BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
27 अगष्ट, 2008 16:16 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
पहिलो राजनीतिक भ्रमण भारतमा: प्रचण्ड
 
पुष्पकमल दाहाल प्रचण्ड
प्रधानमन्त्री प्रचण्डलाई भारतले सबभन्दा पहिला दिल्ली भ्रमणको निमन्त्रणा दिएको थियो
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नो पहिलो राजनीतिक विदेश भ्रमण भारतमै हुने आशा व्यक्त गरेका छन्।

शपथ ग्रहण गरेको लगत्तै भारतको सट्टा पहिले चीनको भ्रमण गरेकोमा भारतको असन्तुष्टि सार्वजनिक भएपछि प्रधानमन्त्री प्रचण्डको उक्त भनाइ आएको हो।

बेईजिंग ओलम्पिक्सको समापन समारोहमा भाग लिने सिलसिलामा चीनको चारदिने भ्रमण गरी बुधबार स्वदेश फर्केपछि उनले भारतलाई आश्वस्त पार्न खोजेका हुन्।

प्रचण्डको चीन भ्रमणप्रति असन्तुष्ट भारतले त्यसको प्रतिक्रिया स्वरूप राष्ट्रपति रामवरण यादवलाई पहिला स्वागत गर्ने तयारी गरिरहेको दिल्लीबाट प्राप्त समाचारहरूमा जनाइएकोछ।

तर प्रचण्ड भने चाँडै नै भारत जाने आशामा छन्।

उनले नेपालको भारतसंग परम्परागत सम्बन्ध रहेको पनि बताए।

उनले भने, "(तीन वर्षअघि दिल्लीमा भएको) १२ बुँदे समझदारी देखि यहाँसम्म आउँदा भारतको जो सहयोग रहेको छ त्यो कारण र हाम्रो इतिहास भूगोल संस्कृतिको जुन सम्बन्ध छ त्यो कारणले पनि मेरो पहिलो राजनीतिक भ्रमण भारतमै हुन्छ र हुनुपनि पर्छ।"

शंका निवारण

स्वदेश फर्केपछि पत्रकारहरूसंग कुरागर्दै प्रधानमन्त्री प्रचण्डले पहिलो विदेश भ्रमणका लागि उत्तरी छिमेकी चीन गएकोमा शंका नगर्न दक्षिणी छिमेकीलाई आग्रह गरेका थिए।

उनले भने, "ओलम्पिक खेलकूदको उदघाटन समारोहमा सोनिया गान्धी आफै (चीन) जानु भएको थियो भने समापन समारोहमा एउटा छिमेकी देशको प्रधानमन्त्रीको हैसियतले म जानु सर्वथा स्वाभाविक छ। त्यसमा अन्यथा लिनुपर्ने म कुनै कारण देख्दिन।"

यसअघि माओवादी अध्यक्ष प्रचण्डलाई सरकार प्रमुखका रूपमा उत्तरी छिमेकी चीनको भ्रमणगर्न नहतारिन नेपाललाई दक्षिणी छिमेकी भारतले सल्लाह दिएको थियो।

तर चीनका राष्ट्रपति हू जिन्ताओले प्रधानमन्त्री प्रचण्डले पदको शपथ लिएको एक हप्ताभित्रै चीनको भ्रमण गरेकोमा प्रशंसा गरेका थिए।

आफ्नो सल्लाहको अवज्ञा गर्दै प्रधानमन्त्री प्रचण्ड चीन गएकोमा भारतले गम्भीर चिन्ताका साथ हेरेको त्यहाँका अधिकारीहरूलाई उद्यृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

विश्लेषकहरु भन्छन्, आआफ्ना राष्ट्रिय सुरक्षाका लागि नेपाललाई महत्वपूर्ण ठानेका परम्परागत प्रतिद्वन्द्वीहरू भारत र चीनबीच चर्केको तानातानको नेपालको भावी राजनीतिक घटनाक्रममा गम्भीर असर पर्न सक्छ।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>