि परराष्ट्रमन्त्री उपेन्द्र यादवले उक्त कुरा सञ्चारकर्मीहरुलाई बताएका हुन्।

तर मन्त्री यादवले सुरक्षा क्षेत्रमा हुने चिनियाँ सहयोगको प्रकृति चाहिं अझै तय हुन बाँकी रहेको बताए।

"हतियारहरुको कुराभन्दा पनि नेपाललाई आवश्यक सामानहरु चाहिएको बेला उपलब्ध गराउने हो। अब के कुरा आवश्यक भन्ने चाहिं विभिन्न माध्यमबाट हामी छलफल गर्छौं," यादवले बताए।

सहयोग

यसअघि शीतल निवासमा नेपाली टोलीसंगको छलफलपछि चिनियाँ मन्त्री मुस्कुराउँदै बाहिरिएका थिए।

उनले पत्रकारहरुलाई छोटो प्रतिक्रिया दिंदै चीन नेपाललाई सकेसम्म सहयोग गर्न तयार भएको बताएका थिए।

चीनसंगको नेपाल सम्बन्धमा संधै जोडिएर आउने गरेको तिब्बत सम्बन्धी मुद्दामा भने द्धिपक्षीय बैठकमा कुरा नउठेको मन्त्री यादवको भनाइ थियो।

मंगलबार साँझ तीनदिने भ्रमणका क्रममा काठमाण्डू आइपुगेका चिनियाँ मन्त्री बुधबार दिनभर औपचारिक भेटघाटमा व्यस्त रहे।

उनले बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई भेटे।

त्यस लगत्तै परराष्ट्र मन्त्रालयमा भएको औपचारिक छलफलपछि उनले नेपाललाई यस वर्ष सवा एक अर्ब रुपियाँ बराबर सहयोग दिने एक समझदारीपत्रमा पनि हस्ताक्षर गरेका थिए।

दक्षिणी छिमेकी भारतका विदेशमन्त्री प्रणव मुखर्जीले भ्रमण गरेको एक साता नवित्दै अर्को प्रभावशाली छिमेकी चीनका विदेशमन्त्री नेपालको भ्रमणमा आएका हुन्।

उनले प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री यादवलाई चीन भ्रमणको निम्ता पनि दिएका छन्।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>