BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
17 नोभेम्बर, 2008 16:12 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
माओवादी बैठकमा किरणको वैकल्पिक प्रस्ताव
 
प्रचण्ड
फरक मत आउँदा विभिन्न विचारलाई संयोजन गरी नेतृत्व सम्हाल्न प्रचण्ड पोख्त मानिन्छन्
नेकपा माओवादीको केन्द्रिय समितिको बैठकमा प्रभावशाली नेता मोहन वैद्य (किरण) ले वैकल्पिक प्रस्ताव पेश गरेका छन्।

सोमबारदे‌खि शुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को प्रस्तावप्रति असहमति जनाउँदै किरणले छुट्टै प्रस्ताव प्रस्तुत गरेका हुन्।

माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार भक्तपुरमा भैरहेको बैठकमा पेश गरिएका दुई फरक प्रस्तवमाथि बुधबारदेखि छलफल शुरु हुनेछ।

बैठकले पारित गर्ने प्रस्ताव मंसीर ५ गतेदेखि शुरु हुने अत्यन्तै महत्वपूर्ण ठानिएको राष्ट्रिय भेलामा पेश गरिने छ।

वैद्य समूहका मानिने नेता सीपी गजुरेलले भने, "बहुमत वा अल्पमतको भनेर भेलामा पेश हुन्छ। त्यसको अन्तिम टुंगो भेलाले नै गर्छ।"

मतभेद

नेता किरणले केहि साताअघि भएको केन्द्रिय समितिको बैठकमा फरक मत दर्ता गरेका थिए।

उक्त बैठकको निरन्तरता मानिएको पछिल्लो बैठकमा प्रचण्डले किरणको धारणा समेटेर प्रस्ताव पेश गरेमा उनले असहमति फिर्ता लिने बताइएको थियो।

तर किरणको मतभेद नसमेटिएपछि दुई फरक प्रस्ताव पेश भएका हुन्।

दुई प्रस्ताव बीचको अन्तर सार्वजनिक गरिएको छैन।

माओवादीका एकजना केन्द्रीय सदस्य शक्ति बस्नेतका अनुसार माओवादीले सशस्त्र विद्रोह शुरु गरेयता विस्तृत छलफल हुने गरी फरक मत दर्ता भएको यो पहिलो पटक हो।

अध्यक्ष प्रचण्डसंग तीव्र विवाद भएपछि बरिष्ठ नेता डा. बाबुराम भट्टराईले करीब चारवर्ष अघि विद्रोहकालमा दर्ता गराएको फरक मतबारे तल्लो निकायसम्म छलफल हुन सकेको थिएन।

कार्यवाहक

राष्ट्रिय भेलाले प्रचण्ड प्रधानमन्त्री बनेदेखि चर्चामा रहेको कार्यवाहक अध्यक्षको जिम्मेवारी बारे पनि निर्णय गर्ने बताइएको छ।

कार्यवाहक अध्यक्षको जिम्मेवारी लिन पार्टीको सहमति अनुसार नै किरणले सभासदबाट राजिनामा दिएको बताउँदै नेता गजुरेलले भने, "एउटा व्यस्तता र अर्को सरकार र पार्टीको फरक धारणा हुने भएकाले सरकारको नीतिको वकालत गर्नुपर्ने प्रधानमन्त्रीले दुबै नीतिको प्रवक्ता पनि बन्न नमिल्ने भएकाले अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहन सम्भव हुँदैन।"

तर केन्द्रीय सदस्य बस्नेतले कार्यवाहक अध्यक्षको चर्चा पार्टीमा चल्दै नचलेको बताए।

उनले भने, "उहाँ (किरण) ले पनि त्यसमा चाख देखाउनु भएको छैन।"

बीबीसीका काठमाण्डू सम्वाददाता भन्छन्, माओवादीको आन्तरिक राजनीति बुझेकाहरुले पार्टीभित्र बेला-बेला देखिने विभिन्न बिचार र धारलाई संयोजन गरी नेतृत्व सम्हाली रहन पोख्त मानिने अध्यक्ष प्रचण्डले त्यो चातुर्य यसपटक पनि देखाउन सक्छन्।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>