BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
22 जुलाई, 2008 16:16 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
माओवादीद्वारा सरकार गठनको दावी नगर्ने घोषणा
 
माओवादी अध्यक्ष प्रचण्ड
प्रचण्डले भविष्यमा आफ्नो दलले सरकार बनाउने ढोका बन्द नभएको बताएका छन्
संविधानसभाको सबैभन्दा ठूलो दल नेकपा (माओवादी) ले नयाँ सरकार गठन गर्न दावी नगर्ने विधिवत् निर्णय गरेको छ।

सोमबार भएको राष्ट्रपतिको चुनावमा आफ्नो उम्मेदवार हारेपछि वरिष्ठ माओवादी नेताहरूले अनौपचारिक रूपमा यसअघि नै बताएको कुरालाई केन्द्रीय सचिवालयको मंगलबार बसेको बैठकले पुष्टि गरेको थियो।

बैठकका निर्णयहरू सुनाउँदै पार्टी अध्यक्ष प्रचण्डले भने, "राष्ट्रपति चुनावमा देखापरेको स्थितिले हामीलाई नैतिक दृष्टिले सरकारको नेतृत्वको दावी गर्ने स्थितिको अन्त्य भएको छ।"

राष्ट्रपतिको चुनावमा माओवादीका उम्मेदवार रामराजाप्रसाद सिंह नेपाली काँग्रेस, एमाले र मधेशी जनअधिकार फोरमका साझा उमेदवार रामवरण यादवबाट पराजित भएका थिए।

सरकारमा नजाने माओवादी केन्द्रिय सचिवालयको निर्णयको भावी राजनीतिमा गंभीर असर पर्ने निश्चित भएपनि उक्त निर्णय आश्चर्यजनक थिएन।

राष्ट्रपतिको चुनावमा बहुमत सावित गर्न नसकेको माओवादीलाई सरकार बनाउन तत्कालै बहुमत जुटाउन सजिलो हुने थिएन।

 राष्ट्रपति चुनावमा देखापरेको स्थितिले हामीलाई नैतिक दृष्टिले सरकारको नेतृत्वको दावी गर्ने स्थितिको अन्त्य भएको छ
 
अध्यक्ष प्रचण्ड, नेकपा माओवादी

उसलाई अरू दलहरूको समर्थन मुख्य र प्रभावशाली मन्त्रालयहरूको मूल्यमा मात्र प्राप्त हुन सक्थ्यो।

यो राष्ट्रपतीय चुनावमा उसलाई लागेको घाउमा नून छर्किनु सरह हुन्थ्यो।

विपक्षमा बस्ने निर्णयले चाहिं मल्हम पट्टीको काम गर्ने माओवादीले ठानेको विश्वास गरिएकोछ।

तर भविष्यमा सरकार बनाउने ढोका बन्द नभएको प्रचण्डको भनाइ थियो।

उनले भने, "सबैभन्दा पहिला त (नेपाली काँग्रेसको नेतृत्वको) यो अप्राकृतिक र अराजनीतिक गठबन्धन टुटेर नयाँ समीकरण बन्यो र हामीले सरकारको नेतृत्व गर्ने स्थिति बन्यो भने हामी सरकार बनाउने कुरामा निरपेक्ष छैनौं।"

तर संविधानसभामा सबैभन्दा ठूलो दलको अहिलेको यो निर्णयले छिट्टै एउटा स्थिर सरकारको गठनको कुरा अन्यौलमा परेको छ।

यसबाट राजनीतिक संकट गहिरिने संभावना बढेको छ।

विदेशी षडयन्त्र

अप्रत्याशित रुपले विकास भएका राजनीतिक घटनाक्रमहरुले ल्याएको यो नाटकीय मोडका निम्ति माओवादीले "देशी विदेशी षडयन्त्र" लाई दोष दिएको छ।

उसले सरकारमा नगएपनि जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने सार्वजनिक घोषणा गरेको छ।

तर विश्लेषकहरुका अनुसार दीगो नयाँ सरकारको गठन त अन्यौलमा परेको छ भने अब बन्ने सरकारको भविष्य पनि दिनहुँ तरवारको धारमा हुनेछ।

उनीहरू भन्छन्, संविधानसभामा सबैभन्दा ठूलो भूतपूर्व सशस्त्र विद्रोहीहरुको दल सरकार बनाउने कामबाट पन्छिंदा गम्भीर भीडन्तको डर बढेको छ।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>