BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
28 अगष्ट, 2008 16:01 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
सरकारद्वारा दातृ निकायसंग सहयोगका लागि अपील
 
बैठकको अध्यक्षता गर्दै अर्थमन्त्री भट्टराई
अर्थमन्त्री भट्टराईले दातृ निकायहरुबाट थप सहयोगको अपेक्षा गरेको बताए
कोशी डुबानबाट पीडित मानिसहरुकोलागि सरकारले अन्तर्राष्ट्रिय दातृ समुदायसंग आर्थिक मद्दतको निम्ति अपील गरेको छ।

अर्थमन्त्री तथा नेकपा माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले काठमाण्डौंस्थित दातृ समुदायका प्रतिनिधिहरुलाई मन्त्रालयमै बोलाएर त्यस्तो अपील गरेका हुन।

कोशी डुबानका कारण झण्डै एक अर्ब रुपियाँको नोक्सानी भएको बताउँदै अर्थमन्त्री भट्टराईले दाताहरुसंग सहयोगको लागि हात फैलाएका थिए।

पत्रकारहरुलाई प्रवेश नदिइएको दाताहरुसंगको अन्तर्क्रियापछि डा भट्टराईले दाताहरु सकारात्मक भएको भन्ने बाहेक अन्य टिप्पणी गरेनन्।

उनले भने, "यो कुनै सहयोगको घोषणाको निम्ति गरिएको बैठक थिएन। हामीले केवल जानकारी गरायौं र उनीहरुले पनि अहिले हामीले संकटसंग जुध्न गरेको प्रयासलाई विगतको भन्दा व्यवस्थित भएको बताए।"

अन्तर्क्रिया

नेकपा माओवादीको सरकारले अवलम्बन गर्ने अर्थनीतिलाई सतर्कतापूर्वक नियालिरहेका दातृ निकायका प्रतिनिधिहरुसंग छुट्टै अन्तर्क्रियामा बस्नु अगाडि डा भट्टराईले उनीहरुलाई सम्बोधन गर्ने क्रममा स्पष्टसंग सहयोग मागेका थिए।

"यो डुबान सम्बोधन गर्न हामीले गरेका प्रयासप्रति हर तरहले नगद, जिन्सी वा अन्य किसिमको सहयोग गर्न हामी तपाईंहरुलाई आग्रह गर्न चाहन्छौं," उनले भने।

विगतमा नेपालको परनिर्भरता र वैदेशिक ऋण लिने प्रवृत्तिको कटु आलोचक रहेका डा भट्टराईले सो सम्बोधनको क्रममा विगतको भन्दा बढी वैदेशिक सहयोगका लागि आग्रह गरेका थिए।

"तपाईंहरुले आजसम्म नेपालको सामाजिक आर्थिक विकासको निम्ति गर्नु भएको सहयोगलाई हामी स्वागत गर्छौं र धन्यवाद दिन्छौं। आगामी दिनमा आवश्यक लचकता सहित अझ बढी सहयोग गर्नु हुनेछ भन्ने अपेक्षा गर्दछौं," डा भट्टराईले भने।

अर्थ मन्त्रालयको सभाकक्षमा आयोजित भेटघाटमा काठमाण्डूस्थित द्विपक्षीय तथा बहुपक्षीय दातृ निकायका करीब तीसजना प्रतिनिधि उपस्थित थिए।

नयाँ सरकारले नयाँ बजेट ल्याउने प्रक्रिया शुरु गरेको बेलामा दातृसमुदायसंग सो भेटघाट आयोजना गरिएको थियो।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>