23 जुलाई, 2008 16:09 GMT सम्मका समाचारहरु
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले एक भव्य समारोहका बीच राष्ट्रपति भवन शीतल निवासमा प्रधान न्यायाधीशबाट शपथ लिएका छन्।
त्यसलगत्तै उनले नवनियुक्त उपराष्ट्रपति परमानन्द झालाई शपथ गराएका थिए।
रंगीविरंगी ध्वजा पताकाले सजाइएको महाराजगञ्जस्थित शीतल निवासले आफ्नो फेरिएको रुपसंगै फेरिएको भूमिका पाएको छ।
परराष्ट्र मन्त्रालयको रुपमा रहेको राणाकालीन दरबार अहिले राष्ट्रपति भवन बनेको छ।
शपथ ग्रहण समारोहमा दौरा सुरुवाल लगाएर हँसिलो मुद्रामा प्रस्तुत राष्ट्रपतिलाई अन्तरिम संविधान बमोजिम प्रधान न्यायाधीश केदारप्रसाद गिरिले शपथ दिलाएका थिए।
राष्ट्राध्यक्षको रुपमा नेपाली सेनाको सर्वोच्च कमाण्डर समेत रहेका डा यादवलाई सेनाको विशेष सलामीका साथ सम्मान गरिएको थियो।
यसअघि राष्ट्रपति र उपराष्ट्रपतिलाई विशेष सम्मान र कडा सुरक्षा व्यवस्थाका बीच उहाँहरुको निवासबाट शपथ ग्रहणस्थलसम्म ल्याइएको थियो।
शपथ ग्रहण पछि आयोजित कार्यक्रममा राष्ट्रपति डा यादवसंग प्रधानमन्त्री कोइरालाले केही क्षण भलाकुसारी गरेका थिए भने उनीसंग हात मिलाउन नेताहरु र विदेशी पाहुनाहरु लाइन लागेका थिए।
शपथ ग्रहण समारोहमा मन्त्रीहरु, विदेशी कूटनीतिज्ञ लगायत राजनीतिक दलका शीर्ष नेताहरु उपस्थित थिए।
तर नेपालका प्रथम राष्ट्रपतिले शपथ लिइरहँदा भावी प्रथम राष्ट्रपति भनि आफ्नै पार्टिद्वारा प्रचारित नेकपा माओवादीका अध्यक्ष प्रचण्ड भने थिएनन्।
राजीनामा
यसैबीच प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नवनिर्वाचित राष्ट्रपति डा रामवरण यादवसमक्ष बुधबार आफ्नो पदबाट राजीनामा दिएका छन्।
राष्ट्रपतिको शपथ ग्रहण कार्यक्रममा सरिक हुन पुगेका प्रधानमन्त्रीले डा. यादवले शपथ खाए पछि उनको कार्यकक्षमा गएर राजीनामापत्र बुझाएका थिए।
राष्ट्रपतिको चुनाव नभइसकेको अवस्थामा प्रधानमन्त्री कोइरालाले असार १२ गते माओवादीको चर्को दवावमा परी संविधानसभाको बैठकमा पदत्यागको घोषणा गरेका थिए।
अब उनको विधिवत राजिनामा पछि नयाँ सरकार गठनको बाटो खुले पनि राष्ट्रपतिले नयाँ सरकार गठनको निम्ति कसैलाई आग्रह भने गरिसकेका छैनन्।
राजनीतिक सहमति वा त्यसो हुन नसके संविधानसभाको बहुमतको आधारमा सरकार गठन गर्न सकिने व्यवस्था अन्तरिम संविधानमा छ।
चासो
तर सबै ठूला दलसहितको राजनीतिक सहमतिको सम्भावना नदेखिएको र कसैको पनि बहुमत नभएकाले भावी सरकार गठनको निम्ति राष्ट्रपतिबाट गरिने आग्रहलाई चासो पूर्वक हेरिएको हो।
राष्ट्रपतिले अर्को सरकार गठन नहुन्जेल कोइरालाको नेतृत्वकै संयुक्त सरकारले काम गर्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयबाट बुधबार साँझ जारी विज्ञप्तिमा जनाइएको छ।
पटक-पटक प्रधानमन्त्री बनेका कोइरालाको पछिल्लो कार्यकाल नेपालकै इतिहासको महत्वपूर्ण कालखण्डको रुपमा अंकित हुन पुगेको छ।
उनकै कार्यकालमा संविधानसभाको चुनाव भई साढे दुई सय वर्ष पुरानो शाहवंशीय राजतन्त्रको अन्त्य भएको थियो।
प्रधानमन्त्रीको कुर्सीबाट कोइरालाको बहिर्गमन पछि बन्ने नयाँ सरकार गठनको ढाँचा र नेतृत्वबारे भने अझै अन्यौल छ।
संविधानसभाको सबैभन्दा ठूलो दल नेकपा माओवादीले राष्ट्रपति र उपराष्ट्रपतिमा चुनाव हारे पछि भावी सरकार गठनको दावी त्यागी सकेको छ।
तर केही विश्लेषकहरुले अझै माओवादीको नेतृत्वमा सरकार बन्नसक्ने संभावना रहेको बताएका छन्।
अध्यक्षमा नेम्वाङ
राष्ट्रपतिको चुनाव आफ्नो पक्षमा पार्न सफल नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम सहितको गैरमाओवादी गठबन्धनले फेरि अर्को सफलता हात पारेको छ।
संविधानसभाको अध्यक्षमा उनीहरुको तर्फबाट उम्मेदवार बनाइएका नेकपा एमालेका नेता तथा पूर्व सभामुख सुवास नेम्वाङको मात्र उम्मेदवारी परेको छ।
संविधानसभा सचिवालयका कार्यवाहक महासचिव मनोहरप्रसाद भट्टराईले भने, "बिहीबार उहाँ सर्वसम्मत भएको औपचारिक घोषणा हुने छ, र उहाँले शपथ गर्नु हुनेछ।"
त्यसपछि इलामबाट संविधासभामा निर्वाचित नेम्बाङले जेष्ठ सदस्यको रुपमा इलामकै सभासद नेपाली कांग्रेसका कूलबहादुर गुरुङले निर्वाह गर्दै आएको संविधानसभाको अध्यक्षको कार्यभार ग्रहण गर्नेछन्।