|
राष्ट्रपति यादवद्वारा पूर्वी नेपालको बाढीग्रस्त क्षेत्र भ्रमण
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रपति डा.रामवरण यादवले कोशी नदीको बाढीबाट विस्थापितहरुसंग भेट गर्नुका साथै बाढीग्रस्त क्षेत्रको स्थलगत अनुगमन गरेका छन्।
विस्थापितहरुको पीरमर्का सुनेपछि राष्ट्रपतिले त्यस्तो विपत्तीको सामना गर्न जुनसुकै ठाउँमा बस्ने सबै नेपाली एकजुट हुनुपर्ने बताए। सप्तकोशीको तटबन्ध भत्किएपछि सुनसरीमा आएको बाढीबाट विस्थापित दशौं हजार मानिसहरुलाई अहिले स्कूल, मदरसा र क्याम्पसहरुमा अस्थायी शिविर बनाइ राखिएको छ। राष्ट्रपति डा.यादवले स्थलगत निरीक्षणपछि विस्थापितहरुको बसोबास र राहतको निम्ति सरकारको तर्फबाट जतिसक्दो चाँडो तत्कालिन र दीर्घकालीन व्यवस्था गराउन प्रयास गर्ने आश्वासन दिएका थिए। उनले राहतको निम्ति सहयोग गर्ने स्वदेशी, विदेशी संघसंस्था र उद्धारमा लागेका सम्पूर्ण पक्ष र व्यक्तिलाई धन्यवाद दिएका थिए। राजधानी फर्किनु अघि राष्ट्रपति डा.यादवले विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधिहरुसंग पनि भेटघाट गरेका थिए। त्यस अवसरमा दलका प्रतिधिनिहरुले सप्तकोशीको तटबन्ध कटान हुनुको कारणबारे छानबीन गर्न उच्च स्तरीय टोली गठन गर्नु पर्ने माग गरेका थिए। उनीहरुले भारत र नेपालवीच २०११ सालमा भएको कोशी सम्झौता नेपालको हितमा नरहेको बताउँदै पुनरावलोकनको खाँचो औल्याएका थिए। थपिए भारतीय बाढीका कारण भारतका अररिया, पूर्णिया, सुपौल र सहरसा जिल्लाका २५० भन्दा बढी गाउँहरु पनि डुबानमा परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। लाखौं भारतीय विस्थापितहरु मध्ये हजारौं भारतीय नेपाली भूभागमा प्रवेश गरेको अधिकारीहरुको भनाइ छ। गृहसचिव उमेशप्रसाद मैनालीले बीबीसीसंग कुरा गर्दै अहिले कसैलाई विभेद नगरी राहत दिइएको बताएका छन्। मैनालीले बाढीबाट सुनसरी जिल्लामा ७० हजारभन्दा बढी प्रभावित भएको पनि बताए। |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||