http://www.nepali.com

28 अगष्ट, 2008 15:59 GMT सम्मका समाचारहरु

एमालेलाई उपप्रधानमन्त्रीसहित दोश्रो स्थान दिन सहमति

दुई दलका मन्त्रीहरू रहेको नेकपा माओवादीको नेतृत्वको सरकारमा शुक्रबारदेखि नेकपा एमाले पनि सामेल हुने भएको छ।

प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आफ्नो दलको मन्त्रीलाई दोश्रो मर्यादा क्रममा राख्न तयार भएको नेकपा एमालेका महासचिव झलनाथ खनालले बताए।

दुईदलबीचको छलफलपछि महासचिव खनालले भने, "एमालेलाई उपप्रधानमन्त्री सहित मर्यादा क्रममा दोश्रो स्थान दिई शुक्रबार मन्त्रीपरिषद विस्तार गर्ने सहमति भएको छ।"

सरकारमा ६ सदस्यीय एमाले टोलीको नेतृत्व गर्ने पूर्व उपप्रधानमन्त्री बामदेव गौतमले उपप्रधानमन्त्री सहित गृहमन्त्रीको जिम्मेवारी पाउने छन्।

विस्तार

तर मन्त्रिपरिषदको दोश्रो विस्तार पनि अन्तिम भने हुने छैन।

सरकारमा राज्यमन्त्रीहरू पनि थपिने दलहरूले जनाएका छन्।

मर्यादाक्रमकै विवादका कारण एमाले गतसाता सरकारमा सहभागी भएको थिएन।

त्यसपछि प्रधानमन्त्री प्रचण्डले माओवादी र मधेसी जनअधिकार फोरम सहितको ९ सदस्यीय मन्त्रीपरिषद् गठन गरेका थिए।

एमालेको प्रवेशपछि माओवादी नेतृत्वको सरकारमाथि आइलागेको एउटा ठूलो राजनीतिक संकट टर्ने ठानिएको छ।