BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
24 जुलाई, 2008 16:55 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
संविधानको रक्षा पहिलो जिम्मेवारी: राष्ट्रपति
 
राष्ट्रपति यादवका साथमा बीबीसी संवाददाता शर्मा
नवनिर्वाचित राष्ट्रपति यादवले जातीय सद्भाव र राष्टि्य एकतामा जोड दिएका छन्
नवनिर्वाचित राष्ट्रपति रामवरण यादवसंग बीबीसी नेपाली सेवाका काठमाण्डूस्थित प्रमुख संवाददाता सुशील शर्माले गत बुधबार विशेष कुराकानी गरेका थिए। प्रस्तुत छ, उक्त अन्तर्वार्ताको बिवरण:

राष्ट्रपतिज्यू, यहाँले सोच्दै नसोचेको राष्ट्रपति पदमा पुग्दा यहाँलाई कस्तो लागिरहेकोछ ?

निश्चयनै सुखद स्थिति अनुभव भैरहेको छ। तर म धेरै रोमान्चित भएको छैन ।

राष्ट्रपतिको रुपमा तपाईंको सबैभन्दा पहिलो काम के हुन्छ?

संविधानको रक्षा कसरी गर्ने, त्यसको पालना कसरी गर्ने र गराउने भन्नेनै मेरो पहिलो काम हुनेछ। आफ्नो अधिकार भित्र रहेर मैले खेलको नियम अनुसार खेल खेलाउनु पर्छ।

तर सरकार बनाउने र गिराउने खेल त ब्यापक हुने सम्भावना अहिलेदेखि देखिइसक्यो?

जनादेश त सबै मिलेर जाऊ भन्ने छ।

 हामी नेपाली हौं। मधेशको नेपाली, हिमालको नेपाली, पहाडको नेपाली, सबै क्षेत्र वर्गका पिछडिएका नेपाली, हामी सबै नेपाली हौं
 
नवनिर्वाचित राष्ट्रपति यादव

यहाँको संपूर्ण जीवननै नेपाली कांग्रेसमा बितेको छ। नेपाली कांग्रेसकै तर्फबाट राष्ट्रपति पनि बन्नु भा छ भने सबै दलहरुलाई तपाईले मिलाएर लानुहुन्छ भनेर कसरी विश्वास गर्ने? तपाईंको त रगत रगतमा नेपाली कांग्रेस छ।

मलाई थाहा छ कि मेरो काँधमा इतिहासले जिम्मा दिएको छ। म सम्पूर्ण नेपालीका प्रतिनिधिहरुको सहमति जुटाउँदै अगाडि बढ्छु। यहीनै राष्ट्रको सफलता हुन्छ। राष्ट्र सफल भयो भने त म सफल भईहाल्छु नि।

अब दलगत राजनीति झन् तीव्र हुने संकेत देखिएको छ। तपाईले जे कुरा गरे पनि तपाई त दलगत राजनीतिमा वर्षौ विताएको मान्छे। महत्त्वपूर्ण निर्णय लिंदा तपाईको मनको कतै भित्री कुनामा नेपाली कांग्रेसप्रति माया भइहाल्ला नि। आखिर यो मानवीय स्वाभाव पनि हो नि, होईन र ?

हो, म मा तपाइले भनेजस्तो मानवीय कमजोरी हुन सक्छ। तर मेरो जिम्मेवारी राष्ट्र र प्रजातन्त्र प्रति छ। देशको जिम्मेवारी लिएपछि मैले दलबाट माथि उठेर सबैलाई समन्वय गरेर सहकार्य, सहमति र राष्ट्रिय एकताको भावना लिएर अगाडि बढ्नु मेरो पहिलो कर्तब्य हुन्छ। देशको जिम्मेवारी लिएर दलको कोही मन्त्री हुन्छ भने उ राष्ट्रको मन्त्री हुन्छ। कोही राष्ट्रको सर्बोच्च पदमा पुग्छ भने उमाथि राष्ट्रको अभिभारा र जिम्मेवारी हुन्छ।

नेपाल अहिले गंभीर संकटमा छ। खास गरी तराईमा पनि बिभिन्न मुद्दाहरु लिएर कुराहरु उठिरहेकोछ जसले गर्दा मुलुककै विखण्डनको खतरा छ भनिन्छ। यहि बेला तराईको एउटा प्रमुख नेता तपाई राष्ट्रपति बन्नु भएको छ। त्यो विखण्डनको चुनौती र राष्ट्रियतामा आएको संकटलाई सामना गर्ने तपाईसँग के फर्मुला छ?

मैले नयाँ फर्मुला दिने होईन। देशलेनै फर्मुलाहरु दिइरहेकोछ । जस्तो कि हामीले दुईटा चुनाव पध्दति बनायौ समानुपातिक र प्रत्यक्ष। त्यसले गर्दा समावेशीकरण हुँदै गएकोछ। त्यो त ६०१ सदस्यीय संविधानसभाले नै देखाउँछ। त्यही हो नेपाल। हामीले प्रजातान्त्रिक पध्दति बनाउन सक्यौ भने सबैको चित्त बुझ्दै जान्छ नि। अहिले मधेशको आन्दोलनको तपाईले जुन कुरा उठाउनु भयो त्यसमा म के भन्छु भने हतियारको राजनीति गलत हो। हामी जातीय र क्षेत्रीयताको कुराबाट माथि उठ्नु पर्छ। हामीले देश बनाउनु छ। हामी नेपाली हौं। मधेशको नेपाली, हिमालको नेपाली, पहाडको नेपाली, सबै क्षेत्र वर्गका पिछडिएका नेपाली, हामी सबै नेपाली हौं।

अहिले नेपालको राष्ट्रियता इतिहासमै सबभन्दा खतरामा पर्‍या त हो नि, कि होईन?

निश्चयनै त्यही तरल स्थिति छ। तर हामी नेपाली मिलेर बस्न सक्छौं। हामी हिन्दु आर्य सभ्यता र मंगोल सभ्यताका हौं। हामी सबै दाजुभाइ हौं । यहाँ एउटा देश छ जसको एउटा सीमाना १८१६ मा बन्यो। हरेक चेतनशील नेपाली, यो नेपाल रहीरहोस, दुई महान देशको बीचमा रहेको यो देशको अस्तित्त्व जोगाएर जाऔ भन्ने सोचाइ राख्छन्। राष्ट्रियतालाई जोगाऔ र क्षेत्रीयता र जातीयताबाट पनि उठौं भन्ने बोध नेतृत्वमा छ।

राष्ट्रिय एकताको विषयमा नेतृत्वलाई बोध छ भनेर त भन्नु भयो। तर यो राष्ट्रियता संकटमा परेको सन्दर्भमा तपाई आफ्नो दलका नेता स्व वीपी कोइरालाको पक्का चेला भएपनि राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई नेपाली कांग्रेसले पोलेर खाई सक्यो!

वीपीले राष्ट्रियता बारे हामी सबै नेपाली मिलेर जाऔ, त्यसमा राजा देखि राजसंस्था हामी सबै नेपाली मिलेर जाऔ भन्नु भएको थियो । राजा प्रजातान्त्रिक सिध्दान्त भन्दा बाहिर गएर खेल खेले। त्यसले गर्दा जनताको मनबाट राजा बाहिर भए। अब हामी नेपाली सबै मिलेर यो राष्ट्रलाई जोगाउँछौ भने राजाले पनि यहाँ नागरिक भएर बस्ने त ठाँउ छ नि। त्यसैले जसरी म एउटा नागरिक छु, एउटा साधारण जनता छु त्यसरी नै राजाले नागरिक भएर बसे त भइहाल्यो नि। उहाँले त्यो बोध गर्नु भयो भने त उहाँको पनि त्यो ठाउँ भैहाल्छ नि। हामीले एकताको सिध्दान्त त छोड्या छैनौ नि ?

राष्ट्रपति नेपाली सेनाको सर्वोच्च कमान्डर पनि हुने ब्यवस्था छ। आगामी दिनमा नेपाली सेनाको भूमिका कस्तो देख्नु हुन्छ ?

सेना एउटा प्रजातान्त्रिक संस्थाको रुपमा परिणत हुँदै आएको छ। अहिले उसले प्रजातन्त्रलाई पूर्ण समर्थन गरेको छ। सेनामा हाम्रै दाजुभाइहरु छन्, हाम्रै भाइ बहिनीहरु छन्। तिनीहरु पनि नेपालको भलो होस् भनेर चाहन्छन्। अब म त्यो सेनाको कमान्डर भनेर मैले उफ्रिने पनि कुरा होईन। तर संविधान अनुसार उसको सर्वोच्च कमाण्डरका रुपमा मैले उसको हित सोच्नु पर्छ। त्यो संस्थाको एकता र त्यो संस्थाको राष्ट्रिय र अन्तरार्ष्ट्रिय छवि बचाउँदै अहिलेको जुन परिवेश छ त्यो परिवेशलाई समेट्दै म अगाडि बढ्ने कोशिस गर्छु।

नेपाली सेनामा तराईबाट समूहगत प्रवेशको माग पनि उठीरहेको बेलामा तराईकै एक जना नेता तपाई त्यही नेपाली सेनाको सर्वोच्च कमाण्डर हुनु भएकोछ। कस्तो अनुभव भएको छ?

यी जम्मै कुराहरु हामीले संविधानसभामा लगेका छौ। अहिले यो संविधानसभाको विषय हो त्यसको सम्पत्ती हो। त्यसलाई कसरी बढी भन्दा बढी समावेशी गर्दै अगाडि बढ्ने भन्ने हाम्रो प्रतिबध्दता छ। यो समयको माग हो। सबै जाति वर्गलाई समावेशी गराउदै अगाडि बढ्ने कुरामा म प्रतिबद्ध छु।

तपाईं राजनीतिमा यत्रो वर्ष सक्रिय भएको मान्छे मेचीदेखि महाकाली सम्म डुल्या डुल्यै सक्रिय भएर एकदमै लागिरहने मान्छे। यो राष्ट्रपति त आलंकारिक पद हो त्यहाँ पुगेपछि चुपो लागेर बस्नु पर्छ भन्छन् नि।

म ऐले ६५ वर्ष पुगें। म अर्को दश वर्ष सक्रिय रहन्छु होला। प्रजातन्त्रलाई स्थिर गराउन संविधान भित्र रहेर सबैलाई मिलाएर लग्नुनै मेरो काम र क्रियाकलाप एवं धर्म र कर्तब्य हुनेछ। राष्ट्रका लागि त्यो कर्तव्य निर्वाह गरें भने मैले अवकाश प्राप्त गरेपछि पनि मलाई काम हुन्छ नि। म त डाक्टर पनि हुँ। म समाज सेवा गर्छु।

मैले के भन्न खोजेको भने राजनीतिक रुपमा त्यत्रो वर्ष सक्रिय भएको मान्छे राष्ट्रपतिको रुपमा पनि सक्रिय हुन तलतल लाग्ला नि ?

त्यो सक्रियता म मा आउँदैन। संविधानले जे निर्देशित गर्छ म त्यसलाई शिरोधार्य गर्छु। म त्यसलाई सलाम गर्दै अगाडि बढ्छु।

तपाई डाक्टर हुनुहुन्छ अहिलेको नेपालको रोगको डायाग्नोसिस् कसरी गर्नु हुन्छ?

अब ठ्याक्कै डायाग्नोसिस् त कसरी गरिहाल्नु खै। डाक्टरीमा पनि एकचोटी जनरल एक्जामिनेसन हुन्छ, ब्लड चेक हुन्छ, एक्स्रे हुन्छ, भिडियो एक्स्रे हुन्छ, सिटी स्क्यान हुन्छ, एमआरआई हुन्छ। सारा कुराहरु गर्दै गए पछि बल्ल फाईनल डायाग्नोसिस् हुन्छ। राष्ट्र अहिले यो प्रक्रियामा छ। डाक्टरहरुमा पनि एउटा प्याथोलोजिष्ट हुन्छ, एउटा रेडियोलोजिष्ट हुन्छ, एउटा मेडिसिनको हुन्छ, एउटा सर्जन हुन्छ। हो त्यस्तो टीम त्यहाँ पुगेको छ अहिले । त्यो टिमलाई समन्वय गरेर मैले प्रिन्सिपल प्रोफेसरको काम गर्नुपर्छ। र समन्वय गरेर मैले राष्ट्रको निकास निकाल्ने काम गर्नुपर्छ। निश्चय नै हाम्रो राष्ट्र तरल अवस्थामा छ।

देशको रोग निको पार्ने औषधि के होला?

जुन बाटोमा हामी मिलेर आएका छौ नि बाह्र बुँदे देखि अहिले सम्म। त्यो बाटो छोड्नु हुँदैन।

तर सरकार बनाउने कुरामा अहिल्यै झगडा शुरु भै सक्यो?

मेरो समन्वयकारी भूमिका हुन्छ। संविधानले दिएको समय भित्र समन्वय गर्ने मेरो कर्तब्य हुन्छ, मेरो धर्म हुन्छ। त्यो जिम्मेवारी राष्ट्रले मलाई सुम्पेको छ। त्यसलाई म निर्वाह गर्छु ।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>