|
के माओवादीभित्र आन्तरिक शक्ति संघर्ष बढेको हो ?
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
साढे दुई वर्षअघि शान्तिप्रकृयामा प्रवेश गरेपछि अन्य दलसंग सत्ता सहकार्य र संघर्ष गरेको नेकपा माओवादीभित्र सत्ता प्राप्तिसंगै
आन्तरिक शक्ति संघर्ष बढेर गएको देखिएको छ।
प्रधानमन्त्रीको रुपमा सरकारको नेतृत्व सम्हालेपछि पुष्पकमल दाहाल 'प्रचण्ड' माथि पार्टी अध्यक्षको कार्यवाहक जिम्मेवारी अन्य नेतालाई सुम्पिनु पर्ने दवाव बढ्न थालेको छ। तर त्यस विषयमा एक अर्काका विरोधी ठानिने किरण-बादल (मोहन वैद्य र रामबहादुर थापा) र डा. बाबुराम भट्टराईको समूहबीच मतभेद देखिन्छ। भट्टराई पक्षीय मानिने केन्द्रिय सचिवालय सदस्य टोपबहादुर रायमाझी भन्छन्, "विचारको नेतृत्व गर्ने नै कम्युनिष्ट पार्टीको अध्यक्ष हुन्छ। त्यसैले कार्यवाहक अध्यक्षको औचित्य मैले देखेको छैन।"
प्रधानमन्त्रीलाई फूर्सद कम हुने भएकाले कार्यवाहक जिम्मेवारी अरुलाई दिनु पर्ने किरण-बादल समूहको तर्क छ। सरकार बाहिर बस्ने बरिष्ठतम नेता किरण भएकाले उनी नै कार्यवाहक अध्यक्षको बलियो दाबेदार मानिएका छन्। खुलेरै नभने पनि केन्द्रिय सदस्य तथा पूर्व मन्त्री खडगबहादुर विश्वकर्माले त्यस तर्फ संकेत गर्दै भने, "पार्टी संगठन महत्वपूर्ण भएकाले सरकारमा नजाने वरिष्ठ नेताले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नु पर्छ।" शक्ति होडको रहस्य २०६१ सालमा सार्वजनिक भएको प्रचण्ड र भट्टराईबीचको विवादले माओवादी फूटको संघारमा पुगेको थियो। अहिले भने दुवै समूहका साझा नेता बनेका छन्, अध्यक्ष प्रचण्ड। चुनावी प्रकृयामा प्रवेशपछि पार्टी संगठनमा नेता भट्टराईको प्रभाव प्रचण्डकै सदासयताका कारण ह्वात्तै बढेको पाइन्छ। जबकी सशस्त्र विद्रोहकालसम्म पार्टीभित्र उनको न्युन प्रभाव थियो। सांगठनिक जिम्मेवारी हेरफेर गर्ने र कार्यवाहक अध्यक्ष तोक्नु पर्ने किरण-बादल समूहको मागभित्र प्रचण्ड पछिको नेतृत्व आफ्नो पकडमा ल्याउने होड र पार्टीभित्र भट्टराईको त्यो बढदो प्रभाव रोक्ने उद्धेश्य लुकेको ठानिएको छ। किन कि अध्यक्ष प्रचण्डले त्यागेको पार्टी भित्रको निकै महत्वपूर्ण र शक्तिशाली अंग मानिने माओवादी सेनाको सर्वोच्च कमाण्डर पनि कार्यवाहक अध्यक्षले स्वत: पाउनेछन्। माओवादी सेनाको खटनपटन गर्ने सर्वोच्च निकाय सैन्य आयोगको प्रमुख पनि अध्यक्ष हुने व्यवस्था छ। त्यसैले हुन सक्छ नेता रायमाझी रिक्त सैन्य नेतृत्व अर्को खोज्नु पर्ने खाँचो देख्दैनन्। उनी भन्छन्, "जतिसक्दो छिटो सेना समायोज गर्नु पर्ने बेला सर्वोच्च कमाण्डर नियुक्त गर्न जरुरी छैन।"
केही नेता भने सर्वोच्च कमाण्डर नराखी डेपुटी कमाण्डर नन्दकिशोर पुन 'पासाङ' लाई नै सैन्य प्रमुखको जिम्मेवारी दिने प्रयासमा देखिन्छन्। अध्यक्ष अर्को नहुने स्थितिमा बाहिरबाट सर्वोच्च कमाण्डर बनाउन नमिल्ने पासाङको भनाईले पनि त्यस तर्फ संकेत गर्छ। उनको भनाई छ, "सेना भएको पार्टीको प्रमुख नै सर्वोच्च कमाण्डर हुने भएकाले बाहिरको व्यक्तिले त्यो पद धारण गर्न पाउँदैन।" सात डिभिजन माओवादी सेनाको सहायक नेतृत्व गरिरहेका चारजना डेपुटी कमाण्डर मध्ये जनार्दश शर्मा 'प्रभाकर' र वर्षमान पुन 'अनन्त' सभासद भएकाले सैन्य पदबाट मुक्त भएका छन्। बाँकी छन् नन्दकिशोर पुन 'पासाङ ' र चक्रपाणि खनाल 'बलदेव'। चुनौती दोहोरो जिम्मेवारी अन्त्य गर्ने निर्णय केन्द्रिय कमिटीले गरेमा १३ वटा राज्य समितिलाई संयोजन गर्न गठित तीन कमाण्डहरु मध्ये रामबहादुर थापा बादलले पुर्वी र डा. भट्टराईले मध्य कमाण्डको इन्चार्ज परित्याग गर्नु पर्नेछ। पश्चिम कमाण्डको नेतृत्व पोष्ट बहादुर बोगटी 'दिवाकर' ले गरेका छन्। भट्टराईले त संयुक्त क्रान्तिकारी जनपरिषद्को संयोजक पनि छाड्नु पर्ने छ। डेपुटी कमाण्डर 'पासाङ' भन्छन्, "सबै संगठनात्मक पुनर्संरचनाबारेको निर्णय केन्द्रिय कमिटीको बैठकले गर्नेछ।" त्यसरी व्यापक फेरबदल भएमा सरकारमा कम संलग्न हुने किरण-बादल समूह र भट्टराई इतर (किरण-बादल समूहमा नभए पनि प्रचण्ड पक्षीय) धेरै नेताहरुको काँधमा त्यस्ता जिम्मेवारी आउने छन्। अध्यक्षको जिम्मेवारी छाड्ने बित्तिकै प्रचण्ड पनि निकै कमजोर भई किरण-बादल समूहप्रति पूर्ण निर्भर 'लाचार' नेता बन्नु पर्ने शंकाले महत्वाकांक्षी नेताको रुपमा चिनिने प्रचण्ड हम्मेसी पद हस्तान्तरण तयार होलान भन्नेमा अविश्वास गर्नेहरु पनि छन्। उनीहरुको विचारमा प्रचण्डले छाडे भने पनि शक्ति सन्तुलन मिलाएर पद बाँडफाँड गर्ने गरी नै त्यसो गर्न तयार हुनेछन्। |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||