http://www.nepali.com

04 जुलाई, 2008 13:23 GMT सम्मका समाचारहरु

मधेशी दलहरुको मागको विरोधमा तराई बन्द

तराईका तीन ठूला दलहरुले एक मधेश एक प्रदेशको माग गर्दै संविधानसभाको बैठक अवरुद्ध गरिरहेका छन्।

तर तराईकै चारवटा साना दलहरुले चाहीं उक्त मागको विरोधमा एकदिने तराई बन्द गरेका छन्।

बन्दको मिश्रित प्रभाव परेको छ।

बन्दको सबभन्दा बढी प्रभाव पूर्व पश्चिम राजमार्गमा परेको छ।

यातायात पूर्ण रुपमा ठप्प छ।

बजार र शिक्षण संस्थाहरु पनि बन्द छन्।

तर जिल्ला सदरमुकामहरुमा बन्दको कुनै असर परेको छैन ।

एक स्वायत्त मधेश प्रदेश र सेनामा समूहगत प्रवेशबारे ठूला मधेशी दलहरुको मागको विरोधमा बन्द गरिएको थियो।

माग अस्वीकार

बन्द आव्हान गर्ने दलहरु मध्येको एक चुरेभावर राष्ट्रिय एकता समाज नेपालका सचिव बद्री न्यौपानेले भने, “हामी कुनै हालतमा पनि समग्र मधेश एक प्रदेशको मागलाई स्वीकार गर्न सक्दैनौ।"

नेपालको कुनै कानून र दस्तावेजमा मधेश शब्द उल्लेख नभएको उनको भनाई छ।

तर त्यो कुरा संविधानमा राख्न केही दलहरुले राज्यमाथि दवाव दिएको उनले आरोप लगाए।

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भन्छन, “मधेश आन्दोलन र मधेशी जनताको भावना अनुरुप सरकारसंग यसअघि भएको सम्झौतालाइ संविधानमा समावेश नगरिए सदनमात्र होइन, सडकमा पनि संघर्ष चर्काइनेछ।“

सदभावना पार्टी र अरु दुई ठूला मधेशी दलहरुले आफ्नो माग पुरा गराउन गएको एक सातादेखि संविधानसभा बैठक चल्न दिएका छैनन्।