BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
22 जुलाई, 2008 16:59 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
नेम्बाङलाई सर्वसम्मत अध्यक्ष चुन्न तीन दलको पहल
 
फोरमका नेता बिजयकुमार गच्छदार
गच्छदारले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति भएको दावी गरेका छन्
माओवादी विरुद्ध नयाँ गठबन्धन बनाएर आफ्नो उम्मेदवारलाई राष्ट्रपति निर्वाचित गराउन सफल तीन दलले नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङलाई संविधानसभाको अध्यक्ष पदका लागि साझा उम्मेदवारको रुपमा चयन गरेका छन्।

उनीहरुले पूर्व सभामुख नेम्बाङलाई सर्वसम्मत बनाउन पहल गर्नेपनि जनाएका छन्।

नेकपा एमालेका महासचिव झलनाथ खनालका अनुसार नेपाली कांग्रेस र मधेशी जनअधिकार फोरम मिलेर बनेको त्रिदलीय गठबन्धन उपाध्यक्षको पदमा महिलालाई उम्मेदवार बनाउन सहमत भएका छन्।

उपाध्यक्षको उम्मेदवार को हुने भन्ने उनीहरुले अझै तय गरिसकेका छैनन्।

तर एकाएक समीकरण बदलिएपछि चिढिएको नेकपा माओवादी त्यसका लागि तयार भए, नभएको प्रष्ट भइसकेको छैन।

नाटकीय ढंगबाट गणतन्त्र नेपालको प्रथम राष्ट्रपति आफ्नो पक्षबाट निर्वाचित गर्न सफल नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम अब संविधानसभाको अध्यक्ष र उपाध्यक्ष निर्वाचित गराउने विषयमा तल्लिन भएका छन्।

महासचिव खनालका अनुसार मंगलबार बसेको बैठकले नेम्बाङलाई सर्वसम्मतिका आधारमा अध्यक्ष चुन्ने प्रस्ताव गर्ने निर्णय गरेको छ।

संविधानसभाको बिहीवार बस्ने बैठकले संविधानसभाको अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्ने कार्यक्रम रहेको छ।

सरकार गठन

त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ।

नयाँ गठबन्धनमा माओवादीलाई सामेल गराउन तयार रहेको बताउँदै खनालले भने, “राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रिया शुरु गरेपछि सबै दल तयार हुनुपर्छ।

“माओवादी पनि तयार हुनु पर्छ भन्ने मलाई लाग्छ।”

यसैबीच मधेशी जनअधिकार फोरमका एक नेता बिजयकुमार गच्छदारले नयाँ सरकारको प्रधानमन्त्री आफ्नो पार्टीबाट बनाउन दुईदलसँग पहिले नै सहमति बनिसकेको दावी गरे।

“पहिला नै त्यस्तो मौखिक सहमति बनिसकेको छ। सरकार बनाउने बेलामा हामी फेरि त्यो माग पुरा गराउने कोशिस गर्छौं।”

अन्य साना दलसँग मिल्दै ती दुईदलले फोरमका तर्फबाट उपराष्ट्रपति परमानन्द झालाई सघाएका थिए।

तर नयाँ प्रधानमन्त्री चयनको विषयमा फोरमसँग कुनै सम्झौता नभएको कांग्रेसका एक जना नेता प्रकाशशरण महतले बीबीसीलाई बताए।

उनले माओवादीलाई प्रधानमन्त्री दिनेसम्मको विकल्प खुल्ला रहेको बताए।

हाम्रा काठमाण्डूस्थित संवाददाता भन्छन्, त्यस्तो प्रस्तावले धेरैलाई आश्चार्यचकित बनाएको हुन सक्छ।

उनी भन्छन्, तर जस्तो सरकार बनाइने भएपनि नयाँ गठबन्धनले थुप्रै साना दलहरुलाई पनि विश्वासमा लिनुपर्नेछ।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>