BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
26 अगष्ट, 2008 15:58 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
काठमाण्डूमा संगठित अपराधको संजाल बढ्दो
 

 
 
डा. उपेन्द्र देवकोटा (बायां) प्रहरी अधिकारीहरूका साथमा
डा. उपेन्द्र देवकोटा (बायाँ) ले अपराधहरुमा प्रहरीलाई सहयोग गर्न अनुरोध गरेका थिए
राजधानी काठमाण्डूमा ठूलो रकमको फिरौतीको निम्ति संगठित समूहहरुले मानिसहरुको अपहरण गर्ने घटनाहरू तिव्र हुन थालेका छन्।

कमजोर सरकारको फाइदा उठाएर अपराधीहरुले संगठित रुपमा अपहरणको सञ्जाल फैलाउन थालेको अधिकारीहरुले वताएका छन्।

शान्ति सुरक्षा कायम गराउने वाचाका साथ अगाडि आएको नयाँ सरकारका सामु यो समस्या एउटा प्रमुख चुनौती रहने निश्चित छ।

नेपाल प्रहरीको तथ्यांक अनुसार राजधानीमा मात्रै हरेक साता चोरी, डकैती, अपहरण, हत्या लगायत साना ठूला करिब ६० वटा अपराधका घटनाहरु हुने गर्दछन्।

त्यसमध्ये प्रहरीको जानकारीमा आउने मात्रै पनि दुईतीनवटा त अपहरणकै घटना हुने गरेको पाइन्छ।

त्रास

पैसाको निम्ति गरिने अधिकांश अपहरणका घटनाहरुमा अपराधीको दवावमा पीडितहरु प्रहरीको सामु पुग्दैनन्।

प्रहरी अतिरिक्त महानिरीक्षक केशव बराल भन्छन्, "धेरैजसो पीडित परिवारहरु अपहरणकारीको त्रासका कारण प्रहरी सामु आउँदैनन् र प्रहरीलाई अपहरणकारी पक्रन सहयोग गर्दैनन्।"

कैयौं अपहरणको घटनामा जिम्मेवार मानिएको एकजना गिरोहका नाइकेलाई केही महिनाअघि भारतको मुम्बईबाट समाएपछि नेपाल प्रहरीले लामो सास फेरेको थियो।

तर हालै राजधानीबाट वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटाको छोरीको अपहरणपछि भने प्रहरी झस्किएको छ।

"भारतमा गरिएको गिरफ्तारीपछि अब काठमाण्डौंमा यस्तो संगठित अपहरण हुँदैन होला भन्ने हामीले सोचेका थियौं। तर एउटा अपराधी समाएर अपराध सकिंदो रहेनछ," एआइजी बरालले भने।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उपेन्द्रकान्त अर्याल यसरी अपहरणका घटना लगालग हुनुमा संगठित गिरोहको हात रहेको वताउँछन्।

"काठमाण्डौंमा संगठित अपराधले जरो गाडिसकेको छ। यस्ता अपराधीहरु योजनाबद्ध हुन्छन, यिनीहरुसंग क्षमतापनि निकै हुन्छ र यिनीहरुले कानुनबाट बच्ने उपाय पनि पहिले नै विचार गरिसकेका हुन्छन्," अर्यालले वताए।

उनको भनाइलाई पुष्टि गर्ने खालकै कार्यशैली डा. देवकोटाको छोरीको अपहरणमा संलग्न भनिएकाहरुको थियो।

त्यो एउटा अपहरण गर्न मात्रै सो समूहले करीब १५ लाख रुपियाँ खर्च गरेको वताइन्छ।

त्यस्ता समूहहरुको उदयलाई मनोविश्लेषकहरु समग्र समाजमा आएको विचलनको उपज मान्दछन्।

वरिष्ठ मनोचिकित्सक डा. निराकारमान श्रेष्ठका अनुसार यस्ता अपराधी जन्मनुमा जैविक, सामाजिक, मनोवैज्ञानिक तथा राजनीतिक कुराहरुको प्रभाव परेको हुन्छ।

सुझाव

संगठित अपराधले जरो गाडिन थालिसकेको बेला यसलाई रोक्न प्रहरीलाई सहयोग गर्न हरेक नागरिक तम्तयार हुनुपर्ने सुझाव धेरैले दिने गरेका छन्।

यस अघिका अपहरणका घटनामा पीडित पक्षले चुपचाप बसेकै कारण अपराध दोहोरिरहेको डा. देवकोटाको भनाइ छ।

छोरीको अपहरण लगत्तै अपहरणकारीहरुको फोन रेकर्ड गरेर प्रहरीलाई सहयोग गर्न शुरु गरेका डा. देवकोटाले आफ्नो अनुभव सुनाउँदै भने, "अपहरणकारीले यति करोड रुपियाँ लिएर आईज भनेर गर्ने पहिलो फोन कल आउनु अगाडि नै हामीले चुँडाइएको फोनको तार जोडिसकेका थियौं र त्यसमा रेकर्ड पनि जडान गरिसकेका थियौं।

"त्यस्तोबेला रोई कराई गरेर प्रहरी प्रशासनलाई गाली मात्रै गरेर कसैलेपनि सहयोग गर्दैन।"

कमजोर सुरक्षा निकाय, चरम युवा बेरोजगारी जस्ता समस्याको बीच चाँडै धनी हुन चाहने मानिसहरुको महत्वाकांक्षाका कारण मौलाएको अपराध रोक्न सरकार, प्रहरी र जनताले हातेमालो गर्नुको विकल्प नरहेको विज्ञहरुको ठहर छ।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>