BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
25 अगष्ट, 2008 16:02 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
कांग्रेस बैठकमा महाधिवेशनको माग
 
मुख्य विपक्षी दल नेपाली कांग्रेसको सोमबारबाट शुरु भएको केन्द्रिय समितिको महत्वपूर्ण बैठकमा पार्टीको आगामी महाधिवेशनको मिति तोक्नु पर्ने आवाज उठेको छ।

प्रत्येक तीन वर्षभित्र गर्नु पर्ने महाधिवेशनको म्याद भदौ १६ गते सकिन लागेकाले पार्टीका सबै निकायको म्याद पनि थप्ने उक्त दलले जनाएको छ।

प्रवक्ता अर्जुननरसिंह केसीका अनुसार बैकठमा बोल्ने नेताहरुले महाधिवेशनअघि महासमितिको बैठक बस्नुपर्ने र आगामी महाधिवेशनको मिति तोक्नुपर्ने माग गरेका छन्।

उनले भने, "पार्टी एक भए पनि भावनात्मक र आत्मीय रुपमा एकीकृत भइनसकेको लगायतका प्राविधिक समस्या सुल्झाउन सांगठनिक पुनर्संरचना र संगठन सुदृढीकरणको नीति तयार गर्नुपर्ने धारणा पनि आएका छन्।"

करीब ६ वर्ष अघि टुक्रिएको कांग्रेस संविधानसभाको चुनावअघि दुबै दलको संरचनालाई मिलाएर एक भएको थियो।

महत्व

यसअघि २००७ साल र २०४६ सालको राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेर नेपाली कांग्रेसले आफूलाई सबैभन्दा प्रभावशाली शक्तिको रुपमा स्थापित गरेको थियो।

तर कांग्रेसले आधा शताव्दीभन्दा लामो आफ्नो पार्टी-जीवनकै एउटा ठूलो क्षति हालै सम्पन्न संविधानसभाको चुनावमा ब्यहोरेकाले पनि भावी महासमिति बैठक र महाधिवेशनलाई महत्वका साथ हेरिएको हो।

ती बैठकहरुमा नेतृत्वले पछिल्लो जनआन्दोलन पछिको शान्ति प्रकृया एवं माओवादीसंग सहकार्य गर्दै संविधानसभा चुनावसम्म पुग्दा लिएको नीतिका बारेमा पनि गम्भीर छलफल गरिने बताइएको छ।

आफुले माओवादीलाई शान्ति प्रकृयामा ल्याएको भन्दै गर्व गरिरहेको कांग्रेसले माओवादीको नेतृत्वमा सरकार बनेपछि प्रतिपक्षी दलको भूमिका निर्वाह गर्ने दायित्व रोजेको छ।

प्रवक्त केसीले भने, "त्यो भूमिकाका साथै संविधान लेख्ने र शान्ति प्रकृयालाई सुनिश्चित गर्न क्रियाशील सहकार्यको परिस्थिति सृजना गर्ने बारेमा पनि छलफल हुनेछ।"

बैठक केही दिन चल्ने पार्टीले जनाएको छ।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>