Skip to main contentAccess keys helpA-Z index
BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
26 नोभेम्बर, 2008 16:49 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
सरकारको सयदिन 'अन्यौल र अड्चनको तुवाँलोमा'
 

 
 
प्रधानमन्त्री प्रचण्ड
मधुमासको तीनसाताभन्दा बढी समय प्रधानमन्त्री प्रचण्डले देश बाहिरै बिताए।
नेकपा माओवादीको नेतृत्वको सरकारले मंसिर १० गते एकसय दिन अर्थात् मधुमास पुरा त गर्‍यो तर आफैले गर्ने भनेको काम गर्न सकेन।

भदौ २ गते प्रधानमन्त्रीको सपथ लिए लगत्तै सिंहदरवारको सर्वोच्च कुर्सीमा बसेपछिको नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड) ले भनेका थिए, "दश वर्षको जनयुद्ध र तीनवर्षको शान्तिप्रकृया हुँदै आएको यो परिस्थिति आफैमा बडो रोमाञ्चकारी र आफैमा बडो ऐतिहासिक छ।"

उनी साउन ३१ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।

तर 'केही गर्छन् कि' भनि पूर्व विद्रोहीका नेता प्रधानमन्त्री प्रचण्डप्रति भरोसापूर्ण आँखा गाडेकाहरुले नै मधुमास मानिने सरकारको सयदिनलाई त्यति रोमाञ्चकारी वा ऐतिहासिक सावित गर्न नसकेको अनुभव गरेका छन्।

तिनै मध्येका एक वामपन्थि विश्लेषक श्याम श्रेष्ठ भन्छन्, "सिंहदरवार परिवर्तन गर्न गएको माओवादी सिंहदरवारले पो परिवर्तन गर्‍यो कि भन्ने भान हुन्छ।"

उनले राष्ट्रिय योजना आयोगमा भएको असम्बन्धित व्यक्तिहरुको नियुक्तीको उदाहरण दिँदै माओवादी नातावाद र कृपावादमा फसेको आरोप लगाए।

उक्त नियुक्ति गल्ती भएको स्वीकार गर्दै प्रधानमन्त्रीले सच्याउने बताएका छन्।

पहिलो गासमै ढुंगा

प्रधानमन्त्रीको रुपमा प्रचण्डले सरकारको गाडी हाँक्न के थालेका थिए, शुरुवातमै गडबडी देखा परेको थियो।

भदौ छ गते उनी मन्त्रिपरिषद् गठन गर्न ठिक्क परेका थिए, मर्यादाक्रमप्रति असहति जनाउँदै अन्तिम समयमा नेकपा एमालेका मन्त्रिहरु सपथ बहिष्कार गरे।

त्यसैले उनले आफ्नो दल र मधेशी जनअधिकार फोरमका चार-चारजना राखेर नौ सदस्यीय मन्त्रिपरिषद मात्र गठन गरे।

ठुस्सीएर बसेको गठबन्धनको दोश्रो ठूलो दल एमालेलाई सरकारमा भित्र्याउन उनी भदौ १५ गते मात्र सफल भए।

सदभावना पार्टी र नेकपा संयुक्त सहितका २४ सदस्यीय मन्त्रिपरिषद बने पनि समावेशीको नारा दिने माओवादीको नेतृत्वको मन्त्रिपरिषदमै दलीत समुदायबाट एकजना पनि परेनन्।

 दलहरुबीच दूरी बढाउने गरी सरकारको सयदिन बितेको छ
 
नेपाली कांग्रेसका महामन्त्री विमलेन्द्र निधी

राज्य र सहायकमन्त्रीहरु पनि नियुक्त गर्ने भनिए पनि अझै हुन सकेको छैन्।

दुई तिहाई बढीको समर्थन प्राप्त सरकारले 'उदेश्य के लिनु, उडि छुनु चन्द्र एक' भन्दै असोज तीन गते अघिल्लो सरकारको भन्दा झण्डै आधा खर्व बढी अर्थात साढे दुई खर्ब जतिको बजेट प्रस्तुत गर्‍यो।

यसै अवधिमा संविधान लेख्न आवश्यक निमयमावली तयार भयो। सुरक्षामा सुधार गर्न गृहमन्त्रालयले सक्रियता देखायो।

पेट्रोलियम हाहाकारमा आएको सुधार देखियो। तराईका सशस्त्र समूहसंग वार्ताको प्रयास भइरहेको छ।

सरकार प्रमुखको तर्फबाट २६ कार्तिकमा प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसका सबै माग पुरा गर्ने घोषणा गरेर प्रधानमन्त्रीले आपसी कटुता घटाउने प्रयास पनि गरेका थिए।

कतिपयले यसलाई मधुमासको आशाजनक पक्षको रुपमा लिएका छन्।

तर कांग्रेसका महामन्त्री विमलेन्द्र निधि घरजग्गा फिर्ता र वाइसिएलको अर्धसैन्य संरचना अन्त्य नभएको बताउँदै भन्छन्, "अकर्मण्य, उदासीन र दलहरुबीच दूरी बढाउने गरी सरकारको सयदिन बितेको छ।"

निराशा

निराशाको पक्षमा पर्छन, वेपत्ता नागरिक सार्वजनिक, भुमिसुधार, सत्य निरुपण लगायतका विभिन्न समिति र आयोग गठन नहुनु।

जबकी माओवादीले ती काम नगरेको भन्दै अघिल्लो सरकारको तीव्र आलोचना गर्ने गर्थ्यो।

यसै अवधिमा महंगी आकाशिएको छ। सुरक्षामा कडाइ गरिए पनि माओवादी-एमालेका युवाहरुबीचको झडप जारी रह्यो।

उनीहरुको हस्तक्षेपले कानूनी शासन लागु गर्न कठिनाई भएको गुनासो निकै सुनियो।

कोटेश्वरका रामहरी श्रेष्ठको हत्याले अप्ठेरोमा परेको माओवादीलाई उसको युवा संगठन वाईसिएलद्वारा काठमाण्डूका दुई युवाको धादिङमा गरिएको भनिएको हत्याले थप बदनाम गरायो।

त्यसैले सत्तापक्ष र प्रतिपक्षसंग सरोकार नभएका वामपन्थी विश्लेषक श्रेष्ठ अघिल्लो सरकारको भन्दा सुधारको लक्षण देखाएको बताउँदै भन्छन्, "तर माओवादी आमूल परिवर्तन गर्न भनि सत्तामा गएको हो। त्यस्तो लक्षण देखाएको छैन।"

विदेशमा तीनसाता

प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रचण्डले पहिलो विदेश भ्रमणको निम्ति चीनलाई रोजे।

ओलम्पिक खेलको समापनको निम्ति भदौ सात गते त्यहाँ पुगेका उनी ११ गते फर्किए।

त्यसपछि उनी पहिलो राजनीतिक भ्रमणको सिल्सिलमा दक्षिणी छिमेकी भारतमा भदौ २९ देखि असोज दुई गतेसम्म राजनीतिक भेटमा व्यस्त रहे।

त्यहाँबाट फर्किएको पर्सीपल्ट राष्ट्रसंघीय महासभामा भाग लिन असोज चार गते अमेरीका गई १४ गते फर्किए।

माओवादी-एमालेका युवाहरुबीचको झडप अझै पनि जारी रहने गरेको छ

उनको पछिल्लो विदेश भ्रमण कार्तिक २७ गते फेरी भारतको हुन पुग्यो। एउटा क्षेत्रीय सम्मेलनमा भाग लिएर उनी त्यहाँबाट कार्तिक २९ गते फर्किएका थिए।

मधुमासको तीनसाताभन्दा बढी समय प्रधानमन्त्री प्रचण्डले देश बाहिरै बिताए।

सयदिनभित्रै दशै-तिहार, छठ र ईदको करिव दुईसाता लामो विदा परेको थियो।

त्यस्ता तमाम व्यवहारिक पक्षको ख्याल नगरी सरकारको आलोचना गर्नुको कारण 'सत्ताको मधुमासमा सरिक हुन नपाउनुको पीडा पो हो कि?' भन्ने प्रश्नमा कांग्रेस महामन्त्री निधिले हाँस्दै जवाफ दिए, "सरकारको लोभलाग्दो भन्ने कुनै चिजै छैन। हनिमुन राम्ररी मनाउनै नपाएको सरकारप्रति हाम्रो आकर्षण पनि हैन।"

विश्लेषकहरुको विचारमा भावी दिनको संकेत दिने सरकारको एकसयदिने विहान अन्यौल र अड्चनको तुवाँलोले चहकिलो देखिएन।

तर माओवादी नयाँ राजनीतिक शक्ति भएकाले कतै विहान छिप्पीदै जाँदा तुवालो फाटिहाल्छ कि भन्ने आशा गर्नेहरु पनि छन्।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>