BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
25 अगष्ट, 2008 15:48 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
ओलम्पिक्स: नेपालले पदक किन जितेन?
 

 
 
इरानी खेलाडी हादी सई
नेपालले तेक्वानदोमा पदक जित्ने आशा गरेको थियो तर त्यो पनि पुरा हुन सकेन
ओलम्पिक खेलकूदको सन्दर्भमा चीनको भ्रमण गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको कूटनीतिक इतिहासमा एउटा कीर्तिमान राखेपनि चीनमै भएको ओलम्पिक्समा नेपाली खेलाडीहरुको प्रदर्शन भने परंपराबाट भिन्न हुन सकेन।

तर यो न त अस्वाभाविक थियो न त अनपेक्षित नै।

प्रधानमन्त्री प्रचण्ड पद संभालेपछि सबैभन्दा पहिले दक्षिणी छिमेकी भारतको सट्टा उत्तरी छिमेकी चीनको भ्रमण गर्ने नेपालका पहिलो सरकार प्रमुख हुन्।

गलत प्रचार

बेइजिंग ओलम्पिक्सको समापन समारोहमा भाग लिन चीन गएर उनले, उनकै शब्द सापटी लिएर भन्ने हो भने, ‘निरन्तरताको क्रम भंग’ गरेका छन्।

बेइजिंग ओलम्पिक्समा गएका नेपाली खेलाडीहरुले निराशाजनक प्रदर्शनको 'निरन्तरताको क्रम भंग' भने गर्न सकेनन्।

यो कुनै अस्वाभाविक कुरा थिएन।

पदकको संभावना शून्य भएपनि ओलम्पिक्स र विश्वस्तरको त कुरै छोडौं एसियाली स्तर समेत नपुगेका नेपाली खेलाडीहरुबाट पदकको आशाको प्रचार गरिएको थियो।

विश्व खेलकूदमा सबैभन्दा पछि परेको दक्षिण एसियामै पनि पिछडिएको नेपालको खेलकूदले बेइजिंगमा कुनै बाजी मार्नु भनेको ‘आकाशको फल आँखा तरी मर’ सरह थियो।

वास्तवमा नेपाल जस्ता देशहरुले विश्व भाइचाराको भावना अन्तर्गत मात्र ओलम्पिक्समा भाग लिने चलन छ।

नेपालको हकमा बेइजिंगमा त्यही भएको थियो।

पौडी, एथलेटिक्स र भारोत्तोलनमा नेपालको स्वत: सहभागिता भएको थियो।

ती खेलहरुमा नेपाल कहिल्यै पनि दोश्रो चरणसम्म पनि पुग्न सकेको छैन, न त पदक विजेताहरुको छेउसम्मनै पुग्न सकेको छ।

त्यतिमात्र गर्न सक्नु पनि नेपालको लागि ठूलो उपलब्धि हुन्थ्यो।

म्याराथनकै एउटा उदाहरण लिने हो भनेपनि नेपाली धावक अर्जुन बस्नेतले ४२ किलोमिटरको दूरी पूरा गर्न २ घन्टा २३ मिनेट लगाएका थिए।

यो स्वर्ण विजेताले लिएको भन्दा १७ मिनेट बढी थियो।

त्यस्तै बस्नेतको समय नेपालकै बैकुण्ठ मानन्धरले २० वर्ष अगाडि राखेको दक्षिण एसियाको रेकर्डभन्दा पनि ८ मिनेट बढी थियो।

खाली हात

पदकको सबभन्दा ठूलो आशाका रुपमा हेरिएका तेक्वानदोका दीपक बिष्टले मात्र प्रतिस्पर्द्धा गर्न योग्य खेलाडीका रुपमा प्रवेश पाएका थिए।

तर उनी पनि विश्वस्तरमा पुग्न बाँकीनै थियो। उनले पाएको सफलता एसियाली स्तरमै सीमित छ।

उनी पनि खाली हात हुनु अनौठो होइन।

नेपालका विधान लामाले १९८८ मा दक्षिण कोरियाको सोलमा भएको ओलम्पिक्सको पदक गन्ति नहुने 'प्रदर्शन खेल' मा तेक्वानदोतर्फ काँश्य पदक पाएका थिए।

उक्त खेल प्रतिस्पर्द्धामा सामेल गरिए यता अरु देशहरु यो खेलमा धेरै अगाडि बढेका छन्।

नेपाल चाहिं पछि परेको प-यै छ।

विश्लेषकहरु भन्छन्, जसरी नेकपा (माओवादी)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले माओको देशको पहिलो भ्रमण गरेर नेपालको कूटनीतिक इतिहासमा एउटा ठूलो फड्को मार्न खोज्नु अस्वाभाविक थिएन, त्यसरीनै बेइजिंग ओलम्पिक्सबाट नेपाली खेलाडीहरुले खाली हात फर्किनु आश्चर्यको कुरा होइन।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>