23 अगष्ट, 2008 16:02 GMT सम्मका समाचारहरु
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार आफ्नो पहिलो विदेश भ्रमणमा चीन गएका छन्।
ओलम्पिक खेलको समापन समारोहमा भाग लिन बेइजिङ जानु अघि उनले राष्ट्रका नाममा सम्बोधन गरेका थिए।
सम्बोधनमा प्रधानमन्त्री प्रचण्डले नेपालले सामना गरिरहेका समस्याहरुको समाधान गर्दै नयाँ शुरुवात गर्न सबैसँग सहयोगका लागि आग्रह गरे।
माओवादीको प्रमुख सत्ता साझेदार नेकपा एमालेले मर्यादाक्रमप्रति असन्तुष्टि जनाएर उसका मन्त्रीहरूले शपथग्रहण नगरेपछि मन्त्रीमण्डल गठन गर्ने काम विवादित भएको थियो।
तर प्रधानमन्त्री प्रचण्ड आफ्नो पूर्वनिर्धारित कार्यक्रम अनुसार नै चीन भ्रमणमा गएका छन्।
बेइजिङ जानुअघि उनले भने, “समस्याको पहाड नै हाम्रो अगाडि छ। तर त्यसको निम्ति अन्तर्राष्ट्रिय समुदायदेखि सबैको सहयोग आवश्यक छ।”
ओलम्पिक
सूचना तथा संचार मन्त्री कृष्णबहादुर महरा, अन्य सरकारी अधिकारी र पत्नी सहितको प्रधानमन्त्रीको टोली आइतबार हुने ओलम्पिकको समापन समारोहमा सहभागी हुन बेइजिङ गएको हो।
नेकपा माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डको चार दिने चीन बसाईंमा कुनै राजनीतिक एजेण्डामा छलफल नहुने नेकपा माओवादीको भनाइ छ।
तर यो भ्रमणलाई देशभित्र र छिमेकी भारतमा धेरैले चासोपूर्वक हेरिरहेका छन्।
चीन जानुअघि दिइएको विशेष सम्बोधनमा प्रधानमन्त्री प्रचण्डले नेपालको सार्वभौमसत्ता र राष्ट्रियताको संरक्षणका साथै राष्ट्रिय एकतालाई मजबुत बनाउनु पर्नेमा जोड दिएका थिए।
झण्डै १५ मिनट लामो सम्बोधनका क्रममा प्रचण्डले लोकतन्त्र, मानव अधिकार, कानुनी राज्य, प्रेस स्वतन्त्रता र औद्योगिक सुरक्षा जस्ता कुरामा प्रतिबद्धता जनाएका थिए।
नयाँ ढंगले अघि बढ्न उनले स्वदेशी र विदेशी सबैसँग सहयोग मागे।
उनले द्वन्द्वकालका कटुता बिर्सन खासगरी सुरक्षाकर्मीहरुलाई आग्रह गरे।
उनले, उनकै शब्दमा, द्वन्द्वकालका कटुता बिर्सेर नयाँ नेपाल बनाउन नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरीदेखी राष्ट्रिय अनुसन्धान विभागका सबैलाई आग्रह गरेका छन्।