BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
11 जुन, 2008 17:57 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
गोर्खादेखि नारायणहिटीसम्को यात्रा
 

 
 
गोर्खा दरबार
पृथ्वीनारायण शाहले गोर्खा दरबारबाट नेपाल एकीकरण शुरू गरेका थिए
मध्य नेपालको पहाडी भेगमा रहेको गोरखा दरबारबाट पृथ्वीनारायण शाहको पालादेखि शुरु भएको नेपालका शाहवंशीय राजाहरुको शासन यात्रा अन्त्य भएपछि पूर्व राजा ज्ञानेन्द्रको बसाई अब नागार्जुन दरबारमा हुने भएको छ।

शाहवंशीय राजतन्त्रको इतिहासमा राजाहरुले चार विभिन्न दरबारहरुबाट शासन सञ्चालन गरेका थिए।

बुधबार पूर्वराजा ज्ञानेन्द्रले छाडेको नारायणहिटी दरबारमा उनी सहित छजना राजाको बास रहेको थियो।


शासन

विगत २५० वर्षको नेपालको आधुनिक इतिहासमा शाहवंशीय राजाहरुले नारायणहिटी बाहेक अन्य तीनवटा दरबारबाट पनि शासन गरे।

नेपाल राज्यको निर्माताको रुपमा चिनिने पृथ्वीनारायण शाहले उनका पिता नरभूपाल शाहले जस्तै गोरखा र नुवाकोटको दरबारमा बसेर एकिकरणको अभियान सञ्चालन गरेका थिए।

वि. सं. १८२५ मा काठमाण्डौं उपत्यका हात पारेपछि उनले तत्कालीन कान्तिपुरका राजा जयप्रकाश मल्ललाई धपाएर बसन्तपुर हनुमानढोका दरबारबाट शासन शुरु गरे।

पृथ्वीनारायणदेखि पृथ्वीवीरविक्रमको पाला नआउँदासम्म छजना राजाहरुले झण्डै १२० वर्षसम्म त्यहिंबाट राजपाठ चलाए।

वि. सं. १९४३ तिर तत्कालीन शक्तिशाली प्रधानमन्त्री रणोद्दीप सिंहको पालामा बालक राजा पृथ्वी वीरविक्रमलाई नारायणहिटी सारिएको इतिहासकारहरू बताउंछन्।

इतिहासविद पुरुषोत्तम शमशेर जबरा भन्छन्, "काठमाण्डौं जितेपछि हनुमानढोका दरबारबाट शासन शुरु भयो। १९४३ मा पृथ्वी वीरविक्रम शाहलाई नारायणहिटी सारियो र त्यहाँबाटै शासन शुरु भयो।"

आधुनिक

नारायणहिटी दरबारबाट अर्को १२० वर्षसम्म शासन चलाउने क्रममा यसको विस्तार र आधुनिकिकरण पनि गरियो।

२०१७ सालपछि तत्कालीन राजा महेन्द्रले नारायणहिटीलाई आधुनिक महलको रुप दिएका थिए।

राजधानी काठमाण्डौंको मुटुमा रहेको नारायणहिटी दरबार शहरको प्रमुख आकर्षण मध्ये एक हो।

सरकारले त्यसलाई अन्य शाहकालीन पूर्व राजदरबारहरु जस्तै संग्रहालय बनाउने वताएको छ।

नारायणहिटी दरबारको इतिहासको एउटा अध्याय सकिएपछि अब पूर्वराजा ज्ञानेन्द्र काठमाण्डौंको उत्तर-पश्चिमस्थित नागार्जुन डाँडामा रहेको दरबारमा सर्दैछन्।

यसअघि नागार्जुनलाई राजाहरुले ग्रीष्मकालीन आराम गृहको रुपमा प्रयोग गर्ने गर्थे।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>